• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस महामन्त्रीमा डा. सन्तोष उपाध्यायको उम्मेदवारी घोषणा

    335
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीमा युवा नेतृत्वको भूमिका विस्तार गर्दै संगठनलाई समयानुकूल बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन्।

    उपाध्यायका अनुसार कांग्रेसमा नयाँ पुस्ताको अपेक्षा नेतृत्व परिवर्तनमा मात्र सीमित छैन। युवाहरूले पार्टीभित्र नयाँ सोच, पारदर्शी कार्यशैली, जवाफदेहिता र समयसापेक्ष निर्णय प्रक्रियासमेत खोजिरहेका छन्। बदलिँदो सामाजिक परिवेश र जनताको भावनालाई सम्बोधन गर्दै पार्टीलाई थप सक्रिय र जनमुखी बनाउनुपर्ने उनको धारणा छ।

    पार्टीभित्र क्षमता, अनुभव र संगठनसम्बन्धी ज्ञान भएका युवा नेताहरू रहे पनि उनीहरूले पर्याप्त अवसर र जिम्मेवारी पाउन नसकेको उपाध्यायको भनाइ छ। व्यक्तिसँगको निकटता वा नेताको प्रशंसाभन्दा योग्यता, योगदान र जनतासँगको सम्बन्धलाई अवसरको आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

    कांग्रेसभित्र फरक विचार राख्ने, नेतृत्वसँग प्रश्न गर्न सक्ने र स्वतन्त्र रूपमा काम गर्न चाहने युवालाई पनि समान अवसर दिनुपर्ने उनले बताएका छन्। पार्टीमा लोकतान्त्रिक अभ्यास र विचारको विविधतालाई व्यवहारमै स्थापित गर्नुपर्ने उनको भनाइ छ।

    चिकित्सा क्षेत्रमा अध्ययन गरेका उपाध्यायले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका छन्। उनले अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा क्षेत्रको नेतृत्वसम्बन्धी अध्ययनसमेत गरेका छन्। अध्ययनसँगै उनी सामाजिक सेवाका गतिविधिमा पनि संलग्न रहँदै आएका छन्।

    खेलकुद व्यवस्थापनको क्षेत्रमा समेत सक्रिय उपाध्याय नेपाल भलिबल लिगमा कार्यकारी निर्देशक तथा सह–मालिकका रूपमा आबद्ध छन्। यसबाहेक विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको विवरण पनि उनले सार्वजनिक गरेका छन्।

    महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यायले युवा सहभागिता, योग्यतामा आधारित अवसर र पार्टीको कार्यशैलीमा सुधारलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ