काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताएका छन् ।
मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाई थियो । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको ? नगई नहुने त्यहाँ के पर्यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ? ’
अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको दोहोर्याए ।
यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन् । सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताए । गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले अवको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताए ।
उनले भने, ‘म त के दावा गर्छु भने राजनीतिक हस्तक्षेप करिवकरिव भन्छु म हन्ड्रेड पर्सेन्ट त कसरी भनुँ ? फेरि यो सरकार भनेको पनि म मात्रै होइन, गृहमन्त्री मात्रै होइन । तैपनि यति न्युनतम गरिएको छ कि पूरै प्रहरी संगठनलाई आफ्नो सिष्टम, मापदण्डअनुसार काम गर्ने वातावरण अहिले बनाइएको छ । र, अर्को कुरा चाहीँ म ग्यारेन्टी गर्छु–यो अहिले मात्रै होइन, ५० वर्षपछि छानविन गरेपनि त्यो पत्ता लाग्यो भने म जिम्मेवारी लिन्छु । त्यो के हो भने प्रमोशन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शुन्यमा झारिएको छ । गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले प्रमोशन गर्दा पैसा लियो, सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न अहिले तपाईले । यो ग्यारेन्टी गरिन्छ । त्यसकारणले हामीले राजनीतिक हस्तक्षेप होइन, त्यसबाट मुक्त गर्दै तत्काल काम गर्ने प्रक्रिया अघि बढाइएको छ । यो कुरा पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’
प्रतिक्रिया