काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै लुम्बिनीले प्रतियोगितामा अपराजित यात्रा कायम राखेको हो ।
पोखराले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । यस जितसँगै लुम्बिनीले ३ खेलबाट ५ अंक जोडेको छ ।
लिगको अंकतालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनी जारी सिजन हालसम्म हार बेहोर्न नपाउने एक्लो टोली बनेको छ । अर्कोतर्फ पोखराको खराब प्रदर्शनले निरन्तरता पाएको छ । लगातार तीन खेलमा पराजित पोखरा अंकविहीन रहँदै तालिकाको अन्तिम स्थानमा छ ।
लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले अविजित ४७ रन बनाए । विकेटकिपर निरोशन डिकवेलाले पनि २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट २७ रनको योगदान दिए ।
यी दुईबीच तेस्रो विकेटका लागि भएको अविजित ७७ रनको साझेदारीले लुम्बिनीलाई सहज जित दिलायो । त्यसअघि ओपनर डार्सी सर्ट १३ र आसिफ शेख ९ रन बनाएर पवेलियन फर्किएका थिए । पोखराका बिपिन खत्रीले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।
पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन जोडे । उनले १७ बलमा २ छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाए ।
अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । यस सिजनको पहिलो खेल खेलेका अर्जुन कुमाल खाता नखोल्दै आउट भए । सदारा समिराविक्रमाले ७, अर्जुन घर्तीले ६, शकिब अल हसनले ३ तथा बिपिन आचार्यले १ रन बनाए । बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले प्रभावशाली बलिङ गरे । उनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।
तिलक भण्डारीले ४ ओभरमा २२ रन दिँदै २ विकेट हात पारे । त्यस्तै शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान एक विकेट लिए ।
कमजोर ब्याटिङका कारण सामान्य लक्ष्यमा सीमित बनेको पोखराले लुम्बिनीको सशक्त ब्याटिङसामु खेलमा फर्कने अवसर पाएन । लुम्बिनीले सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ ।
प्रतिक्रिया