• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

जापानलाई हराउँदै महिला टी-२० सिरिजमा नेपाल तेस्रो

3.7K
SHARES



काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी-२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ ।

तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर पूजा महतोले ४३ रनको योगदान गरिन् । उनले ५१ बलमा सामना गरी तीन चौका पनि हिर्काइन् ।

रोमा थापाले पनि टोलीको खातामा २२ रन थपिन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले १९ बलमा तीन चौका प्रहार गरिन् । पूर्वकप्तान रुबिना क्षेत्रीले पनि टोलीका लागि २१ रनको योगदान गरिन् । उनी पनि रन आउट भएकी थिइन् । उनले १९ बलमा दुई चौका प्रहार गरिन् ।

कप्तान इन्दू बर्माले १२ रन बनाइन् । उनले २१ बलमा सामना गरी एक चौका हिर्काएकी थिइन् । नेपालका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । जापानकी बलर अहिल्या चन्डेल, एरिका क्विन र आयुमी फुजिकावाले एक-एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन् । उनले ५१ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर हिनासे गोतोले पनि १६ रन जोडिन् । उनले ३४ बलमा एक चौका प्रहार गरिन् ।

दुबै ओपनरले टोलीका लागि ३७ रनको साझेदारी गरेका थिए । अहिल्या चन्डेलले ११ रन जोडिन् । जापानका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर संगिता राई इन्दू बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक—एक विकेट लिए ।

चार राष्ट्र सम्मिलित शृङ्खलाको फाइनल खेल आइतबार दिउँसो आयोजक हङ्कङ र जान्जनियाबिच खेलिने छ । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ