• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    रसुवा बाढीपीडितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा

    268
    SHARES



    काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

    अष्ट्रेलियाली सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता परिचालन गरिने जनाएको हो ।

    बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट अलग रहेको र प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भइरहेको अष्ट्रेलियाले जनाएको छ । यस्तो अवस्थामा तत्काल मानवीय सहायता आवश्यक रहेको उसको भनाइ छ ।

    तीन सदस्यीय मानवीय सहायता टोली नेपाल आउँदै

    अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने जनाएको छ । टोलीले काठमाडौंमा रहेका अष्ट्रेलियाली अधिकारीसँग समन्वय गर्दै बाढी प्रभावित क्षेत्रको मानवीय अवस्थाको मूल्यांकन, राहत व्यवस्थापन, सञ्चार तथा आगामी राहत योजनामा सहयोग गर्नेछ ।

    ‘अष्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत परिचालन हुने उक्त टोलीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनसम्बन्धी विशेषज्ञहरू रहनेछन् ।

    यसैबीच, अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकको अवस्थाबारे पनि चासो व्यक्त गरेको छ । बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको अष्ट्रेलियाली सरकारको विज्ञप्तिमा उल्लेख छ ।

    बेपत्ता नागरिकको अवस्था यकिन गर्न तथा प्रभावित अष्ट्रेलियाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी परिचालन गरेको छ । नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका सदस्य र क्षेत्रीय कन्सुलर अधिकारीलाई काठमाडौंमा परिचालन गरिएको छ ।

    राहत रकम कहाँ खर्च हुनेछ ?

    अष्ट्रेलियाले घोषणा गरेको ५० लाख अष्ट्रेलियन डलर सहायता स्थापित साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवाजस्ता अत्यावश्यक क्षेत्रमा खर्च गरिने जनाएको छ ।

    सहायतामध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रम (WFP) लाई उपलब्ध गराइनेछ । उक्त रकममार्फत बाढी प्रभावितका लागि खाद्यान्न तथा आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराइनेछ ।

    त्यस्तै, २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरशिप मार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थालाई उपलब्ध गराइनेछ । यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ ।

    बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्स मार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा परिचालन गरिनेछ ।

    अष्ट्रेलियाले बाढीबाट प्रभावित नेपाली समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत सहयोग गर्ने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ