चितवन । नेकपा (बहुमत) को प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारदेखि चितवनमा जारी बहुमतको प्रथम विस्तारित बैठक आज सकिएको हो ।
बैठकले पार्टीको महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई चयन गरेको छ । गत साउन १ गते मोहन बैद्य ‘किरण’को नेतृत्वको पार्टीसंग एकता असफल भएको घोषणा गरी साविककै पार्टी पुनर्गठन गरेको बहुमतले पुस ११ गते माओ जयन्तीको अवसरमा पार्टीको ९औं महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको छ ।
बैठकले हाल कायम रहेको ६ सदस्यीय कार्यलय, २६ सदस्यीय सचिवालय र ५५ सदस्यीय केन्द्रीय समिती विघटन गरी ८७ सदस्यीय महाधिवेशन आयोजक समिती निर्माण गरेको छ । बैठकमा किरणसंग एकता असफल हुनुको कारण र आगामी कार्ययोजनाबारे १० पेज लामो राजनीति प्रस्ताव पेश गरिएको थियो ।
उक्त प्रस्तावमाथि छलफल गर्न ९ वटा ग्रुप बिभाजन गरी छलफल गरेर ग्रुप लिडरमार्फत रिपोर्टिङ गरिएको थियो । रिपोर्ट राख्ने अधिकांश बक्ताहरुले बैद्य माओवादीहरुलाई रुपान्तरण गरी क्रान्तिमा डोहोर्याउन नसकेको भन्दै नेताहरुको आलोचना गरेका थिए ।
त्यस्तै दास्तावेजमाथि आफ्ना सुझावहरु पनि पेश गरेका थिए । दस्तावेजमा साविकको बहुमतको तर्फबाट सुदर्शनले धोकेबाजको भुमिका खेलेर क्रान्तिकारी धारलाई बैद्य माओवादीमा बिलय गराउन खेलेको भूमिकाबारे पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया