• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    पानी पसेको फोनलाई चामलमा नराख्न एप्पलको चेतावनी

    7.6K
    SHARES

    काठमाडौं । एप्पलले आफ्ना प्रयोगकर्तालाई भिजेको फोन चामलमा नराख्न चेतावनी दिएको छ । पानी सोस्ने विश्वासमा प्रयोगकर्ताले चामलमा फोन राख्दा उल्टै फोनमा थप क्षति पुग्ने भन्दै एप्पलले त्यसो नगर्न आग्रह गरेको हो ।

    यसो त विज्ञहरूले फोन जोगाउन चामलमा राख्ने तरिका गलत भएको औंल्याउँदै आएका थिए । अहिले भने एप्पलले आधिकारिक रूपमा चामलमा नराख्न सुझाव दिएको छ ।

    “चामलको बोरामा आईफोन नराख्नुहोला,” एप्पलले सपोर्ट नोटमा लेखेको छ, “त्यस्तो गर्दा फोनमा चामल छिर्छ र त्यसले फोनलाई थप क्षति गर्छ ।” एप्पलले आईओएस लिक्विड डिटेक्सन अलर्टको सपोर्ट डकुमेन्टमा आईफोन चामलमा राख्दा त्यसले थप क्षति पर्‍याउने उल्लेख गरेको छ ।

    विशेषगरी लाइटनिङ पोर्ट वा यूएसबी-सी कनेक्टरमा पानी (लिक्विड) पसेको छ भने आईफोनले त्यसलाई पहिचान गरी जानकारी दिन्छ । त्यसपछि कनेक्टरलाई डिसेबल गरिदिन्छ । जसले गर्दा चार्ज लगाउँदा पनि फोनमा चार्ज हुँदैन ।

    त्यसो भए आईफोनमा पानी पर्‍यो भने के गर्ने ?

    पछिल्लो समय बजारमा आएका आईफोन वाटर रेसिस्टेन्स अर्थात् पानीमा परे पनि कुनै असर नपर्ने किसिमका छन् । ती फोनलाई पानीभित्र लगेर पनि भिडिओ वा फोटो खिच्न सकिन्छ । त्यस्तोमा तपाईंले चिन्ता लिइरहनु परेन ।

    तपाईंको आईफोन पुरानो हो भने त्यसमा ‘लिक्विड डिटेक्ट’ अलर्ट हुन्छ । भिजेको फोन चार्ज गर्न खोज्दा त्यस्तो अलर्ट बज्छ । त्यस्तोमा सबैभन्दा पहिले चार्जर निलेर कनेक्टरलाई तलपट्टि पर्नेगरी आधा घण्टादेखि एक घण्टासम्म राख्नुपर्छ ।

    यसरी लामो समय राखेपछि फोनमा भएको पानी निस्किन्छ र फोन पहिलेकै अवस्थामा आउँछ । तर, याद गर्नुहोस् फोनमा छिरेको पानी बाहिर ल्याउन तातो लगाउने वा भ्याक्युम तथा ड्रायर प्रयोग गर्नु हुँदैन । त्यस्तै कनेक्टरमा कपास राखेर पानी हटाउनु खोज्नु पनि गलत हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ