काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक भएको छ ।
उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो।
रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी जम्मा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए।
गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो। छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया