काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।
बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले यस्तो अप्रत्याशित कदम चालेका हुन् ।
उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रत्यक्षदर्शी र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनास्थलमा रहेका प्रहरी टोलीले तत्कालै उद्धार गरी उनलाई उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याएको थियो । हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग जलेका छन् ।
उनी हाल हल्का बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया