काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै क्षेत्रमा सबल हुनेवाला रहेको भन्ने स्वर सुनिरहेको बताए । तर, आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँग लामो समयदेखि संगत गरेकाले खेल सबै बुझेको उनले सुनाए ।
‘नेपालमा बहुदलीय व्यवस्था ल्याउँदा र यो व्यवस्था ल्याइसकेपछि म यिनै ठूला पार्टीसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिएँ– यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिनुभयो ?’ केसीले भने ।
तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । ‘सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो ? कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ?’ उनले प्रश्न गरे ।
पछिल्लो पटक कांग्रेससँगको समीकरण बदलिएर एमालेसँग समीकरण बनाउँदा प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनका लागि नगरिएको उनले बताए ।
प्रतिक्रिया