काठमाडौं। नेकपा बहुमतका महासचिव कञ्चनले काठमाडौँबाट गिरफ्तार परेका आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेका छन् ।
नेपाल बिद्धुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने ओली सरकारको जनविरोधी कदमको बिरोध कार्यक्रम अन्तर्गत मंगलबार सिंहदरबारको गेट अगाडिको प्रदर्शनबाट आफ्नो पार्टीका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै उनले तत्काल रिहा गर्न माग गरे ।
‘सरकारको यसखाले निर्णयका विरुद्ध देशभर व्यापक बिरोध भईरहेको छ । बिरोध कार्यक्रम अन्तर्गत आजै सिंहदरबारको गेट अगाडिको प्रदर्शनबाट हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य कमरेड धुर्व, केन्द्रीय सदस्यहरु : बिरेन्द्र शाह, दर्शन नेपाली, रुपा बढामगर सहित प्रल्हाद गौतम, कमल पनेरु,, हस्त बि.क, सर्जन पाण्डे, लाक्ष्मी शाह, रामहरि पोखेल, दिनेश नेपाली र समिर बि.क. लाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई यथासिघ्र रिहाइ गर्न हामी जोडदार माग गर्दछौं ।’ महासचिव कञ्चनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घिसिङलाई हटाउने ओली सरकारको निर्णयले एकातिर जल माफियाहरुको स्वार्थसिद्ध गरेको र अर्कोतिर सरकारी स्वामित्वमा रहेको विद्युत प्राधिकरणलाई कमजोर बनाएको उनको भनाइ छ ।
पार्टी महासचिव कञ्चनले सरकारको जनबिरोधि क्रियाकलापको पछिल्लो श्रृंखला अन्तर्गत ओली नेतृत्वको सरकारले उर्जा मन्त्री दिपक खड्काको सिफारिसमा घिसिङलाई हटाएको प्रष्ट पारेका छन् ।
वर्तमान दलाल संसदीय व्यवस्था राष्ट्रघात र जनघातको पर्याय बनेको भन्दै उनले जनतामाथिको अन्याय, अत्याचार, शोषण, दमन र उत्पिडनले दिन प्रतिदिन सिमा नाघिरहेको समेत दावी गरेका छन् । साथै आफ्नो पार्टी सरकारको देशघाती र जनबिरोधि क्रियाकलाप बिरुद्ध निरन्तर संघर्षरत रहेको पनि उनले उल्लेख गरेका छन् ।
बहुमतले राष्ट्रिय स्वाधिनताको रक्षार्थ, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका बिरुद्ध यहि चैत्र १० गतेबाट देशव्यापी जनसंघर्ष अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया