• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    हवाइजहाजमा हराएको एयरपड्स ट्रयाक गर्दा विमानस्थल कर्मचारीको घरमा भेटिएपछि…

    5.6K
    SHARES



    काठमाडौं । ब्याग, चाबी अथवा अन्य कुनै सामान ट्रयाक गरेर फेला परेकाे घटना त बारम्बार सुनिने गर्दछन् । भर्खरै यस्तै नयाँ खबर पनि बाहिरिएकाे छ । एक अमेरिकी महिलाले आफ्नो एयरपड्स ट्रयाक गरेर भेट्टाउन सफल भएकी छन् ।

    ती महिलाले विमानमा छोडेको एयरपड्स ट्रयाक गरेर विमानस्थलमा काम गर्ने कर्मचारीको घरमा भेटाएको सीएनएनले उल्लेख गरेको छ । सीएनएनमा प्रकाशित एक समाचारअनुसार वाशिङ्टनकी एलिजावेथ हेडेन यही मार्च महिनाको सुरुतिर सान फ्रान्सिस्कोमा विमानबाट ओर्लदै गर्दा उनको एयरपड्स (एप्पलको महँगो माइक्रो हेडफोन) कतै खसेको थियो ।

    सो एयरपड्स चोरी भएको उनलाई महसुस भयो । आफ्नो एयरपड्स चोरी भएको महसुस भएपछि उनले सो एयरपड्सलाई ट्रयाक गर्न सुरु गरिन् । एयरपड्स ट्रयाक गरेको करिब दुई हप्तापछि उनको एयरपड्स फेला परेको छ ।

    एलिजावेथ आफ्नो श्रीमानलाई भेट्न टोकियोको यात्राबाट फर्किदै थिइन् । सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लदै गर्दा उनले आफ्नो ज्याकेट विमानको पछाडिको सिटमा छोडेको थाहा पाइन् ।

    यसपछि उनी विमानमा गएर आफ्नो ज्याकेट लिनको लागि फर्किइन्, तर उनलाई विमान परिचारिकाले विमानभित्र पस्ने अनुमति दिइनन । उनले धेरै अनुरोध गरेपछि विमान परिचारिकाले आफैँले ज्याकेट ल्याइदिने भनिन् ।

    ज्याकेट पाएपछि उनी सियाटल जान आफ्नो दोस्रो उडानतर्फ लागिन् । उडानमा सँगैको यात्रुको बच्चा कराउन थालेपछि यसबाट छुटकारा पाउन उनले आफ्नो एयरपड झिक्न ज्याकेटको गोजीमा हात हालिन्, तर ज्याकेटमा उनको एयरपड्स भेटिएन ।

    विमानले उडान भरिसकेको थियो । उनीसँग अन्य कुनै विकल्प थिएन । यसपछि उनले विमानको इन-फ्लाइट वाई-फाई प्रयोग गरेर ‘फाइन्ड माई एप’ मार्फत आफ्नो एयरपड्स ट्रयाक गरिन् । याे ​एपले एप्पल डिभाइसहरू ट्रयाक गर्न मद्दत गर्दछ ।

    आफ्नो एयरपड्स ट्रयाक गर्दा उनले आफ्नो एयरपड्स एक ठाउँबाट अर्को ठाउँ पुगिरहेको देखिन् । उनले सान फ्रान्सिस्कोदेखि सियाटलसम्मको आफ्नो उडान यात्राका दौरान उक्त एयरपड्सको सबै गतिविधिको स्क्रिनशट लिएर राखिन् ।

    उनी घर पुग्दासम्म उनको एयरपड्स पनि ‘युनाइटेड कार्गो’ भन्ने स्थानमा पुगिसकेको थियो, जुन विमानस्थलभित्रकै स्थान थियो । त्यसपछि विस्तारै उक्त एयरपड्स विमानस्थलको टर्मिनल २ तर्फ गयो, त्यसपछि टर्मिनल ३ हुँदै एयरपड्स हाइवेतर्फ लाग्यो ।

    त्यहाँबाट एयरपड्स सान माटियोतर्फ हुँदै एउटा घरमा पुग्यो । उक्त एयरपड्स सोही घरमा तीन दिनसम्म बस्यो । एलिजावेथले यो सबै गतिविधि ट्रयाक गरिरहेकी थिइन् । सबैका लागि आफ्नो ग्याजेट निकै नै महत्त्वपूर्ण हुन्छ ।

    तर एलिजावेथका लागि त्यो एयरपड्स एउटा भावना थियो, जसले सेनामा भर्ती भएका उनका श्रीमानले दुर्गम स्थानबाट फोन गर्दा आवाज राम्रोसँग सुन्न मद्दत गर्थ्यो ।

    उनी जसरी पनि आफ्नो एयरपड्स फिर्ता चाहन्थिन् । यसपछि उनले आफूले सक्दो प्रयास गरिन् । उनले विमानस्थलदेखि लिएर प्रहरी सबैलाई खबर गरिन् । यद्यपि कहिँकतैबाट मद्दत नपाएपछि पुन: मोबाइल एपको मद्दत लिइन् ।

    उनले सो एपमा आफ्नो एयरपड्सलाई ‘लस्ट’ अर्थात् हराएको भनेर मार्क गरिन् । यसरी मार्क गरिसकेपछि जसले उक्त हराएको एयरपड्स प्रयोग गरिरहेको छ, उसले एयरपड्स धनीको भ्वाइस मेसेज सुन्नसक्छ, जसमा एयरपड्स धनीको फोन नम्बर पनि छोडिएको हुन्छ ।

    यस विषयमा युनाइटेड कार्गोले आफूलाई सहयोग नगरेको एलिजावेथले बताइन् । यद्यपि यो काममा उनलाई विमानस्थलमा खटिएका सान माटियो पुलिस फोर्सका एक जासुस कर्मचारी मद्दत गरे । ती प्रहरीले एलिजावेथले ट्रयाक गरेको स्थान पत्ता लगाउन मद्दत गरेका थिए ।

    पछि जब उनले आफ्नो एयरपड्स फिर्ता पाइन्, युनाइटेड कार्गोले एयरपड्स लाने व्यक्ति आफ्नो कर्मचारी नभई कोही भेन्डर भएको स्पष्टीकरण दिएको थियो ।

    यसबीच एयरपड्स लगेका व्यक्तिले आफ्नो आईफोनमा सो एयरपड्स कनेक्ट गर्दा उनले एलिजाबेथले दिएको नोटिफिकेसन पाएका थिए । युनाइटेड कार्गोले गरेको सोधपुछमा भने उक्त व्यक्तिले एयरपड्स आफूसँग नभएको बताएका थिए ।

    पछि एलिजाबेथसँग भएको स्क्रिनशट देखाएपछि बल्ल ती व्यक्तिले आफूले विमानस्थल सरसफाइ गर्ने कर्मचारीले उक्त एयरपड्स दिएको सुनाए । हाल यो घटनाको जिम्मा सान फ्रान्सिस्को विमानस्थलका प्रहरीले लिएको छ भने युनाइटेड कार्गोले एलिजावेथलाई नयाँ एयरपड्स खरिदका लागि क्षतिपूर्ति दिने भएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ