मेक्सिको सिटी । ४८ टोली सहभागी भएको विश्वकप फुटबलको इतिहासकै सबैभन्दा ठूलो संस्करण आयोजक मेक्सिकोको प्रभावशाली जितसँगै सुरु भएको छ। एस्टाडियो एजटेकामा बिहीबार भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै सुखद सुरुआत गरेको हो।
मेक्सिकोका लागि जुलियन क्विनोन्सले नवौँ मिनेटमा विश्वकपको पहिलो गोल गरे भने ३५ वर्षीय राउल जिमेनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे। तीन फरक विश्वकप संस्करणका खेल आयोजना गर्ने विश्वकै पहिलो रङ्गशाला बनेको एजटेकामा घरेलु समर्थकहरूको उत्साह उल्लेखनीय थियो।
खेल निकै प्रतिस्पर्धात्मक रह्यो। दक्षिण अफ्रिकाका स्फेफेलो सिथो र मेक्सिकोका सेजर मोन्टेससहित तीन खेलाडीले रातो कार्ड पाए। जितपछि मेक्सिकोका प्रशिक्षक जेभियर अगुइरेले उद्घाटन खेलको दबाब खेलाडीहरूमा स्पष्ट देखिएको बताए।
मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप जुलाई १९ मा न्युजर्सीमा हुने फाइनलसम्म चल्नेछ। पहिलो पटक ४८ टोली सहभागी भएकाले प्रतियोगिता अघिल्ला संस्करणभन्दा ठूलो बनेको छ।
उद्घाटन समारोहमा गायिका शाकिरा, नाइजेरियाली कलाकार बर्ना ब्वाई र इटालीका टेनर एन्ड्रिया बोसेलीले प्रस्तुति दिएका थिए। रङ्गशालाबाहिर केही प्रदर्शन र प्रहरीसँग सामान्य झडपसमेत भएको जनाइएको छ।
प्रतियोगितासँगै टिकट मूल्य, अमेरिकी आप्रवासन नीति तथा केही टोलीको सहभागितासम्बन्धी विवादहरू पनि चर्चामा रहेका छन्। विश्वकपको उपाधि दाबेदार टोलीमा स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई हेरिएको छ भने साविक विजेता अर्जेन्टिना कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यमा छ।
प्रतिक्रिया