• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भोटेकोशी र त्रिशुली नदीमा बाढीको उच्च जोखिम कायमै : बाढी पूर्वानुमान महाशाखा

    117
    SHARES



    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली तथा स-साना नदीहरुमा आकस्मिक बाढीको ‘उच्च सम्भावना’ रहेको जनाएको छ। महाशाखाले आज बिहान प्रकाशित गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार यी दुई जिल्लामा बाढीको उच्च जोखिम देखिएको हो।

    यसैगरी देशका अन्य तीन दर्जनभन्दा बढी जिल्लाका स-साना नदीमा पनि बाढीको मध्यम जोखिम रहेको विवरण सार्वजनिक भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तलै छ।

    यद्यपि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै रहेको छ।

    आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरुको जलसतह भने उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान छ। महाशाखाको विवरण अनुसार कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई बेसिनका नदीहरुमा बहाव उल्लेख्य बढ्नेछ।

    नारायणी बेसिन अन्तर्गत पर्ने त्रिशुली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह उल्लेख्य बढेर जोखिमको तहमा पुग्न सक्ने अनुमान छ। यसैगरी बुढीगण्डकी, मर्स्याङ्दी र सेती नदीमा पनि बहाव बढ्ने भएकाले सतर्क रहन सुझाइएको छ।

    आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङमा आकस्मिक बाढीको मध्यम जोखिम छ। त्यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढेर ‘फ्ल्यास फ्लड’ आउन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

    भोलि पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने सम्भावना छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ