काठमाडौँ । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा बिहीबार क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ ।
जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २-१ ले आफ्नो पक्षमा पारेको छ । पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई २ विकेटले हराएको थियो ।
काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि १ सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे । उनले ७९ बलको सामना गरी ६ चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि ४२ रनको योगदान गरे । उनले ३१ बलमा चार छक्का र दुई चौका हिर्काए ।
नवनित धालिवालले पनि टोलीको खातामा ३८ रन थपे । उनले ४५ बलमा एक छक्का र चार चौका पनि प्रहार गरे । निखिल दत्त १४ रन बनाउँदै आउट भए भने दिलप्रित बाजवा ११ रनमा पेभेलियन फर्किए ।
क्यानडाले अतिरिक्त रुपमा केवल ६ रन पाएको थियो । नेपाली टोलीका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएका थिए । शेर मल्ल र बसिर अहमदले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । आशुतोषले २८ रन बनाए । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए । अर्जुनले पनि टोलीको खातामा २७ रन थपे । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।
कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल भने खाता खोल्नुअघि नै आउट भए ।
रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गरे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे ।
प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन जोडे । हेमन्त धामीले ६ रन बनाए । नेपालले अतिरिक्त रुपमा १२ रन पायो । क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले पनि १-१ विकेट हात पारे । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३-० ले विजयी भएको थियो ।
प्रतिक्रिया