• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights विशेष

    विप्लवको कारवाही खारेज गर्दै सुदर्शन र कञ्चनले जारी गरे यस्तो विज्ञप्ति, फर्काए कडा जवाफ

    8K
    SHARES


    काठमाडौँ । नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनले आफूलाई कथित कारबाही गर्ने महासचिव विप्लवले पदीय हैसियत र नैतिकता गुमाइसकेको भन्दै उनले आफूहरूमाथि गरेको भनिएको अन्यायपूर्वक कारबाही खारेज गरेका छन् ।

    नेताहरू कञ्चन र सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क. महासचिव, हामीले हाम्रो गतिविधि १२ औँ बैठकको निर्णयअनुसार गरेका छौँ, बरु तपाईंहरू यो मान्यताबाट चिप्लिँदै गर्दा हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेमावाद, पार्टी सञ्चालनको वैज्ञानिक पद्धति जनवादी केन्द्रीयता, वर्गसङ्घर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवादी क्रान्तिबाट विचलित भएको कुरा दिनको घामजस्तै प्रस्ट छ । हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईंहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो । अब भने तपाईंहरूले हामीलाई १२औँ बैठकले दिएको विचारधारात्मक सर्वोच्चताको मान्यतालाई प्रयोग गर्ने स्थितिमा ल्याइपुर्याउनुभएको छ । हामीले कुनै हालतमा पनि अर्को केन्द्र खडा गरेर वितण्डा मच्चाइरहेका छैनौँ, बरु नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा रहेर नै सांस्कृतिक क्रान्तिको बहस चलाइरहेका छौँ जब कि चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन महासचिवलाई केले प्रेरित गर्यो ? यो चिन्ताको विषय भएको छ ।’

    ‘दलाल पुँजीवादी राज्यसत्ताअन्तर्गतको निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने’ निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध कमरेडहरूमाथि यो दण्ड गरिएको र यसको उल्लङ्घन गर्ने स्वयम् महासचिव र सचिवालय सदस्य प्रकाण्ड पदमै विराजमान हुनु हास्यास्पद विषय भएको उनीहरुले प्रष्ट पारेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी आठाैँ केन्द्रीय समितिको १२ औँ बैठकद्वारा दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत ‘चुनाव प्रयोग गर्ने’ कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहने नैतिकता गुमाएर पनि सोही पदमा रहिरहनुभएका कमरेड विप्लवले वि.सं. २०७९ वैशाख १४ गते एक वक्तव्य जारी गरी सचिवालय सदस्यद्वय क. कञ्चन र क. सुदर्शनलाई पदमुक्त गरेको घोषणा गर्नुभएको छ । यो कारबाही सरासर अवैधानिक छ । दार्शनिक रूपमा यो निषेधात्मक अधिभूतवाद हो । ‘दलाल पुँजीवादी राज्यसत्ताअन्तर्गतको निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने’ निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध कमरेडहरूमाथि यो दण्ड गरिएको छ भने यसको उल्लङ्घन गर्ने स्वयम् महासचिव र सचिवालय सदस्य प्रकाण्ड पदमै विराजमान हुनु हास्यास्पद विषय हो ।’

    प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ हामी दुनियाँसामु के स्पष्ट पार्न चाहन्छौँ भने ‘चुनावमा भाग नलिने’ पहलु नै निर्णयको प्रधान पहलु हो र ‘देशभक्त तथा जनपक्षीय उम्मेदवारलाई समर्थन गर्न सकिने’ पहलु गौण हो । तर यहाँ ‘नेतृत्व’ स्वयम्ले गौण पहलुलाई प्रधान बनाएर आफ्नो सारसङ्ग्रहवादी गल्ती दोहोर्याएको छ । परिणामस्वरूप पार्टी निर्वाचनमा भाग लिँदैन भन्दाभन्दै जबर्जस्ती केन्द्रीय समिति सदस्यहरू र जिल्ला समितिका पदाधिकारीहरू स्थानीय निर्वाचनमा उठाइएका छन् ।

    हामीमाथि यस्ता आरोपहरू लगाइएका छन्– ‘मालेमावादी सङ्गठनात्मक विधि र एकीकृत जनक्रान्तिको विपरीत सञ्चारमाध्यमहरूमा छाडा र अराजक भएको’, ‘नेतृत्वको संयमता र उदारतालाई कमजोरीका रूपमा लिएको’, ‘सचिवालय सदस्य क. कञ्चनले कुनै सम्पर्क नै नगरी उम्मेदवारी फिर्ता लिन वक्तव्य जारी गरेको’, ‘स्थानीय चुनावलाई बहाना बनाएको’, ‘कमरेड सुदर्शनको सङ्गठनात्मक र आर्थिक मामिला मध्यकमान्डमा छँदै नमिलेको’, ‘सुदर्शनको गिरफ्तारी आफ्नै मान्छेबाट भएको’, ‘कमरेड कञ्चन र सुदर्शनले कार्यनीतिसम्बन्धी संसदीय बहस नै गरेको’, ‘जब कुनै नेताले आफ्नो दृष्टिकोण र गतिविधि पार्टी मान्यताविपरीत बनाउँछ तब ऊ पार्टी सम्बन्धबाट स्वतन्त्र भई अलग हुने बाटोको सहज निकास खोज्दछ’, ‘अलग केन्द्रका रूपमा बितण्डा मच्चाएको’, ‘विभिन्न तत्वहरूको उक्साहटमा लागेको’ र ‘अराजकतावादी, अवसरवादी र विचलनवादी भएको’ इत्यादि ।

    हामी के जबाफ दिन चाहन्छौँ भने क. महासचिवले तथ्यका आधारमा तर्क गर्दा फाइदा हुन्थ्यो । बैठकमा नजाँदै कालीकोटमा ‘म एक्लै र अरू सबै अर्कोतिर लागे पनि म नै चुनाव जित्छुु’, बैठक सुरु भएपछि ‘चुनावमा भाग लिने प्रस्ताव आएको छ, यही पारित हुन्छ’ र बैठकबाट फर्किएपछि निर्वाचन आयोगमा उभिएर ‘चुनावमा भाग लिने मात्र होइन, मोर्चा कसेर जान्छाैँ’, भन्दै कोकोहोलो मच्चाउने हामी हौँ कि तपाईंको आधिकारिक अभिव्यक्तिका रूपमा चुनिएका प्रवक्ता प्रकाण्ड ? त्यसकारण क. महासचिव, मालेमावादी विधि भनेको सांस्कृतिक क्रान्तिसम्मको मूल्य र मान्यता हो । यसको अर्थ अन्ततःविद्रोह गर्नु अधिकार हो । ‘एकीकृत जनक्रान्ति’ स्वयम् विद्रोहबाट जन्मिएको होइन र ?’

    महासचिव कमरेड, चैत १४ मा सम्पन्न १२ औँ बैठकको मसी नसुक्दै चैत १८ गते चितवनको केन्द्रीय प्रशिक्षणमा तपाईंले ‘मैले चुनाव प्रयोगको प्रस्ताव किन ल्याएँ ?’ भन्ने प्रश्नको जबाफ दिँदै स्थानीय चुनावका सबै स्थानहरूमा उम्मेदवार दिन चाहेको, रञ्जु दर्शना मोडेलका उम्मेदवार चोकचोकबाट निकाल्न खोजेको तर इलाकास्तरीय योग्यता पनि नभएको केन्द्रीय समितिले चुनाव प्रयोगमा जान नदिएको गुनासो पोख्नुभएको होइन र ? बरु बारम्बार ‘चित्त नबुझेको भए गए पनि हुन्छ’ भनी भनेको होइन र ? अनि तपाईं कसरी संयम र उदार हुनुभयो ?

    पछिल्लो सचिवालय बैठकमा ‘महासचिव र प्रवक्ताले विगतका जस्ता गल्ती–कमजोरी नगर्ने’, ‘उपरान्त कोही पनि बाहिर नबोल्ने’, ‘क. सुदर्शनमाथि लगाइएको आरोपको खण्डन गर्ने’ निर्णयको उल्लङ्घन गर्दै सहिद परिवारदेखि कार्यकर्ता र नेतालाई उम्मेदवार बनाउन पहल गर्ने महासचिव र प्रवक्ता स्वयम्ले चुनावका निम्ति मरिमेटेर दौडधूप गर्नेजस्ता गतिविधिबाट निर्णय उल्लङ्घन भएपछि क. कञ्चनको वक्तव्य आएको हो । हामीले पटकपटक महासचिव र सचिवालयलाई पार्टी केन्द्रीय समिति सदस्य र जिल्ला नेतृत्वहरू स्वतन्त्र उम्मेदवार उठ्नु भनेको पार्टी नै चुनावमा होमिनु हो भन्ने कुरा राख्दाराख्दै पनि वास्ता नगरिएपछि क. कञ्चनमार्फत सचिवालयका तर्फबाट १२ औँ बैठकको निर्णय पालन गर्ने साथीहरूलाई उम्मेदवारी फिर्ता लिनका लागि वक्तव्य जारी गर्न बाध्य भएका हौँ । हामीले फिर्ता नलिएमा कारबाही गर्ने कुरै गरेका छैनौँ किनभने साम्यवादी अनुशासन लादिँदैन, बरु त्यो त स्वअनुशासन हो । स्वअनुशासन भएका कमरेडहरूले उम्मेदवारी फिर्ता पनि लिनुभएको छ ।’

    जहाँसम्म मध्यकमान्ड हुँदै क. सुदर्शनसँग सङ्गठनात्मक र आर्थिक मामिलासम्बन्धी सङ्घर्ष परेको थियो भन्ने कुरा छ, त्यो जुनसुकै नियतबाट उठाइएको भए पनि महासचिवले सही कुरा उठाउनुभएको छ । पार्टीको आर्थिक प्रणाली अनुशासित बनाउन हामीले आर्थिक प्रणाली बनाउनुका साथै निश्चित नीति निर्माण गरेका छौँ । त्यस नीतिअन्तर्गत आर्थिक परिचालन हुँदै आएको छ । जहाँसम्म उहाँमाथि आर्थिक अपचलनको विषय उठेको छ, त्यो झूटो आरोप हो भन्ने स्पष्ट छ ।

    यस वक्तव्यमार्फत के स्पष्ट गर्न चाहन्छौँ भने पार्टीजीवनको विगत ७ वर्षसम्म आर्थिक जिम्मेवारीमा रहनुभएका कमरेड प्रकाण्ड र स्वयम् महासचिवलगायत पार्टीको आर्थिक जीवनका बारेमा स्रोत र खर्चको पारदर्शिता आवश्यक छ । क. सुदर्शन र अरू क्रान्तिकारी साथीहरूले सङ्गठनात्मक रूपले मात्र सङ्गठित पार्टी सदस्यहरू मात्र नभएर विचारधारात्मक रूपले पनि सङ्गठित पार्टी सदस्य, जनतासँग घनिष्ट रूपले जोडिएको पार्टी सङ्गठन, सडकछाप बनाइएका पार्टी सदस्य र जवस/मोर्चाका सदस्यहरूलाई सङ्गठनमा आबद्ध गराउने, गल्ती गर्ने पार्टी सदस्य र जवस/मोर्चाका सदस्यहरूलाई उचित तथा प्रक्रियागत कारबाही र रूपान्तरण गर्न सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादको विरोध गरिरहनुभएको थियो भने प्रकाण्डको आचरण यसको विपरीत थियो ।

    क. प्रकाण्डको निषेधात्मक अधिभूतवाद र जुझारु अर्थवादप्रति महासचिवको स्वीकृति रहेको कुरा आज दुई लाइन सङ्घर्षका क्रममा पुष्टि भएको छ । परिणामतः कार्यकर्ताको मूल्याङ्कन नै अर्थवादी दृष्टिकोणले हुन गयो । यसका विरुद्ध लड्दै मध्यकमान्डमा सुदर्शन र क्रान्तिकारी कमरेडहरूले जनतासँग जोडिएको पार्टी, संयुक्त मोर्चा र जनसङ्गठन अघि बढाएको पुरस्कारका रूपमा नै क. सुदर्शन र उहाँको टिम गिरफ्तार भएको कुरा अब उजागर हुँदै गएको छ ।’

    क. सुदर्शनले दाङ, रुकुम र जाजरकोटमा प्रशिक्षण दिँदा स्थानीय निर्वाचनलाई कार्यनीति भनेर र क. कञ्चनले दसौँ बैठकमा शासकीय स्वरूप राष्ट्रपतीय हुनुपर्छ कि ? भनी गरेको तर्कलाई संसदीय बहस भनिएको छ । दसौँ बैठकमा महासचिवले गाउँगाउँमा नामावली सङ्कलनको निर्देशन दिएर संसदीय बहस सुरु गरिसक्नुभएको थियो ।

    ‘पुँजीवाद कि वैज्ञानिक समाजवाद’ शीर्षकको पुस्तिका प्रकाशन गरी उहाँले शान्तिपूर्ण रूपान्तरणको विकल्प प्रस्तुत गर्दै भन्नुभएको छ ‘…नेपालमा प्रायः सबै पार्टीहरू समाजवाद चाहिन्छ भन्ने ठाउँमा पुगेका छन् । कस्तो समाजवाद त्यो फरक विषय छ तर समाजवाद भन्नेमा एकमत छन् । केही वर्ष पहिलेसम्म त्यतिबेला लोकतन्त्र सबैका लागि उच्चारण गर्नुपर्ने शब्द भएजस्तै यति बेला नेपाली राजनीतिले समाजवादलाई सर्वस्वीकार्य बनाइदिएको छ । यसको मतलब हुन्छ आमजनता नै समाजवाद पक्षधर बन्न पुगेका छन् जसको दबाबमा राजावादी, क्षेत्रीयतावादी, संसद्‌वादीदेखि कम्युनिस्टहरूसम्म परेका छन् । जब सबै पार्टी समाजवाद भन्नेमा सहमत छन्, संसद्‌वादबाट समाजवादतिर शान्तिपूर्ण रूपान्तरणको सम्भावना देखापरेको छ ।’

    यो पुस्तिका २०७८ को भदौमा प्रकाशित भएको थियो । यसबाट उहाँले स्पष्ट रूपमा संसद्‌वादतिर आकर्षित भएर नै ‘चुनाव प्रयोग’ मा जाने रणनीति बनाइसक्नुभएको थियो भन्ने बुझिन्छ । सुदर्शनले दाङ, रुकुम र जाजरकोटका प्रशिक्षणहरूमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादसम्बन्धी व्याख्या गर्ने क्रममा चुनावलाई कार्यनीतिका रूपमा व्याख्या गरेको कुरा साँचो हो तर चुनाव आज संसद्‌वादी रणनीति पूरा गर्ने कार्यनीति बनेको छ भनी व्याख्या गरेको पनि साँचो हो । क. कञ्चनले दसौँ बैठकमा मात्र होइन, एघारौँ बैठकमा पनि शासकीय स्वरूप राष्ट्रपतीय हुनुपर्दछ कि भनी उठाएको बहस साँचो हो । यसको अर्थ उहाँले संसदीय पुँजीवादी प्रणालीअन्तर्गतको राष्ट्रपतीय स्वरूप होइन, बरु वैज्ञानिक समाजवादअन्तर्गतको राष्ट्रपतीय स्वरूपको बहस गर्नुभएको हो ।

    क. महासचिव, हामीले हाम्रो गतिविधि १२ औँ बैठकको निर्णयअनुसार गरेका छौँ, बरु तपाईंहरू यो मान्यताबाट चिप्लिँदै गर्दा हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेमावाद, पार्टी सञ्चालनको वैज्ञानिक पद्धति जनवादी केन्द्रीयता, वर्गसङ्घर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवादी क्रान्तिबाट विचलित भएको कुरा दिनको घामजस्तै प्रस्ट छ । हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईंहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो ।

    अब भने तपाईंहरूले हामीलाई १२औँ बैठकले दिएको विचारधारात्मक सर्वोच्चताको मान्यतालाई प्रयोग गर्ने स्थितिमा ल्याइपुर्याउनुभएको छ । हामीले कुनै हालतमा पनि अर्को केन्द्र खडा गरेर वितण्डा मच्चाइरहेका छैनौँ, बरु नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा रहेर नै सांस्कृतिक क्रान्तिको बहस चलाइरहेका छौँ जब कि चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन महासचिवलाई केले प्रेरित गर्यो ? यो चिन्ताको विषय भएको छ ।’

    हामी मालेमावाद, साम्यवादी पद्धति र जनताप्रति विश्वस्त भएर प्रतिक्रान्तिकारी तत्वहरू– दार्शनिक रूपमा सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसद्वादी संशोधनवाद, सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, वर्गसङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिकोणले जुझारु अर्थवादका विरुद्ध लडिरहेका छाैँ । समग्रतः तपाईंको राजनीतिक चरित्रमा जुन प्रकारको वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएको छ, त्यसका विरुद्ध सङ्घर्ष गरेका छौँ ।

    यसर्थ हामीलाई ‘विभिन्न तत्वहरूबाट उक्साइएको’ भन्ने आरोप केवल आरोपकै पराकाष्ठा मात्र हो । हामी इमानदार नेता तथा कार्यकर्ता र जनतालाई यो आरोपबारे छानबिन गरी न्याय गर्न हार्दिक अनुरोध गर्दछाैँ । अतः क. महासचिवले गरेको यो कथित कारबाही खारेज गरिएको छ र उहाँलाई आफ्ना सम्पूर्ण गल्तीहरू सच्याउन आग्रह गरिन्छ । साथै क्रान्तिकारी रूपान्तरणसहितको पार्टी निर्माण गर्न सम्पूर्ण पार्टी समितिहरू, पार्टी सदस्यहरू, जवस तथा मोर्चाहरू, सहिद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू, राजबन्दी तथा उहाँका परिवार सबैमा एकताबद्ध भई पार्टीको झन्डामुनि गोलबन्द हुन आह्वान गर्दछौँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया