काठमाडौं । सन् २०२७ मा हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रक्रियाअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
प्लेअफमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को तालिकामा पुछारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टिम सहभागी हुनेछन्।
प्लेअफबाट उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। उक्त विश्वकप दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुँदैछ।
प्रतियोगितामा सहभागी हुने आठमध्ये हालसम्म छ टोलीको टुङ्गो लागिसकेको छ। नेपाल, क्यानडा र यूएई विश्वकप लिग–२ को अन्तिम चारमा पर्ने निश्चित भएको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।
च्यालेन्ज लिग ‘ए’ बाट जर्सीको सहभागिता निश्चित भइसकेको छ भने कुवेतको स्थान पनि लगभग पक्का भएको छ। यद्यपि, केही खेल बाँकी रहेकाले कुवेतको सहभागिताबारे औपचारिक घोषणा हुन बाँकी छ।
लिग–२ बाट प्लेअफमा पुग्ने अर्को टोलीको टुङ्गो पनि लाग्न बाँकी छ। ओमान र नामिबियामध्ये एक टोलीले उक्त स्थान हासिल गर्नेछ। बाँकी टोलीको टुङ्गो लागेसँगै प्लेअफमा प्रतिस्पर्धा गर्ने आठै टिमको सूची पूरा हुनेछ।
नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा खेल्ने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।
क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका निर्धारण गरिनेछ। संशोधित तालिका दुवै पक्षको सहमतिपछि सार्वजनिक गरिने जनाइएको छ।
प्रतिक्रिया