• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रकाश सपुतको विवादित गीतबारे बाबुराम भट्टराईले मुख खोले, कसलाई के भने ?

    2.8K
    SHARES



    काठमाडौँ । प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ विवादीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्। भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। \

    माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्।

    माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बताएका छन् । बरु उनले यो गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

    गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र) माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ ।

    यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

    भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले विरोध जनाएका छन्। उनले माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको बताएका छन्।

    ‘`पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’

    त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा संहले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन धम्की दिएकी छन्। उनले जनयुद्ध लडेका महिलाहरुको अपमान गरेको भन्दै सार्वजनिक माफीसमेत माग गरेकी छन्।

    ‘महान जनयुद्धका कारण केही थान मन्त्रीहरु, माननीयहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। सहिद परिवार बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन। कतिपय प्रयत्नहरु सफल हुन सकेका छैनन्। व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन। विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन्,’ उनले नेतृत्वको बचाउ गर्दै लेखेकी छन्।

    उनले व्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी भिडियो निर्माण गर्नु आपत्तिजनक र निन्दनीय भएको उल्लेख गरेकी छन्।

    ‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईँलाई बुझाइरहन नपर्ने हो। जनयुद्ध सहभागी महिलाले तपाईँको पनि स्वतन्त्रता र तपाईँले भोगेको जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो,’ उनले लेखेकी छन्, ‘तिनै दिदिबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको तपाईँको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईँको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ