काठमाडौँ । सोमबार नेप्से परिसूचक २८ सय विन्दु पुगेर फर्किएको छ। अन्तर दिनको कारोबार अवधिमा २८ सयको विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन। २८ सयको विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ।
सोमबार नेप्से ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा बन्द भएको छ। नेप्से २९ महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार २१ अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार २१ अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा १५ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३२६ वटा धितोपत्रको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच भएको हो।
सोमबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो।
नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९३८ रूपैयाँ ६० पैसा कायम भएको छ। यस्तै, हिमालयन लघुवित्तको मूल्य ७.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १५७ रूपैयाँ ५० पैसा कायम भएको छ।।
सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ८४५ रूपैयाँमा १ अर्ब २६ करोडको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.७४ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९९ रूपैयाँमा ४९ करोड ३८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक ४.६१ प्रतिशतले घटेको छ।
प्रतिक्रिया