काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीसहित यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि जलसतह सामान्य अवस्थामा नै रहेको छ।
ठुला नदीहरूमा बाढीको जोखिम नदेखिए पनि साना नदीहरूमा भने बहाव बढ्ने सम्भावना छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने साना नदीहरूमा बिहीबार बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
यसका साथै गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने साना नदीहरूमा पनि बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
मौसममा आउने परिवर्तनका कारण आगामी दिनहरूमा पनि बाढीको जोखिम कायमै रहनेछ। शुक्रबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।
त्यसैगरी शनिबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा जलसतह अकस्मात् बढ्न सक्ने अनुमान गरिएको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया