• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    प्रगतिशील संस्कृति र वर्तमान राजनीतिक स्थिति

    27.5K
    SHARES

    नेपालमा दस वर्षसम्म चलेको जनयुद्धले नयाँ संस्कृति स्थापना गरेको थियो । मूल नेतृत्वको आत्मसमर्पणका कारण राजनीतिक प्रतिक्रान्तिसँगै सांस्कृतिक प्रतिक्रान्ति भयो तर पनि हामीले समाजमा एउटा नयाँ संस्कृतिको निर्माण गर्न खोजिरहेका छौँ र बहिनी–छोरीहरूलाई अंश दिएर र आमाको मृत्युपछि परम्परागत किरियाकर्म नगरी विद्रोह गरेर त्यसको सुरुआत पनि गरेका छौँ ।

    पहिलेपहिले र अहिलेसम्म पनि गाउँघरहरूमा गरिने परम्परावादी संस्कारहरूमा पुराणहरू पढाएर पवित्र भएको मान्ने चलन थियो र अझै पनि कायमै छ । त्यसलाई हामीले परिवर्तन गर्ने कोसिस गरेका छौँ । मृत्यु संस्कारमा पनि हामीले केही परिवर्तन गरेका छौँ । सम्भवतः यो क्षेत्र र जिल्लाकै हकमा अग्रपङ्क्तिमा हुनुपर्दछ । यो गाउँपालिकामा हामीले नै बहिनी/छोरीलाई अंश दिने चलन सुरु गरेका हौँ । मेरो बुबा मेरा बहिनीहरूलाई समान अंश दिन तयार हुनुभयो । त्यसका लागि यो अवसरमा मेरो बुबालाई धन्यवाद दिन चाहन्छु । मेरो कुरामा बुबाले सहजै स्वीकृति दिनुभयो । त्यसपछि मेरै काका र अरूहरूले पनि यसको सुरुआत गर्नुभयो । यसमा एउटा परिवर्तन हामीले गरेका छौँ ।
    जनयुद्धले बलिदानको जगमा स्थापित गरेको जनवादी संस्कृति, राजनीतिक–सांस्कृतिक प्रतिक्रान्ति, जनवादी संस्कृति निर्माणका चुनौती, सम्भावनालगायत विषयमा कमरेड अशोक सुवेदीले पर्याप्त चर्चा गरिसक्नुभएको छ र अरू वक्ताहरूले पनि यस विषयमा बोल्नुभएको छ । त्यसैले यस विषयमा म सामान्य मात्र चर्चा गर्न चाहन्छु ।

    अर्को कुरा मृत्युमा कम्युनिस्टहरूले कस्तो संस्कार अपनाउने भन्नेमा पनि हामीले केही नयाँ गर्न खोजेका छौँ । आजभन्दा ७ वर्षपहिले मेरी आमाको निधन भयो । हामीले कपाल खौराउने, कोरा बार्ने, किरिया बस्नेजस्ता काम गरेनौँ, बरु श्रद्धाञ्जलीसभा आयोजना ग¥यौँ । आमाको योगदानका बारेमा चर्चा ग¥यौँ र आमाका नाममा अक्षयकोष खडा ग¥यौँ । मेरा साथी, अहिलेको हाम्रो पार्टी नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य कमरेड अटलले पनि आफ्ना बुबाको मृत्युमा किरिया नगरेर बरु बुबाका नाममा अक्षयकोष खडा गर्नुभएको थियो । मैले पनि मेरी आमा बितेपछि अरू धुमधडाका नगरेर फरक तरिका गरेँ । मेरो मान्यता थियो– बाँचेको समयमा बाबा–आमालाई सेवा गर्नुपर्दछ, खुसी राख्नुपर्दछ । मृत्यु भएपछि उनीहरूका योगदानहरूको चर्चा गर्नु पर्दछ र अमर बनाउन कोसिस गर्नुपर्दछ । मैले मेरी आमाको स्मृतिमा नयाँ गर्ने प्रयत्न गरेँ । त्यसमा सन्तानहरू मेरा भाइबन्धुहरूले सहयोग गर्नुभयो । मेरो प्रस्तावमा सबैभन्दा पहिले झ्यामखोलाका बाजेले मुख खोलेर सहयोग गर्नुभयो । मान्छे मरेपछि १३ दिन नुन नखाएर बस्ने, किरिया गर्ने चलन हामीले हटाएका छाँै । मेरो घरमा, काकाको घरमा र मकर काकाको घरबाट यो सुरुआत गरेका छौँ । आज हामीले यो गाउँमा विवाह पनि नयाँ तरिकाले, प्रगतिशील तरिकाले विवाह गर्ने संस्कार बसाल्न सुरुआत गरेका छौँ । यसलाई अझ प्रगतिशील बनाएर लैजानु पर्दछ । यसमा तपाईंहरू सबैको छलफल, सुझाव र सहयोगको आवश्यकता छ ।

    मैले राजनीति गर्न थालेको ४५ वर्ष पुगेको छ । यो प्रक्रियामा हामीले सजिलो बाटो कहिल्यै रोजेनौँ । हामीले कठिन बाटो रोज्यौँ । सजिलो बाटो रोजेको भए मेरा लागि पनि सांसद, मन्त्रीको पद र झन्डावाला गाडी टाढाको विषय थिएन । त्यसो भएको भए म आज पनि जनताको राजस्वबाट शोषण गरिरहेको हुन्थे । यो भएको भए कमरेड अटलहरूले पनि कतै न कतै ठाउँ पाउनुहुने थियो । हामीले त्यो बाटो अपनाएनौँ किनकि त्यो बाटोबाट हामी पुग्ने भनेको लक्ष्यमा पुग्न सक्दैनौँ । अथवा हामीले समाजवाद र साम्यवादको जुन कल्पना गरेका छौँ त्यहाँ पुग्न सकिँदैन । त्यसकारण म के बताउन चाहन्छु भने हामी साँच्चिकै समाजवाद वा साम्यवादमा पुग्ने हो भने यही बाटो, क्रान्तिकै बाटोमा हिँड्नुपर्दछ । यही लक्ष्यमा पुग्ने बाटो हिँड्न जरुरी छ । यो बाटो साम्यवादको बाटो हो ।

    वर्तमान दलाल संसदीय व्यवस्थाको चुनावमा कुनै पनि इमानदार गरिबले जित्न सक्दैन । त्यसकारण यो व्यवस्थाको चुनावमा कसैको सुरक्षा छैन । आज प्रचण्डहरूले यही व्यवस्थामा छिर्दछौँ भन्दा पनि यही व्यवस्था मान्दछौँ भनेर पस्दा पनि सुख दिएको छैन । केपी ओलीले भनेका छन्– यो माओवादीको घाँटीमा झुन्ड्याएको तरबार किन निकाल्ने भनेर सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कामै गर्न दिइएको छैन । सत्य निरूपण तथा मेलमिलाप आयोगले काम सके पनि सरकारले अड्कायो । अहिले वडा वा गाउँपालिका अध्यक्ष जे भए पनि प्रादेशिक मन्त्री र मुख्यमन्त्री भए पनि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जे भए पनि माओवादी साथीहरूको टाउकोमा तरबार झुन्डिरहेको छ । प्रचण्डले ५ हजार मानिसको जिम्मा लिन्छु भनेको कुरालाई समातेर मुद्दा हाले । उहाँहरूलाई त त्यस्तो गर्दछन् भने साँच्चिकै साम्यवाद ल्याउन खोज्नेहरूलाई राख्छ । साँच्चिकै साम्यवाद ल्याउन खोज्ने हामीहरूलाई यही प्रचण्डहरूको सरकार हुँदा पनि जेल हाल्यो । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा पनि हामीले ३ वर्ष जेल बस्नुप¥यो । हाम्रा साथीहरू काठमाडौँको घट्टेकुलो र सुकेधारामा मारिए । बादलजीले ती नागरिक होइनन् भन्नुभयो । हिजो आफँैले जनयुद्ध गरेको मान्छेले यस्तो पनि भन्नसक्ने ! कस्तो अचम्म हो !? मर्नेहरू मान्छे नभएको भए ती के हुन् ? को मारिएका थिए ? के सनाखत ग¥यो पुलिसले ? त्यसकारण म के भन्छु भने चुनावी बाटोबाट कहिल्यै पनि समाजवाद आउँदैन ।

    राज्यसत्ता र सरकार भन्ने फरक चीज हो । पुरानो सत्ता रहुन्जेलसम्म यहाँ जो सरकारमा गए पनि कसैले केही गर्न दिँदैन र गर्न सक्ने पनि केही छैन । राज्यसत्ताभित्र ६ चीज हुन्छन् : सेना, प्रहरी, प्रशासन, अदालत, सरकार र जेल । यिनीहरूमा कुनै परिवर्तन भएको छैन । सबै चीज पुरानै छन । जेल त झन् राणाका पालाका छन् । १५ सय अटाउने ठाउँमा ३ हजार मान्छे कोचेर राखिने गरेको छ । चिनियाँहरूले जेल परेका मान्छेहरूलाई काठमाडौँमा बाटो बनाउन ल्याउँछन् । यहाँ बन्दीहरूलाई कोचेर राखिन्छ । देशका ३० हजार बन्दीहरूलाई ४ घन्टा मात्रै काम लगाउने हो भने ठूलै उद्योग चल्न सक्छ । यस्तै कर्मचारीतन्त्र पनि यस्तै छ । भोलि सरकार ढल्नेछ भने आजबाट सचिवहरू काम गर्न छोड्छन् ।
    आजको अवस्था भनेको राज्यसत्ता परिवर्तनको आवश्यकता हो । यो राज्यसत्ता परिवर्तन नगरीकन केही गर्न सकिँदैन । समाजवाद संविधानमा लेखेर आउँदैन । आजको संविधानमा जे लेखिएको छ, त्यो हातखुट्टा बाँधिएको समाजवाद हो । सरकारमा गएर प्रचण्डले गरेको एउटा मात्र काम हो–जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन स्वीकृत गराउनु । अर्को कुरा देशका सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरे र घाइतेहरूलाई २ लाख दिने कुरा भएको छ । तर अर्को सरकार आएपछि यो लागू हुन्छ कि हुँदैन थाहा छैन । यो पनि जबर्जस्ती भएको हो ।
    माओवादी केन्द्रका साथीहरू घण्टीवाला रवि लामिछानेजस्तो हुनुप¥यो भन्छन् । कहिलेकहीँ बहुमतका साथीहरूले पनि रवि लामिछानेजस्तो हुनुपर्छ भन्ने गरेको सुनिन्छ । यो कुरा भ्रम हो । तपाईंहरू भ्रममा नपर्नुहोला । रवि लामिछाने को हो, थाहा छ ? यो त अमेरिकी दलाल हो । अमेरिकाको नागरिकता र नेपालको नागरिकता दोहोरो नागरिकतावाला अमेरिकी दलाल हो भन्ने कुरा अहिले त अदालतले स्पष्ट गरिदियो । कहिलेकहीँ अदालत र सरकारको झगडा प¥यो भने पनि यस्तो हुन्छ । रवि रातारात आएको होइन । यसको तयारी त दस वर्षदेखिको हो । उसलाई चर्चहरूले पनि सहयोग गरेका छन् । चर्च भनेको साम्राज्यवादको हातखुट्टा हो । रवि लामिछानेले जादु गरेर जितेको होइन । चितवनका चर्चवालाहरूले चितवनमा देशभरिका चर्चवालाहरू भेला गराएर घन्टीलाई मत दिने निर्णय गरेका थिए रे । यो अमेरिकाको फ्रिडम पार्टी छ त्यसको नक्कल मात्रै हो । रवि लामिछानेको मान्छेले मन्त्री हुनलाई दुर्गा प्रसाईंबाट अढाइ करोड माग्यो रे । प्रमाण देखाइदिन्छु भनेर टेप गरी राखेका रहेछन् । मिडियाहरूले आवाज सुनाइ राखेका छन्, देखाइराखेका छन् । यो को हो भन्ने कुरा सोध्यो भने यो अमेरिकी दलाल हो भन्ने कुरा प्रस्ट भयो नि !

    अर्को कुरा, माओवादी केन्द्रका साथीहरू धेरै खुसी नहुनुहोला । तपाईंहरूको ग्राफ घट्दै गएको छ । । सिङ्गो माओवादी हुँदा प्रत्यक्षमै १२० सिट आएको थियो । त्यसपछि त्यो ३० मा आयो । अहिले काङ्ग्रेससँग मिल्दा पनि २०–२१ मा आयो । अहिले बल्ल समानुपातिक यताउता गरेर ३२ सिट आयो । अझै घट्दैछ ।

    यो देशको अर्थतन्त्रको अवस्था कहालीलाग्दो छ । पोहोर साल बैङ्कमा सञ्चिति ५० खर्ब थियो । सत्र/अठारजना दलाल पुँजीपतिले मात्र तीस खर्ब ऋण लिए तर अठार लाखले १७ खर्ब लिए । तीन खर्ब मात्रै बैङ्कमा छ । अठार लाख लिने भनेका साना–साना व्यापारी हुन । ती व्यापारीहरूको उद्योग टाट पल्टिएको छ । अठार लाख लिने भनेको मध्यम वर्ग हो । यीभन्दा अन्य सामान्य मान्छेहरूले त ऋण नै पाउँदैनन् । अर्थतन्त्रमा सञ्चितिको ठूलो हिस्सा ऋण लिने अठारजनामा विनोद चौधरी, शेष घले, उपेन्द्र महतो, आदित्य झा, जीवा लामिछाने, ज्ञानेन्द्र शाह, अजेय सुमार्गीलगायत हुन् । तिनीहरूले ठूलो रकम लिन्छन् र उनीहरूलाई ब्याज लाग्दैन । नेपालको बजेट अहिले सत्र खर्ब/साढे–सत्र खर्ब छ । नेपालको व्यापारघाटा पनि साढे–सत्र खर्ब छ र यो व्यापारघाटा पूर्ति गर्न रेमिट्यान्सको ठूलो हात छ । १२ खर्ब रकम रेमिट्यान्सबाट आउँछ । यहाँबाट खाडीमा गएर पसिना बगाउनेहरूले रेमिट्यान्स पठाउँछन् र रातारात ट्रकको पछाडि वा डुंगा चढेर जानेहरूले रेमिट्यान्स पठाउँछन् । तर यो सबै रकम यो देशका मन्त्रीहरूले सत्तासीनहरूले दलालहरू, ब्युरोक्र्याटहरू र कर्मचारीहरूले कर्मचारी पनि साना होइन, सचिवहरू सीडीओहरूले खान्छन्, अलिअलि तल झरे पनि मात्र कोहीकोही सानाले खान्छन् । वडाध्यक्ष र गाउँपालिकाको अध्यक्ष टाठोबाठो छ भने भेटाउँछ, नत्र सचिवहरूले लटरपटर पारेर खाने हुन् । कारागारमा नाइकेहरूले लुटिराखेका छन् । गाउँमा नयाँ ठालुहरूले लुटिराखेका छन् । देशमा मन्त्री, प्रधानमन्त्रीहरूले लुटिराखेका छन् । त्यसकारणले यो राज्यसत्ता बदल्नुपर्छ र वैज्ञानिक समाजवाद स्थापना जरुरी छ भन्ने नेकपा (बहुमत) को कुरा हो । यो राज्यसत्ता, प्रहरी–सेना सबैका विरुद्ध हामीले जनयुद्ध ग¥यौँ । जनयुद्धमा हामी अरू २ वर्ष मात्र टिकेको भए यो देशमा जनवादी गणतन्त्र आउने थियो । म त्यति बेला सेनाको पाँचौँ डिभिजनको कमिसार थिएँ । त्यसपछि सेना समायोजन गर्दाखेरि म काठमाडौँमा गएँ । सेनाको माथिल्लो स्तरको एकजना अधिकृतसँग भेट भयो । उनले भने–तपाईंहरू २ वर्ष मात्रै टिकेको भए यो सत्ता ढल्ने थियो । हाम्रा २५,००० (पच्चीस हजार) सैनिक भागिसकेका थिए । भित्रको अवस्था निकै खराब भैसकेको थियो । तर प्रचण्डजीहरूले हतार नगरेको भए, नडराएको भए, बाबुराम भट्टराईको अर्तीमा नलागेको भए र आत्मसमर्पण नगरेको हाम्रो जित सुनिश्चित थियो । दुई वर्ष मात्रै पर्खिन सकेको भए अवस्था अर्कैै हुने थियो ।

    तर आज भीमकाय चुनौती छ । आज क्रान्तिका लागि तागत चाहिन्छ । बदल्नका लागि तागत चाहिन्छ । अब हाम्रोअगाडि असाध्यै कठिन उकालो छ । कसरी काट्ने, असाध्यै अप्ठ्यारो छ । आजका तानाबानाहरू, आजको प्रविधि अर्कै खालको छ । अहिले मान्छे मात्रै लडेर हुँदैन, प्रविधि लड्नु पर्दछ । हामीले देखेका छाै नि उताबाट रसियाले क्षेप्यास्त्रहरू पठाउँछ । यताबाट अमेरिकाले माथि नै खरानी बनाइदिन्छ । कसरी झुक्याएर हान्ने हो, बडो समस्या छ । युक्रेन युद्धमा रसियाले अमेरिकालाई थकाइसक्यो । युक्रेन अगाडि सारेर दुईटा पक्ष लडे तर लडाइँ अमेरिका र रसियाको हो । गोरुको जुधाइमा बाच्छाको मिचाइ भनेजस्तै युक्रेन बाच्छो बनेको छ । हुनत युक्रेन पनि एउटा ठूलो शक्तिशाली देश हो तर त्यो अमेरिकातिर लाग्यो । अमेरिकातिर लागिसकेपछि रसियाले त्यहाँ प्रहार ग¥यो । आज रसियाले आधा युक्रेन कब्जा गरिसकेको छ ।
    रसिया किन शक्तिशाली छ भने रुसको पछाडि चीन छ । चीन अर्थतन्त्रमा विश्वको दोस्रो हुँ भने पनि त्यो पहिलो भैसकेको छ । कमरेड माओ त्सेतुङले जसरी आधार खडा गर्नुभएको थियो त्यसैमा टेकेर चीन आज विश्वमा एक नम्बरमा उक्लिएको छ । यो स्थितिमा हामीले विश्वमा साम्राज्यवादीहरूबीच टकराव हुँदै गयो भने ताइवानलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्ध पनि बिगार्न सक्दछ । अमेरिकाले तिब्वतलाई पनि चीनका विरुद्ध उकास्ने कोसिस गरिरहेको छ । चीनविरुद्धको गतिविधिका लागि अमेरिकाले नेपालमा एमसीसीमार्फत आफ्नो आधार खडा गर्दैछ । यी दुई ठूला देशका बीचमा युद्ध चल्यो अथवा भने हामीले गृह युद्ध गर्नुपर्दछ र त्यो गृहयुद्धबाट नेपालमा क्रान्ति सम्पन्न गर्नुपर्दछ । माओले भन्नुभएको थियो, ‘कि त यो युद्धले विश्वयुद्ध ल्याउनेछ वा विश्वयुद्धले क्रान्ति जन्माउनेछ ।’ त्यो कुरा आजसम्म पनि सही छ । नेपालका क्रान्तिकारीहरूले माओको भविष्यवाणी विश्वयुद्धले क्रान्तिलाई निम्त्याउनेछ भन्ने कुरा लागू गर्नुपर्दछ ।

    यो सबै अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिले हाम्रो क्रान्तिका लागि देशको वस्तुगत परिस्थिति राम्रो भएको छ । क्रान्तिका लागि परिस्थिति अनुकूल भएको छ तर आत्मगत स्थिति बनाउन जरुरी भएको छ । यसका लागि क्रान्तिकारी पार्टी बलियो बनाउन आवश्यक हुन्छ । यसका लागि सच्चा मालेमावादीहरूबीचको एकताका आजको आवश्यकता हो र हामीले यसको सुरुआत गरेका छौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच यही वैशाख १८ गते मे दिवसका दिन एकता हुँदैछ । हामीलाई आशा एवम् विश्वास छ माओवादी केन्द्रलगायत माओवादी नाम गरेका अन्य पार्टीभित्रका इमानदार क्रान्तिकारीहरूले सोच्नुहुनेछ । हामी क्रान्तिकारीहरूको एउटा केन्द्र बनाउने कोसिस गरिरहेका छौँ । अरू कुनै बाटोबाट समाजवादमा पुगिन्छ वा क्रान्ति हुन्छ भन्ने कुरामा तपाईंहरू कोही पनि भ्रमित नहुनुहोस् । संसदीय व्यवस्थाबाट समस्याको समाधान कहिल्यै हुँदैन । त्यसकारण हामी मुक्त हुने र देशलाई मुक्त बनाउने हो भने, देशलाई विदेशीहरूबाट जोगाउने हो भने क्रान्तिकारीहरूको एकता र क्रान्तिको बाटो नै आवश्यक छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ