महेन्द्रनगर । नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषधको अवैध कारोबार र हतियार तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित नियमित सुरक्षा जाँच सुरु गरेको छ।
चाडपर्वलाई मात्र नभई स्थायी सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सशस्त्र प्रहरी बलले गड्डाचौकीस्थित सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ स्थापना गरेर शनिबार बिहानदेखि चेकजाँच थालेको हो।
सशस्त्र प्रहरी बल नं. ३५ शैलेश्वरी गणका गणपति (सशस्त्र प्रहरी उपरीक्षक) प्रेमप्रकाश सिग्देलका अनुसार देशका चार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा सञ्चालनमा आइसकेका छन्। गड्डाचौकीमा खोलिएको यो शाखा सशस्त्र प्रहरीको देशभरकै पाँचौँ र सुदूरपश्चिम प्रदेशको पहिलो केनाइन युनिट हो।
‘अल्फा’ र ‘डेल्टा’ले गर्नेछन् सीमाको निगरानी
नयाँ स्थापित शाखामा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा ५ जना दक्ष जनशक्ति र दुई वटा तालिमप्राप्त कुकुर खटाइएको छ । जस अन्तर्गत सीमानाकामा हुनसक्ने लागूऔषध ओसारपसार नियन्त्रण र खोजतलासका लागि अल्फाले निगरानी गर्नेछ भने हातहतियार तथा विस्फोटक पदार्थको खोजी एवं चेकजाँचका लागि डेल्टाले ड्युटी गर्नेछ ।
प्रतिक्रिया