काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उदघाटन हुँदैछ । महाधिवेशनको बन्दसत्र पनि भोलि र पर्सि खुलामञ्चमै हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने कांग्रेसको तयारी छ ।
बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब ३ हजार प्रतिनिधि अट्ने गरी तीनवटा हल तयार पारिएको नेपाली कांग्रेसले जनाएको छ । बन्दसत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड समेत राखिएको छ ।
एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरुले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
यस व्यवस्थाले ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सकिने कांग्रेसको अपेक्षा छ ।
प्रतिक्रिया