• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    नेपाल–चीन सीमा क्षेत्रमा ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्ने चीनको चेतावनी

    467
    SHARES



    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भीषण पहिरोका कारण नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुट्न सक्ने जोखिम बढेको भन्दै चीनले उच्च सतर्कता अपनाएको छ।

    चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक ठूलो ‘ब्यारियर लेक’ बनेको छ। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने पानी तालबाट बाहिरिनसमेत थालेको छ।

    चिनियाँ अधिकारीहरूले आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरेका छन्। पानीको मात्रा निरन्तर बढेमा प्राकृतिक बाँध भत्किएर एक्कासि ठूलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको जनाइएको छ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत अधिकारीहरूले तालको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। ताल फुटेमा बाढी कुन क्षेत्रमा कति प्रभाव पार्न सक्छ भन्ने आकलन गर्न बाढीको सिमुलेसन तथा जोखिम विश्लेषणसमेत भइरहेको छ। सम्भावित आपत्कालीन अवस्थाका लागि उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ।

    केरुङ बन्दरगाहसम्म बाढीको प्रभाव

    नेपालतर्फको सीमा क्षेत्रमा गएको भीषण पहिरो र त्यसबाट उत्पन्न बाढीको प्रभाव चीनको तिब्बत स्वायत्त क्षेत्रको क्यिरोङ (केरुङ) बन्दरगाह क्षेत्रमा समेत परेको छ।

    विपद्पछि चिनियाँ पक्षले उद्धार तथा राहत अभियानलाई तीव्र बनाएको छ। चिनियाँ जनमुक्ति सेना, उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार क्षेत्रका कर्मचारी तथा राहत संस्थाहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। आवश्यक जनशक्ति, विमान, उद्धार उपकरण तथा राहत सामग्री घटनास्थलतर्फ पठाइएको जनाइएको छ।

    उद्धार अभियान कठिन भौगोलिक अवस्था, लगातारको वर्षा तथा थप पहिरो र अन्य प्राकृतिक विपद्को जोखिमबीच सञ्चालन भइरहेको छ। नेपालतर्फ पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ।

    चीनतर्फ ५५८ जना बेपत्ता

    चिनियाँ अधिकारीहरूका अनुसार बिहीबार बिहानसम्म विपद्मा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ। चीनतर्फ अझै ५५८ जना बेपत्ता रहेको जनाइएको छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ।

    नेपालमा मृतकको संख्या २७० पुग्यो

    यता नेपालमा भोटेकोसी तथा त्यससँग जोडिएको बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या २७० पुगेको जनाइएको छ। नेपाल प्रहरीले विभिन्न जिल्लाबाट संकलन गरेको विवरणअनुसार चितवनमा १०८, पूर्वी नवलपरासीमा ६२, धादिङमा २७, पश्चिम नवलपरासीमा १५, गोरखामा २०, रसुवामा १७, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ।

    बाढी तथा पहिरोमा घाइते भएकामध्ये ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। उपचाररतमा त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जना रहेको विवरणमा उल्लेख छ।

    नेपाल-चीन सीमा क्षेत्रमा प्राकृतिक बाँधका रूपमा बनेको तालको पानीको सतह अझै बढिरहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा तथा उद्धार निकायले उच्च सतर्कता अपनाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ