काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमा ठगी गर्ने कोर टिम र ढोकामा बसेर ढाकछोप गर्ने डोर टिम रहेको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले गोर्खा मिडियामा सहकारीको ८० करोड कर्जा लगानीमा रवि लामिछानेको संलग्नता रहेको दाबी गरे ।
उनले भने– ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई सम्मान गर्दै गर्दा फेरि पनि म देश दुनियाँले सुन्नेगरी के आग्रह गर्न चाहन्छु भने, रास्वपाभित्र एउटा कोर टिम रहेछ, यो समग्र गतिविधिमा सामेल छ, त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोपको काम गर्छ । अनि पोर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दाबाद भनेर लेखिरहन्छ । यो कुरा आजको मितिमा मैले भन्नैपर्छ । प्रश्न ८० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको हो ।’
उनले ७० करोड रुपैयाँ फोनमा कुरा गर्दै सुनिएको तर डकुमेन्टमा नभएको कुराको आधारमा मन्त्रीबाट राजीनामा दिएका (गोकुल बास्कोटा) अहिले सांसदको रुपमा बसेको बताए । उनले ८० करोडको हिसाव खोज्न र संसदीय छानबिन समिति खोज्न संसदमा उभिएको बताए ।
उनले मन्त्री हुनुभन्दा अगाडि सरकारले जिवी राईलाई नसमातेको भन्ने गरेको तर अहिले नसमातेको प्रति प्रश्न गरे । राई मलेसियामा रहेको र त्यहाँको सरकारलाई कुटनीतिक पहल गर्दा समात्न सकिने भएपनि समातेर किन नल्याएको भन्दै प्रश्न गरे । उनले जीवी राई गृहमन्त्रीको सम्पर्कमा रहेको भन्दै आकाशमा गएर लुक पातालमा गएर लुक भनेको भन्दै कटाक्ष गरे ।
यस्तै आफूहरूले संसदीय छानबिन समितिमा लामिछानेको जवाफ सुन्न चाहेको बताउँदै उनले भने, ‘माननीय गृहमन्त्री जीले भन्नुभयो ‘म सार्वजनिक रूपमा बहस गर्न तयार छु । कहाँ आउनुपर्ने हो भन्नुस् म त्यहाँ आउन तयार छु भन्नुभयो ।’ …आउनुस् बहस गर्नका लागि म ठाउँ निर्धारित गर्न चाहन्छु । त्यो हो- नेपाल देशको काठमाडौं जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा म उहाँलाई निमन्त्रण गर्न चाहन्छु ।’
५ वटा शहरका ‘स’बाट नाम सुरू हुने ५ वटा सहकारीको ५० हजार बचतकर्ताको ८० करोड रुपैयाँ हिनामिनामा लामिछानेको नाम मुछिएको भन्दै शर्माले उनीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।
प्रतिक्रिया