• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार सुदुरपश्चिम

    रामारोशनमा बाढीको जोखिम कायमै, २ बर्षसम्म भेटिएनन् वेपत्ता ९ जना

    3.8K
    SHARES

    काठमाडौँ । अछामको रामारोशन गाउँपालिकामा बाढीले स्थानीयलाई तनाब दिन थालेको छ । लगातारको अविरल बर्षाका कारण गाउँपालिकाको अल्लेडिमा हालै बाढीले बस्ति बगाउने जोखिम बढेको छ । स्थानिय बासीले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार अहिले पनि उक्त स्थानमा पहिरो बगिरहेको छ ।

    दुइ वर्ष पहिले २०७७ भदौमा रामारोशन-५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीले ठुलो जनधनको क्षति भएको थियो । उक्त बाढीले १७ जनालाई बगाएको थियो ।

    उक्त बाढी पहिरोमा परि रामारोशन-५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता छन् । ४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् ।

    बेपत्ताहरुमा नन्दु र गंगा श्रीमान-श्रीमती हुन् भने प्राप्ती उनीहरुकी नातिनी हुन् । संगै वगेका नन्दुका छोरा २७ बर्षीय रमेश साउँद, बुहारी बविता बुढा साउँद र अर्का छोरा १२ बर्षीय नविन साउँदको ६ गते शव फेला परेको थियो । नन्दुकी सासुआमा रामारोशनगाउँपालिका-६ भाटियाखोला बस्ने बीमादेवी साउँद पनि बेपत्ताकै सुचीमा छिन् । उनी छोरी ज्वाई भेट्न सैनी बजार पुगेकी थिन् ।

    बाढीमा बगेका ४५ बर्षीय अम्मर शाह, २९ बर्षीया सम्झना शाह, ३२ बर्षीया गौरी शाह, ४८ बर्षीय चन्द्र साउद र ४५ बर्षीया लालसरा शाहीको शव ६ र ७ गते फेला परेको थियो । त्यस मध्ये ९ जना अझैसम्म फेला परेका छैनन् ।

    बाढीले बगाएपछि खोला छेउमा सैनी बजार थियो भन्ने कुनै निशान पनि देखिएन । बाढीका कारण सैनी बजार र आसपासका खेतहरु समथर बगर बनेकाथिए । खोलाले ठुल्ठुला ढुङ्गा समेत वगाएर ल्याएको र ढुङ्गाभित्र लाशहरु च्यापिएको आशंका उद्धारकर्ताले गरेका थिए ।

    बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल, सयौँ रोपनी खेतीबारी बगाएको थियो । त्यस्तै केहिदिन अगिमात्रै  बाढीले स्कुलको कम्पाउण्ड बगाएको थियो ।

    झण्डै एक सय परिवार विस्थापित

    बाढीका कारण रामारोशन क्षेत्रमा झण्डै एक सय परिवार बिस्थापित भएका थिए। ‘बिस्थापितमध्ये केहीलाई स्थानीय बिद्यालयमा, केहीलाई त्रिपालमूनी राखिएको थियो ।’ सोडना, धन्सल्ला, अल्लेणी, सैनी, नवदुर्गा, आडेखाँद, सनानीगाउँ लगायतका बस्तीहरु बिस्थापित भएका थिए। सैनीवजारका करीव ३० पसल, तरकारी संकलन केन्द्र, बिभिन्न संघसंस्थाका कार्यालय पनि बाढीले बगाएको थियो ।

    यस्तै रामारोशन जोड्ने सडक पूर्णरुपमा अबरुद्द भएको थियो, बाढीले वगाउँदा वडा नम्बर ५ जोड्ने बाटोसमेत अबरुद्ध भएको थियो । अबरुद्ध बाटो सञ्चालनका लागि चार-पाँच दिन लगाएर मुजावगरसम्म डोजरले बाढीले बगाएर ल्याएको ढुंगा माटो हटाइएको थियो । तर त्यसको केहि दिनपछि पुनः बाढी आएर उक्त बाटो पनि गाएको थियो । त्यसपछि बाटोको बिकल्प नभएपछि खोलाबाटै ट्रयाक खोलेर सामान ढुवानी र सवारी आवागमन गरिएको थियो ।

    नाटकीय अनुगम, समस्या ज्युका त्यू

    बाढीका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न गाउँपालिकाले के-कस्तो बिधी अपनाउन सकिन्छ भनेर तत्कालिन गाउँपालिका अध्यक्ष झंकर साउँदलागतका जनप्रतिनिधिले चिन्ताका साथ काम गरिरहेको बताएका थिए । तर त्यसको दुइ बर्ष बितिसक्दा पनि बाढी पिडीतका समस्या ज्युका त्यू छन् ।

    तत्कालिन अवस्थामा बाढीको क्षतिलाई न्यूनीकरण गर्न काठमाडौँको कस्मीक ईन्जिनियरिङका अध्यक्ष तथा ईन्जिनियर खकेन्द्र कुमार साउदको नेतृत्मा ६ जना र गाउँपालिकामा कार्यरत ईन्जिनियरहरुको टोलीले सर्भे गरेका थिए । तर उक्त अध्यन टोलीले गरेको अध्यनले खासै उपलब्धीमुलक काम गर्न सकेन । बाढिपछि सुदुरपश्चिम प्रदेशक तत्कालिन आर्थिक मामीला तथा योजना मन्त्री झपट बहादुर वोहरा लगाएतले रामारोशन बाढी पिडीत क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

    स्थानियवासीले भने बाढीपछि जो आए पनि रामारोशनको बाढीपिडीतलाई भजाईखाने भाँडो बनाएको आरोप लगाएका छन् । स्थानियवासीले भने- “जो आए आ-आफ्नै फेसबुकमा प्रचार प्रशार गरे, तस्बिर खिचे, गए, तर रामारोशन बाढी पिडीतका समस्या झन् कस्टकर बन्दै गएका छन्, खोलाले बगाएको जमिनमा बालुवा मात्रै छ, खेति योग्य जमिनमा उत्पादन हुँदैन। आसपासको जमिन पनि कम्जोर भयो, अब हामीले के गरि खाने ?”

    अझै छ भयानक खतरा 

    यस्तै स्थानियवासी भावना बटाला (बुढा)ले सानो-सानो पानीमा पनि पहिरो बगिरहने गरेको बताइन । उनले भनिन्- “बाढीले बगाएको बाहेक अन्यत्र पनि आफ्नो जमिन भएर घर बनाउन सक्नेहरु त सुरक्षित ठाउमा घर बनाएर सरे, तर घर जमिन खोला नजिक मात्र भएकाहरुलाई मर्नु न बाच्नु भएको छ।”

    उक्त बाढीका कारण कतिको उठीबास भएको छ, सामान्य घरखर्च चलाउन नसक्दा वालवच्चाकोसहित सिङ्गै परिवार गाउँ छोडी भारत जानु परेको स्थानिय बाढी पिडीत लाल बहादुर बिकले सञ्चारकेन्द्रलाई बताए ।

    स्थानियवासी सुरेश बिकले भने- “भयानक समस्या त के भने करिब २ सय घरधुरी रहेको रामारोशन ५ मा पर्ने अल्लेणी गाउँ उच्च जोखिममा रहेको करिब २ वर्ष भयो । गाउँको मुनिबाट अहिले पनि पहिरो खस्दै बग्दै गरिरहेको छ । गाउँ चिरा-चिरा परेको छ । कतिबेला के हुने हो थाहाँ छैन ।”

    स्थानियवासीले आफनो गुनासो सम्बन्धित निकाएसम्म नपुर्याएका भने होइनन्, पुरै बस्ती नै जोखिममा छ, दर्जनौले घर छोडेर टहरामै त केही आफन्तको सहारामा बस्न बाध्य भएका छन्। स्थानिय निर्बाचन पछि पालीकामा नयाँ सरकार आएकोछ । कतिपय वडामा एमाले, माओवादी र कांग्रेसले विजय हात पारेका छन् । तर उनीहरु सबै जनताको समस्याका सारथी बन्ने भन्दा पनि आफ्नै परिवार र आफ्नालागि मात्र केही गर्ने ध्याउन्नमा लागेको स्थानिवा जनताको गुनासो छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ