• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुरु भयो नेपाली नारीको महान् पर्व हरितालिका तीज, आज दर खाइँदै

    232
    SHARES



    काठमाडौँ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) आजदेखि सुरु भएको छ । जसअन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ ।

    विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान छ ।

    तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ ।

    आइतबार दर खाएपछि सुरु हुने यो पर्व ऋषि पञ्चमीका दिनसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बसिन्छ भने चौथीका दिन गणेश पूजा गरिन्छ । यस वर्ष भदौ ३० गते मङ्गलबार बिहान गणेश चौथी र सोही दिन मध्याह्नकालमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजाआजा गरेर ऋषि पञ्चमी पर्व मनाइने समितिद्वारा स्वीकृत पात्रोमा उल्लेख छ ।

    सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन् । तर पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरेर (लुकाएर) कसैले नदेख्ने ठाउँमा पुर्‍याएका थिए । सोही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ ।

    साथीहरूद्वारा हरण गरिएकी हुनाले यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्मशास्त्रीय मान्यता छ । तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बर्तालु महिलाहरूको ठुलो भीड लाग्ने गर्दछ । तीजको सुरुआतसँगै नेपाली समाजमा चाडपर्वको उल्लासमय वातावरण छाएको छ र यस लगत्तै बडादसैँ तथा तिहारजस्ता ठुला पर्वहरू सुरु हुने गर्दछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ