• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    पत्रकारको चुनावले ओलीलाई सिकाएको सवक

    54.9K
    SHARES



    नेपाल पत्रकार महासंघको चुनाव भर्खरै सकिएको छ । चुनावमा “प्रतिगमन बिरुद्धको लोकतान्त्रिक व्यावसायिक श्रमजीबी पत्रकारको संयुक्त प्यानल”ले केन्द्रसहित देशका अधिकांस प्रदेश र जिल्लामा बिजय प्राप्त गरेको छ । यो चुनावमा पत्रकारहरुले केन्द्रमा दुई वटा प्यानल र प्रदेश तथा जिल्लामा आ-आफ्ना तरिकाले भिन्नाभिन्नै प्यानल बनाएर चुनाव लडेका छन् ।

    एकाध जिल्लामा केपी ओली नेतृत्वको एमाले र माधब नेतृत्वको एमाले निकट पत्रकारहरु मिलेर एलाइन्स बनाए पनि प्राय सबै प्रदेश र जिल्लामा काँग्रेस निकट पत्रकार संगठन प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र माधब निकट चौतारीका साथै त्यसमा विप्लव नेतृत्वको नेकपासँग आस्था राख्ने संस्था क्रान्तिकारी पत्रकार संगठन र केहि साना दल निकटका पत्रकारहरुकाे एलाइन्स बन्यो ।

    अर्कोतिर प्रधानमन्त्री ओली निकट प्रेस चौतारी, राप्रपा निकट मिडिया नेपाल र बाबुराम भट्टराई निकट पत्रकार संगठनका साथै विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार मिलेर एलाइन्स बनाए । विपुल पोख्रेल नेतृत्वको एलाइन्सले आफुलाई “प्रतिगमन बिरुद्धको लोकतान्त्रिक व्यावसायिक श्रमजीबी पत्रकारको संयुक्त प्यानल”का रुपमा अगाडी सार्यो भने उता सरकारी चौतारी सम्बद्ध निर्मला शर्मा नेतृत्वको प्यानालले आफुलाई “प्रगतिशील, व्यावसायिक, समाबेशी राष्ट्रवादी समूह” भनेर प्रचार प्रसार गर्यो ।

    यी दुवै प्यानलले आफुलाई जे भने पनि मतदाताले भने यो चुनावलाई पत्रकारको चुनाव मात्र नभएर राजनीतिक चुनावको कोटीमा राखेर व्याख्या गरेका थिए। यो चुनावमा प्रतिगामी शक्तिको बिजय हुने कि अग्रमगामी शक्तिको बिजय हुने भन्ने बहस ब्यापक बन्यो । आम मतदाता पत्रकारहरुले सरकारी चौतारीको एलाइन्सलाई प्रतिगमनकारी एलाइन्सको संज्ञा दिए भने बिपुल पोख्रेल नेतृत्वको एलाइन्सलाई सापेक्षित अग्रमागी प्यानलका रुपमा बुझ्ने हेर्ने गरी बहस गरे ।

    यसलाई राजनैतिक सैदान्तिक हिसाबले हेर्ने बुझ्नेहरुले काँग्रेस निकट पत्रकार नेतृत्वको एलाइन्सलाई कसरी अग्रगामी मान्न सकिन्छ भन्ने प्रश्न पनि गर्न सक्छन । तर केपी ओलीको असंबैधानिक संसद बिघठनको कदमपछि त्यसकाबिरुद्ध एक भएका राजनीतिक पार्टी र ती पार्टीनिकट भगिनी पत्रकार संगठनहरुको एलाइन्सलाई अग्रगमनकारी एलाइन्स भन्नु जायज हुन्छ ।

    पत्रकारको चुनावका अगाडी एलाइन्सका निम्ति जे जति छलफल बहस र बैठकहरु भए ति सबै छलफल बैठकमा राजनीतिक रुपमै प्रतिगमनका बिरुद्ध एक हुन तयार हुने पत्रकारहरुको एउटा एलाइन्समा बनाएर अगाडी बढ्ने गरि नै भएका थिए । त्यसबिचमा पदिय भागबण्डाका हिसाबले अलिकति कुरा नमिलेको बहाना बनाएर चरम महत्वाकांक्षी केही पत्रकार संगठनहरु एलाइन्सको अन्तिम बिज्ञप्ति तयार पार्दा संगठन र संयोजकको नाम राख्न सहमत भएर पनि हस्ताक्षर नगरी सरकारी चौतारीसँग एलाइन्स गर्न पुगे । उनीहरुले बहाना जे सुकै बनाए पनि मुलतः यो चुनाव प्रवृति र विचार मिल्नेहरुको बिचमा एलाइन्स हुनेगरि भएका कारण राजनीतिक एजेण्डाका हिसाबले त्यस प्रकरको एलाइन्स तयार भएको हो ।

    त्यसरी एलाइन्स हुँदा अन्य राजनीतिक पार्टी निकट पत्रकार संगठन सरकारी चौतारीसँग मिल्न गए पनि विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार भने किन गएको होला ? भन्ने प्रश्न चाही आम मतदाता पत्रकारहरुको बिचमा जब्बर बनेर खडा भएको छ । किन कि उक्त पार्टी अहिलेको संसदीय व्यवस्था र केपी ओलीको कदम दुबैका बिरुद्ध छ । ओलीले संसद विघठन गर्दा पार्टीका महासचिव विप्लवले बिरोध गरेर निकालेको विज्ञप्तिको मसि सुक्न नपाउदै ओली निकट पत्रकार संगठनसँग एलाइन्स गर्न पुग्नु सायद पत्रकार संगठनको नेतृत्व सम्हालेका व्यक्तिले सहि निर्णय गर्न नसक्नुले नै होला ।

    भन्नका निम्ति त संसदीय राजनीतिमा प्रचण्ड, माधव नेपाल, शेर बहादुर देउवा र अन्य शक्तिमा के फरक छ र ? जोसँग एलाइन्स गरे पनि कुरा उस्तै हैन र ? भन्न सकिएला तर अहिलेको नेपाली राजनीतिक समीकरणका हिसाबले त्यो तर्क त्यति राजनीतिक र सैद्धान्तिकक नहुन सक्छ । यस्तो बेला पार्टीका भगिनी संस्थाले आफ्नो पार्टीको राजनीतिक सिद्दान्त, बिचार र तत्कालिन कार्यनीतिलाई असर नगर्ने गरी चुनावी तालमेल गर्नुपर्ने हुन्छ । सबै अवस्थामा मूल नेतृत्वले नै निर्देशन दिने गरी चुनावी तालमेल नहुन सक्छन, त्यस्तो बेला कोही कसैलाई खुसी पार्न केहि नेताहरुले दिने निर्देशनले पार्टीको मूल गतिमा नै धक्का पुग्न सक्छ, त्यसतर्फ ध्यान दिनुपर्ने जरुरी हुन्छ ।

    अहिलेको चुनावी तालमेलले मूल पार्टीको राजनीतिक लाइन नै कतै संसदीय चुनावमा समेत त्यतै तालमेल गरेर जाने हो कि ? भन्ने आशंका पैदा गरिदिन सक्छ । त्यसले आम जनतामा क्रान्तिकारी पार्टी र आन्दोलनप्रति बितृष्णा पैदा गरिदिन सक्छ ! त्यसतर्फ पनि ध्यान दिने कि ? जे होस् नेपालको तरल राजनीतिक अवस्थाकाबीच भएको पत्रकारहरुको यो चुनावले केपी ओलीलाई भने गतिलो सबक नै सिकाएको छ । सरकारी चौतारी इतरका पत्रकारहरुले एलाइन्स गर्दा नै प्रतिगमनका बिरुद्धको मोर्चाका रुपमा एलाइन्सलाई अगाडी सार्ने हिसाबले सहमतिको ड्राफ्ट तयार पारेर चुनावी तालमेलको बिज्ञप्ति जारी गरेका थिए ।

    नेपालमा कुनै पनि संसदीय राजनीतिक पार्टीले गणतन्त्रमा जाने निर्णय नगरेको अवस्थामा सबैभन्दा पहिला नेपाल पत्रकार महासंघले गणतन्त्रमा जाने निर्णय गरेको थियो । त्यस हिसाबले देशको अग्रगामी नागरिक अगुवा संस्था भएका कारणले अहिलेको चुनावमा जाँदा एलाइन्स गर्ने पत्रकारहरुले ओलीको कदमलाई प्रतिगामी कदम मान्ने कि नमान्ने भन्ने बहस भने नगरेका हैनन । त्यसबेला ओलीको कदमलाई प्रतिगामी नमान्नेहरु सानो संख्यामा हुनु र प्रतिगामी मान्नेहरु ११ संगठन ठुलो संख्याका एउटै  एलाइन्समा हुनुले नै ओलीलाई सबक सिकाइदिएको थियो । अहिलेको चुनावको नतिजाले यदि ओलीले एक्लै चुनावमा जाने निर्णय गरेर गए भने एमालेको हालत पनि अहिलेको पत्रकारको चुनावमा जे परिणाम आएको छ त्यस्तै हुने देखिन्छ ।

    एकाध जिल्लामा सरकारी चौतारी निकट पत्रकार पनि बिजयी नभएका भने हैनन्, तर त्यो सानो संख्यामा छ । त्यसो त संसदीय निर्वाचनमा पनि प्रतिगामी शक्तिनिकट केहि व्यक्तिहरु सांसद निर्वाचित भएर नआएका पनि त छैनन् । केही व्यक्तिले आफुलाई सर्बेसर्वा ठान्दा र आफुलाई चरम तानाशाहीको कोटीमा राखेर हठ गर्दा जनताले त्यसलाई कसरी लिन्छन भन्ने अहिलेको पत्रकारको चुनावले देखाएको छ । यो निर्वाचनमा दुवै प्यानलले गरेको प्रचार प्रसारलाइ हेर्ने हो भने पनि सत्ता र केहि शक्तिको पैसाले गरिएको तडक-भडक पनि कम थिएन । काठमाडौँका महंगा होटेलमा गरिएका बैठक छफल र भेटघाट आफैमा खर्चिला त थिए नै ! त्यसमाथि सिंगो प्यानल नै लिएर हवाई यात्रामा देशभर निस्किएका पत्रकारको तडक-भडक नै हारको संकेत थियो ।

    आज भोलीका मतदाता चाहे नागरिक होस् चाहे पत्रकार, तडक भडक मन पराउदैन । बागबजारमा महिनौदेखि होटेल रिजर्ब गरेर बसेका संगठनका दर्जनौ नेताहरुको अस्वाभाविक खानपिन र बसाइबारे पत्रकार मतदाताहरु जानकार नै थिए । त्यसले पनि पत्रकारहरुमा एक पत्रकारको बितृष्णा पैदा गरेको थियो । केहि पत्रकारहरुले निर्वाचन पहिला नै यिनीहरुको रवाफ र तडकभडकलाई गतिलो जवाफ दिनेगरी मतदान गर्नुपर्ने बहस सुरु गरिसकेका थिए । अहिलेको नतिजाले ओलीले के बुझ्नुपर्छ भने राज्यशक्तिको आडमा यदि त्यसरी नै आफुलाई सर्वशक्तिमान ठान्ने र स्वबिचारी बन्दै जाने हो भने जनताले सडकमै ल्याईदिने अबस्था आउन सक्छ ।

    निश्कर्षमा के भन्न सकिन्छ भने अहिलेको बिज्ञान प्रबिधिको युगमा नागरिकहरु मिनेटभरमै विश्व राजनीतिबारे जान्ने र त्यसलाई विश्लेषण गर्न सक्ने भइसकेका छन् । युगौं पुरानो आदर्श र सिद्धान्तको रटानले मात्र नपुग्न सक्छ । समय सापेक्ष निर्णय लिन नसक्दा सिद्दान्तका अक्षर मात्र केलाएर बस्ने र तिनै अक्षरलाई गोडमेल गर्नेले मात्र आम मानिसको परिवर्तनको आकांक्षा नबुझ्न सक्छन । देशको व्यवस्था परिवर्तन गर्न दर्शन ओकलेर मात्र भन्दा पनि सही समयमा सही निर्णय गर्न सक्नुपर्ने हुन्छ ।

    रणनीतिक हिसावले लक्ष टाढा भए पनि त्यसलाई पुरा गर्न कार्यनीतिक हिसाबले सापेक्षित अग्रगामी निर्णय गर्नुपर्ने हुन्छ । सधै आफुलाई केन्द्रमा राखेर निर्णय गर्दा साशकहरुले सर्बनाक हार व्यहोर्नुपर्ने हुन्छ भन्ने सवक पत्रकार महासंघको चुनावले ओलीलाई सिकाइदिएको छ । यसबाट उनले पाठ सिकुन र आगामी दिनमा देश र नागरिकका विरुद्ध थप प्रतिगामी कदम नउठाउन ।

      
    कमल बुढा
    [email protected]

    सञ्चारकेन्द्रका अध्यक्ष समेत रहेका कमल बुढा बाम राजनीतिक बिषयमा विश्लेषण गर्ने र परिवर्तनको पक्षमा कलम चलाउने जनपक्षीय पत्रकार हुन् । उनी दुई दशकदेखि कलम चलाउदै आएका छन् ।

    कमल बुढाबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ