• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढी अपडेट : ३८४ पर्यटक तथा पदयात्री अझै सम्पर्कविहीन

    253
    SHARES



    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

    सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली रहेको बोर्डले जनाएको छ। बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि त्यस क्षेत्रमा रहेका पर्यटक तथा पदयात्री प्रभावित भएका हुन्।

    प्रारम्भिक विवरणअनुसार विभिन्न ट्रेकिङ तथा ट्राभल एजेन्सीमार्फत रसुवा पुगेका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्। ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जनाको अवस्था अज्ञात रहेको बताइएको छ।

    त्यस्तै, लिफ होलिडेबाट गएका ५५ जना तथा हिमालयन ग्लेशियरमार्फत गएका ५२ जना पनि सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। अन्य केही ट्रेकिङ तथा ट्राभल कम्पनीबाट गएका पर्यटकको विवरणसमेत संकलन भइरहेको छ।

    सम्पर्कविहीन विदेशी नागरिकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकालगायत विभिन्न देशका नागरिक रहेका छन्। केही व्यक्तिको राष्ट्रियता भने अझै खुल्न बाँकी रहेको पर्यटन बोर्डले जनाएको छ।

    पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा ट्रेकिङ गाइडहरूबीच समन्वय गरी खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। बोर्डले प्राप्त विवरणहरू रुजु गर्ने र प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको वास्तविक अवस्था पत्ता लगाउने कामलाई तीव्रता दिएको जनाएको छ।

    बाढीका कारण रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण आए पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ