काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्दै छन् ।
वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले भने ।
वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष छन् । यस्तै बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने रहका छन् ।
‘पार्टी एकता अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनमा हुने भयो । पार्टी नेतृत्व कमरेड किरणकै हुनुहुन्छ’ गजुरेलले भने, ‘पार्टीको नाम र आगामी कार्यदिशाका विषयमा यसबीचमा टुङ्गो लगाउने भन्ने छ ।’
पार्टी एकता भएपछि नेकपा माओवादी हुने सम्भावना देखिएको नेताहरूले बताएका छन् । दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने भएको छ ।
पार्टी अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने समझदारी बनाएको नेकपा बहुमतका एक नेताले बताए । आलोपालो नेतृत्व गर्ने गरी दुई जनावीच अध्यक्ष मण्डल बनाइने ती नेताको भनाइ छ ।
मोहनविक्रम सिंह नेतृत्वको नेकपा क्रान्तिकारी मसालसँग पनि एकता गर्ने भनिए पनि सहमति नजुट्दा सो एकता रोकिएको छ ।
प्रतिक्रिया