• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    २६ औं जनयुद्ध दिवस र वैकल्पिक सत्ताको प्रश्न

    90K
    SHARES

    हामी यतिबेला महान् जनयुद्धको ऐतिहासिक पहलको ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्न तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्न २६ औँ जनयुद्ध दिवस मनाइरहेका छौँ । यस अवसरमा हामी विश्व सर्वहारा–कम्युनिस्ट मित्रहरू र नेपालका सम्पूर्ण उत्पीडित तथा श्रमजीवी जनसमुदायप्रति विशेष हार्दिक अभिवादन गर्न चाहन्छौँ ।

    नेपालमा दश वर्षको आँधीमय जनयुद्ध महान् ऐतिहासिक परिघटना थियो । केन्द्रीय सत्ताको नजिक–नजिक पुग्नै लाग्दा तत्कालीन माओवादी नेतृत्व प्रचण्डमा भयानक विचलन आयो । यसरी तत्कालीन नेतृत्वमा आएको विचलन र त्यसले पैदा गर्ने विचारहीन, सिद्धान्तहीन र घोर दक्षिणपन्थको खतराबाट जोगाउन र जनताको क्रान्तिकारी विरासतको रक्षा एवम् क्रान्तिकारी कार्यभार पूरा गर्न कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भयो । त्यही नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ति राजनीतिक कार्यदिशाका साथ वैज्ञानिक राज्यसत्ताको स्थापनार्थ यतिबेला नेपालको वर्गसङ्घर्षको यस विशिष्ट विन्दुमा आइपुगेको छ, जसका कारण विश्वभरका उत्पीडित तथा श्रमजीवी जनता उत्साहित भइरहेका छन् भने साम्राज्यवादी तथा सबैखाले प्रतिक्रियावादी–फासिवादीहरू अत्यन्त हतास र आतङ्कित हुन पुगेका छन् ।

    साथै, कम्युनिस्ट–सर्वहारा र साम्राज्यवादी–घरेलु प्रतिक्रिवादको बिचमा प्रत्यक्ष गुत्थमगुत्थ्वा लडाइँ भइरहेको यतिबेला विभिन्न रूपमा जनयुद्ध–माओवादी–माओवादसम्बन्धी विभिन्न बहस भइरहेका छन् । आफ्नो राजनीतिक हैसियत समाप्त हुन लागेको आभास भएपछि प्रचण्डले हतार–हतार आफूले नेतृत्व गरेको पार्टीलाई तत्कालीन एमालेमा विलय गराइदिनुभयो, यद्यपि त्यो पनि यतिबेला महाकलहको रूपमा परिणत भएको छ । हाड–छालाको जोगाउने मनसायका साथ प्रचण्डले जुन कदम चाल्नुभएको थियो, अन्ततः त्यो पनि प्रत्युत्पादक सावित भएको छ । प्रतिक्रियावादीहरूले जनता मारेर, तिनको चिहानमाथि कथित शान्तिको जति माला जपे पनि महान् जनयुद्धले कुनै पनि भगौडालाई शान्तिसँग बस्न नदिने कुरा स्पष्ट नै छ । नेपालमा अब फासिवादी–संशोधनवादीहरूको स्वाङले कोही पनि भ्रममा पर्नेवाला छैनन् ।

    आज महान् जनक्रान्ति, त्यसको नेतृत्वकर्ता र समकालीनताबारे हुने बहसहरू स्वाभाविक छन् । हामीले ती बहसलाई सकारात्मक संश्लेषण गर्न सक्नुपर्दछ । हामीलाई थाहा छ कि कसैको पूजा गरेर वा कसैलाई घृणा थुपारेर मात्र कुनै पनि परिवर्तनकामी अभियान पूरा हुन सक्तैन । देवत्वकरण र राक्षसीकरण दुवै अति हुन् । महान् जनयुद्धको जगमा खडा भएको मालेमावादी सिद्धान्तबाट आलोकित एकीकृत जनक्रान्तिले आज बाह्य कोणबाट आउने प्रहारका विविध रूपहरूलाई निस्तेज तुल्याउँदै अगाडि जानु छ भने आन्तरिक रूपमा विकास हुने गैरकम्युनिस्ट–गैरसर्वहारावर्गीय चिन्तनका विरुद्धमा पनि निर्मम सङ्घर्ष गर्नु छ ।

    यी दुवैका विरुद्धमा हुने निरन्तर सङ्घर्षले मात्र जनताले चाहेको, खोजेको र रोजेको आफ्नै वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्त गर्नेछन् । जनयुद्धको महान् अनुभवद्वारा समृद्ध नेतृत्व र सिङ्गो पार्टी पङ्क्तिले मालेमावादलाई सैद्धान्तिक रूपमा आफ्नो मार्गदर्शक सिद्धान्त जसरी मानेको छ, त्यसको त्यो व्यावहारिक रूपमा पनि आलोकित हुन जरुरी छ । सिद्धान्त मान्नु एउटा कुरा हो, त्यसलाई जीवन–व्यवहारमा उतार्नु महत्वपूर्ण कुरा हो । सिद्धान्त जीवन–व्यवहारमा प्रतिबिम्बित हुनु अनिवार्य छ ।

    कैयौँ विकृति र विसङ्गतिले विश्व कम्युनिस्ट आन्दोलन ऐंजेरुमय भए पनि कम्युनिस्ट सिद्धान्त, विचार र राजनीतिक पार्टीप्रति जनसमुदायको विश्वासधारामा खासै अन्तर आएको छैन । विद्रोह गर्नु जनताको अधिकार हो’, ‘प्रतिक्रियावादी सत्ताका विरुद्ध नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको दिशामा अघि बढौँ’, ‘राज्यसत्ताबाहेक सबै भ्रम हो’ जस्ता क्रान्तिको आधारभूत प्रस्तावनालाई अगाडि सारेर जनयुद्धको थालनी भएको थियो । यही भावसागरमा डुबुल्किँदै दश बर्से जनयुद्धको राप, तापका बिचमा करिब ९ हजार जनताका सुन्दर छोरा–छोरीले आफ्नो रगत बगाएका हुन् । नेपाली धर्तीमा सचेतन ढङ्गले बगाइएको यो रगतको सम्मानार्थ हामीले क्रान्ति, क्रान्तिकारी पार्टी, सौन्दर्य र क्रान्तिकारी विचारलाई बचाउँदै जनक्रान्तिको ऐतिहासिक दायित्व पूरा गर्नु छ ।

    २६औँ जनयुद्ध दिवस मनाइरहँदा हामीले यो कुरा मनन गर्नैपर्दछ कि हामीलाई क्रान्तिकारी आदर्शलाई मार्ने, महान् सहिदी सपना बिर्सने तथा क्रान्तिकारी बिम्बलाई बेवास्ता गर्ने कुरा अस्वीकार्य छ । एकीकृत जनक्रान्तिको कार्यदिशाबाट विचलित हुने, मुक्तिको सपना छोड्दै सुधारवाद र आत्मसमर्पणवाद–सामाजिक फासिवाद अपनाउने, क्रान्ति असम्भव ठान्ने र साम्राज्यवादी शक्तिलाई अपराजेय देखाउने तथा त्यसको अतिशयोक्तिपूर्ण बयान गरी क्रान्तिकारी मन–मस्तिष्कमा भ्रम सिर्जना गरी राष्ट्रिय आत्मसमर्पणवादी बाटो पक्रने, दासता र दलाली गर्नेहरूप्रति हाम्रो घोर असहमति छ ।

    साम्राज्यवादी एवम् प्रभुत्ववादी शक्तिहरू नेपालका क्रान्तिकारी शक्तिहरूलाई घेराबन्दीमा पार्ने गुरुयोजनामा छन् । नेपालको क्रान्तिकारी राजनीतिमा दक्षिणपन्थी नवसंशोधनवादसित सम्बन्ध–विच्छेद गर्नु सामान्य कुरा थिएन । विचारबाट च्युत हुन खोज्ने, सिद्धान्त नै फेर्न खोज्ने, क्रान्तिलाई तिलाञ्जली दिन खोज्नेजस्ता क्रियाकलाप देश र जनताप्रति ठूलो बेइमानी हो । हामी कसैलाई पनि शङ्कावादमा फस्ने सुविधा प्राप्त छैन । इतिहासको खास–खास बेलामा विद्रोह अधिकार बन्छ र बुर्जुवा हेडक्वार्टरमा बमवर्षा गर्ने माओको निर्देशनको पालना आवश्यक बन्छ । हजारौँ सहिदहरूका रगत, लाखौँ जनताको मिहिनेत र श्रम, त्याग, तपस्या र बलिदान मिसिएको कुरा बिर्सन मिल्दैन । क्षणिक स्वार्थको लागि महान् चीजहरू त्याग्न तयार हुनु गम्भीर वैचारिक विचलनको परिचायक हो । यस्तो परिस्थितिका बिच मालेमावादी सिद्धान्तलाई मान्नेहरूभित्र गम्भीर रूपमा बहसमा चलाउन आवश्यक हुन्छ ।

    हामीलाई थाहा छ, पार्टी–जीवनका अनेकौँ अन्तरसङ्घर्षबाट खारिएका नेता–कार्यकर्तालाई आमूल परिवर्तनको ढोका खोल्न त्यति बल लगाइरहनुपर्दैन । समकालीन नेपाली राजनीतिमा असली क्रान्तिकारी परिवर्तनका संवाहक कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मात्रै हो । नेपाल कम्युनिस्ट पार्टीसित महान् नेपाली जनता, क्रान्तिकारी अजेय शक्तिको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद छ । वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टीभित्र र बाहिर रहेका पुँजीपन्थीहरूलाई सखाप पारेर मात्र कम्युनिस्ट–सर्वहाराले राज्यसत्तामाथि निर्णायक विजय प्राप्त गर्न सक्नेछन् ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो जीवनमा वस्तुगत परिस्थितिका आधारमा नयाँ जनशैलीको विकास गरेर मात्र सामूहिक प्रणालीको उन्नयन गर्न सक्दछ । महान् दश बर्से जनयुद्धमार्फत् राजतन्त्रलाई अन्त्य निरन्तर अघि बढिरहेको यो शक्तिको अगाडि कार्यभारका अनेकौँ चाङ छन् । राज्यको पुनर्संरचना गर्नु, सदियौँदेखि कायम रहँदै आएको एकात्मक शासन प्रणालीको अन्त्य गरेर स्वायत्त गणराज्यसहितको जनताको सङ्घीय गणतन्त्रात्मक वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नु र जातीय लैङ्गिक, वर्गीय र क्षेत्रीय विभेदहरूलाई अन्त्य गर्दै समानतामूलक समाजको निर्माण गर्नुका साथै, जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गिक दृष्टिकोणले पछाडि पारिँदै आएका सिमान्तकृत एवम् पहुँचविहीन समुदायलाई राज्यको माथिल्लो निकायमा पु¥याउन र जनतालाई सार्वभौमसत्ता सम्पन्न तुल्याउँदै देशको वास्तविक मालिक बनाउनका निम्ति एकीकृत जनक्रान्ति पूरा गर्नु हाम्रोअघि खडा भएका कार्यभार हुन् । माओले भन्नुभएको छ, “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ, क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीबिना, साम्राज्यवाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।”

    यस्तो साहसिलो पार्टी, जसले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहाराको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानबाट जोगिएर र जोगाएर अगाडि बढ्न सक्छ । हामीले साम्राज्यवादको तख्ता पल्टाउन र कम्युनिस्ट–सर्वहारा अधिनायकत्व कायम गर्न सक्ने पार्टी बनाउनुपर्दछ । प्रचण्ड–बाबुरामहरूले जनयुद्धको उच्चारणसमेत गर्न छोडे पनि जनयुद्ध विस्मृत विषय हुन सक्तैन । २५ वर्षअघि अर्थात् १ फागुन, २०५२ का दिन नेपाली धर्तीमा महान् जनयुद्धको थालनी भएको थियो । सामन्तवाद र साम्राज्यवादलाई नेपाली धर्तीबाट बढार्दै जनगणतन्त्र नेपालको स्थापनाबिना उठाइएका हतियार बिसाइयो भने त्यो नेपाली जनता र विश्वभरकै श्रमजीवी वर्गप्रति विश्वासघात, धोका र बेइमानी हुनेछ, त्यसैले अन्तसम्म लैजाने दृढताबिना हतियार उठाउनु अपराध हुनेछ भन्ने प्रतिबद्धताका साथ नेपाली जनयुद्धको सुरुआत भएयता नेपाली श्रमजीवी वर्ग तथा उत्पीडित र क्रान्तिकारी जनताले हरेक वर्षको फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् ।

    जनयुद्धको उत्तराद्र्ध हुँदै अलि पछिसम्म नेपाली राजनीति तीव्र रूपमा विभिन्न विशेषतासहित अघि बढ्यो । खासगरी, नेपाली राजनीतिमा ७ मङ्सिर, २०६२ मा सम्पन्न १२ बुँदे समझदारीयता संयुक्त जनआन्दोलन (२०६२÷६३), विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको पहिलो र दोस्रो निर्वाचन, प्रचण्डमा आएको भयानक विचलन र माओवादी पार्टीमा भएको विभाजन, क्रान्तिकारी पार्टीको पुनर्गठनजस्ता अनेकन् राजनीतिक घटनाक्रम धेरै अघि बढेका छन् । संस्थागत निर्णयविपरीत गिरिजाप्रसाद कोइराला र प्रचण्डद्वारा हस्ताक्षरित विस्तृत शान्ति सम्झौतामार्फत् जनयुद्धको अन्त्यको घोषणा गरिएको थियो, जुन नितान्त अवैधानिक र अनैतिक थियो । झन् २०७५ साल फागुन २८ गते केपी ओलीले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेपालको राजनीतिले झन् नयाँ मोड लिन पुगेको थियो । त्यसपछिका ओली सरकारको अनैतिक र अराजनीतिक ज्यादतीको झन् के कुरा गर्नू ! यतिबेला हामीले सगौरव भन्नुपरेको– जनयुद्ध महान् थियो, महान् छ र महान् रहिरहनेछ । आज पनि दश बर्से जनयुद्धमार्फत् जनताका आधारभूत एजेन्डाको सम्बोधन भएकै छैन । नेपाली क्रान्तिको वर्तमानमा दृढसङ्कल्प र एकताबद्धताका साथ एकपटक फेरि जगत् थर्कनेगरी एकीकृत जनक्रान्तिमा होमिँदै सामन्तवाद र साम्राज्यवादलाई पराजित गरी वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशामा अघि बढ्नुपरेको छ ।

    कथित मुर्दा शान्तिको नाममा क्रान्ति, सङ्घर्ष वा विद्रोहको विकल्प सामाजिक फासिवादी दलाल पुँजीवादी राज्यसत्ता हुनै सक्तैन । नेपालमा २१ औँ शताब्दीको प्रतिक्रान्ति रोक्ने जनमुक्ति सेनाको विघटन कसले ग¥यो ? प्रचण्ड–बाबुरामले क्यान्टोनमेन्टभित्र नेपाली सेना परिचालन गरिरहँदा जनमुक्ति सेनाको सानो हिस्साबाहेक ठूलो हिस्साले किन विद्रोहको झन्डा बोक्न सकेन ? यी सवाल अवश्य पनि निकै गम्भीर र पेचिला छन् । वर्गीय समाजमा सबै कुरा वर्गीय नै हुन्छन् भनेझैँ जनबैरीका लािग जनयुद्ध दिवस आतङ्कको विषय हुन सक्ला तर मुक्तिकामी जनताका लागि फागुन १ अर्थात् जनयुद्ध दिवस हर्ष, उल्लास र उत्प्रेरणाको दिन हो । यो नेपाली जनताले माओवादीको नेतृत्वमा नयाँ उद्घोषका साथ हतियार उठाएको दिन हो । यसको इतिहास विद्रोह, बलिदान, त्याग र आत्मोत्सर्गको समष्टिमूल्यको रूपमा निर्माण भएको छ । महान् ध्वंस र महान् निर्माणको ऐतिहासिकतासित गाँसिएको जनयुद्ध वास्तवमा महान् छ ।

    महान् जनयुद्ध सामन्तवाद र साम्राज्यवाद–विस्तारवादका विरुद्ध नेपालमा क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि प्रारम्भ गरिएको थियो । दश वर्षको अवधिमा यस महान् जनयुद्धले रणनीतिक रक्षा र सन्तुलनको चरण पार गरी प्रत्याक्रमणको चरणमा प्रवेश गरेको थियो । यस अवधिमा सात डिभिजनसम्म जनमुक्ति सेनाको निर्माण भएको थियो । देशका असी प्रतिशत विशाल भू–भागमा आधार इलाका र जनसरकारहरू बनेका थिए । त्यहाँ जनता आफैँले नयाँ सत्ताको अभ्यास गरेका थिए । नयाँ संस्कृति क्रमशः विकास हुँदै थियो । यसैबिच प्रचण्डलगायतको एउटा समूहमा गम्भीर प्रकारको दक्षिणपन्थी संशोधनवादी विचलन आयो, जसका कारण देशी तथा विदेशी प्रतिक्रियावादीहरूसित निर्लज्ज साँठगाँठ तथा आत्मसमर्पण गरी महान् जनयुद्धको विसर्जन गरियो ।

    देशी–विदेशी प्रतिक्रिया सत्ताका अगाडि लम्पसार पर्दै प्रचण्ड–बाबुरामहरूले सडकबिचमा अलपत्र छोडेको रातो झन्डालाई विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिको रातो झन्डा उठाउनु सामान्य परिघटना थिएन । यस अवसरमा हामी सगौरव भन्न चाहन्छौँ– कमरेड विप्लव र उहाँको नेतृत्वमा रहेको सिङ्गो नेतृत्व पङ्क्तिलाई लाल सलाम ! यस महान् ऐतिहासिक दिवसको अवसरमा उत्पीडित जनसमुदाय र सर्वहारा वर्गको मुक्तिका लागि एकीकृत जनक्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद–साम्यवादको दिशामा अगाडि बढ्नका लागि प्रतिबद्धता जाहेर गर्नैपर्दछ । बाटो जति कठिन भए पनि इतिहासको अग्रगतिलाई रोक्ने आजसम्म कोही जन्मिएकै छैन । यतिबेला सामाजिक फासिवादी ओलीको नेतृत्वमा रहेको सरकार चौतर्फी असफल र बद्नाम हुँदै गइरहेको छ भने अर्कोतिर एकीकृत जनक्रान्तिका साथ जनताको सङ्घर्षको आयाम अझ व्यापक बन्दै गएको छ । रणनीतिक संयुक्त मोर्चा त्यसैको पछिल्लो कडी हो । यसर्थ आउनुहोस्, महान् जनयुद्धको भावधारासित एकीकृत जनक्रान्ति जोडौँ, महान् मुक्तिकामी सपना साकार पार्न जनक्रान्तिको महासमरमा हेलिँदै २६ औँ जनयुद्ध दिवस मनाऔँ ।

    प्रतिक्रिया