• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    जनप्रतिनिधिको यस्तो लाजमर्दो हर्कत, वडा अध्यक्षले नै गराए जबर्जस्ती बहुविवाह

    28.8K
    SHARES



    सन्तोषकुमार गुप्ता, प्यूठान ।

    स्थानीयतह निर्वाचनपछि निर्वाचित कतिपय जनप्रतिनिधिका कारण ओली सरकारलाई लाजमर्नु बनाइदिएको छ । बेला-बेलामा अनेक काण्ड मच्चाएर ओली सरकारका कोही न कोही जनप्रतिनिधिले सरकारलाई नै लज्जित बनाइरहेका छन्।

    हालै प्यूठानमा एक वडा अध्यक्षले आफ्नै रोहबरमा बहुबिबाह गराएको घटना सार्वजनिक भएको छ । जिल्लाको उत्तरपूर्वी झिम्रुक गाउँपालिका २ का नरेश गिरी र सोही ठाउँकी एक महिला बीचको अनैतिक यौन सम्बन्धलाई वडा अध्यक्षले काजग नै गराई महिलालाई गिरीको जिम्मा लगाएपछि सो घटना बहुबिबाहमा परिणत भएको हो ।

    झिम्रुक २ का रुपलाल खत्रीकी श्रीमति र सोही गाउँका नरेश गिरीबीच बिगत चार महिनादेखि अनैतिक यौन सम्बन्ध हुँदै आएको थियो । तर असार १० गते राती साढे १० बजे महिलाको कोठामै नरेश रङ्गेहात पकाउ परेपछि यो घटना बाहिरिएको थियो ।

    खास घटना के हो त ?

    बिगत पन्ध्र महिना पहिले  २०७३ चैतमा रुपलाल बैदेशिक रोजगारका शिलशिलामा कतार पुगेका थिए । श्रीमान बिदेश रहेको मौका छोपी उनीहरुले बिगत चार महिनायता लुकीछुपी यौन सम्बन्ध राख्दै आएको थिए ।

    असार १० गते राती १० बजे रुपलालका बुवा देबबहादुर खत्री एक्कासी बिरामी भए । अस्पताल लैजान उनकी आमा रेश्मादेवी खत्री दौडिएर बुहारी सुतेको कोठामा पुगेर बोलाइन् । धेरै पटक बोलाउँदा नबोलेपछि ढोका हानिन् । बुहारी र एक पुरुषले ढोका खोलेर उनलाई हुत्याई दिए

    रेश्मा भुईमा लडेर चिच्याउन थालेपछि छिमेकी अर्थात रुपलालका जेठा बुवाका छोरा तुलसीराम खत्री त्यहाँ आए । पुनः बुहारी सुतेको कोठा खोल्न आग्रह गरे । तर ढोका खोल्न मानेनन् ।

    बारम्बार ढोका खोल्न भनेपनि नमानेपछि ढोका फुटाएर भित्र हेर्दा बुहारी अर्धनग्न र नरेश गिरी पलङ्गमुनि लुकी रहेको अवस्थामा फेला परेको प्रत्यक्षदर्शी तुलसीराम खत्रीले बताए । उनले भने- ‘त्यसपछि हामीले गाउँलेहरुलाई बोलाएर भोली बैठकमा छलफल गर्ने गरी आ-आफ्नो घरमा फर्कियौ ।’

    अघिल्लोदिन रंगेहात फेला परेका उनीहरुको बारेमा छलफल गर्न असार ११ गते, शुक्रबार बिहान गाउँमा बैठक बस्यो । बैठकमा झिम्रुक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बलबहादुर महतारा र वडा सदस्य रुमलाल गिरी पनि आए ।

    बैठकमा निज नरेश गिरी र ती महिलालाई पनि झिकाइयो । सम्पूर्ण गाउँलेहरु पनि जम्मा भए । त्यसपछि त्यहाँ छलफल शुरु भयो । छलफलले अनैतिक सम्बन्ध राख्ने दुबै जनालाई श्रीमान-श्रीमति भएर बस्ने निर्णय गर्यो । साथै ती महिलाले लगाएको गरगहना र नगद ४० हजार पिडित रुपलालका बुवा देबबहादुर खत्रीलाई फिर्ता दिने पनि सहमति गरियो ।

    भेलापछि वडा अध्यक्ष बलबहादुर महतारा र वडा सदस्य रुमलाल गिरीको रोहबरमा सोही बमोजिमको कागज समेत गरियो । बिबाहित रहेका नरेश र ती महिला दुबैलाई श्रीमान-श्रीमतिका रुपमा नरेशको घरमा भित्राउने काम पनि वडा अध्यक्ष महतारा र वडा सदस्य गिरीको रोहबर गरियो । उनको श्रीमति सरस्वता गिरी तथा एक छोरी र एक छोरा छन् ।

    यता ती महिलालाई नरेशका परिवारले स्वीकार नगरेपछि बाग्दुलाको एक होटेलमा दुई दिनसम्म आफूसंग राखी उनलाई माइतीको जिम्मा लगाइएको छ । ती महिला अहिले अलपत्र अवस्थामा माइतीको शरणमा छिन् ।

    वडा अध्यक्षको लाजमर्दो जवाफ 

    यसरी लामोसमयदेखि अनैतिक सम्बन्धमा रहेको यो जोडीको बहुविवाह गराइदिने वडा अध्यक्षले उल्टै लाजमर्दो जवाफ दिएका छन् । इमान्दार मिडियाले वडा अध्यक्ष महतारालाई यसबारे बुझ्न खोज्दा ती दुबै जना स्वयम् श्रीमान-श्रीमति भएर बस्न इच्छुक रहेकोले त्यसप्रकारको सहमतिमा कागज गरिएको प्रतिक्रिया दिए ।

    महताराले आफूले कानुन व्यवसायीहरुको सल्लाह अनुसार नै उक्त सहमति तयार पारी कागज गराएर बिबाह गरिदिएको हास्यास्पद जवाफ दिएका छन् । यो त कानुन विपरीत बहुबिबाह भएन र ? भन्ने हाम्रो प्रश्नमा वडाध्यक्ष महताराले मैले जे गरेको छु, त्यो एकदमै ठीक गरेको छु भन्ने प्रतिक्रिया दिएका छन् ।

    वडा अध्यक्षको धम्की- ‘त कस्तो पत्रकार होस् ?’

    यो घटनाका बारेमा बुझ्ने प्रयास गरेपछि वडा अध्यक्ष महताराले पत्रकारलाई नै धम्कीको भाषा प्रयोग गरेका छन् । उनले भनेका छन्- ‘हामीले सही ठानेर गरेको निर्णयलाई बहुबिबाह भन्ने पुष्टि गर्न खोज्ने तपाई कस्तो पत्रकार हो अह ?’ इमान्दार मिडियाको लागि समाचार तयार पार्न खोज्ने पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै वडाध्यक्ष महताराले तिमीहरुलाई मैले जे पनि गर्न सक्छु भनेका छन् ।

    साथै उनले ‘तिमीहरु जस्ता पत्रकारहरुलाई मुद्दा हाल्छु’ भन्दै यस्ता समाचार नलेख्न चेतावनी दिए । उनले यस्ता पत्रकारलाई एक-एक गरि ठेगान लगाइदिने भन्दै जनप्रतिनिधिहरुले गरेको निर्णयका बारेमा समाचार लेखे आफ्नो पावर देखाइदिने धम्की दिएका छन् ।

    नरेशले स्वीकारे अनुचित सम्बन्ध

    यता घटनाका दोषी नरेश गिरीले भने आफूहरुबीच बिगत चार महिना देखि शारिरीक सम्बन्ध हुँदै आएको स्वीकार गरेका छन् । सञ्चारकर्मीसंग कुरा गर्दै गिरीले वडाध्यक्ष, वडा सदस्य र गाउँलेहरुको दबाबमा निज महिलालाई श्रीमति स्वीकार गरेको बताए ।

    त्यस्तै यस बिषयमा झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले वडा अध्यक्ष महताराले बहुबिबाह नै गराएको हो, भने त्यो एकदमै गलत कृयाकलाप रहेको बताए । उनले यस बिषयमा सत्यतथ्य बुझेर कार्वाही गर्ने प्रतिकृया समेत दिए ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी राजेन्द्र पोख्रेलले यस खालका मुद्दा गाउँमा मिलाउन नहुने र त्यसमा अझै जनप्रतिनिधिले त मिलाउनै नमिल्ने बताए ।

    यदि नरेशको श्रीमति छ भने अनैतिक सम्बन्ध भएको महिला जिम्मा लगाउन नमिल्ने डिएसपी पोख्रेलले बताए । यस्तो अवस्थामा दुबैलाई कानुन अनुसार कानुनी कार्वाही हुने बताए । यसका लागि नरेशकी श्रीमति वा उनको माइतीबाट उजुरी आउनुपर्ने बताए । अन्यथा केही गर्न नमिल्ने डिएसपी पोख्रेलको भनाई छ ।

    यता मुलुकी ऐन (संशोधित २०७४) बिबाहवारीको महल १७ अनुसार बहुबिबाह गर्ने दुबै जना र बिबाह गराउने सबैलाई एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि पच्चिस हजारसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया