काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै संलग्न व्यक्तिको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि शवबाट गहना निकालिएको घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविकता तथा अन्य व्यक्ति संलग्न भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन तथा पहिचानको संवेदनशील अवस्थामा शवबाट गहना निकाल्ने कार्यप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको हो।
प्रतिक्रिया