काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कार्यकर्ताहरू पुन: जागरुक हुनुपर्ने बताए । नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी पनि गरे ।
सिटौलाले राज्य सञ्चालनका प्रमुख अङ्गहरू—न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायतका गतिविधिहरू सन्तोषजनक नरहेको आंल्याए ।
पार्टीको इतिहास स्मरण गर्दै नेता सिटौलाले वि.सं. २००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको नेतृत्वदायी भूमिकाको चर्चा पनि उनले गरे ।
‘अहिले देशको राजनीतिक वृत्तको सूक्ष्म अवलोकन गर्ने हो भने नेपालको राजनीति ठिक ढङ्गले अगाडि बढिरहेको छैन । त्यसैले संविधान र लोकतन्त्र जोगाउन कांग्रेस कार्यकर्ताहरूले पुन: एकीकृत भएर नयाँ मार्गचित्र (रोडम्याप) निर्माण गर्नुपर्ने आवश्यकता छ । २००७ सालको क्रान्ति नेपालको आधुनिक युगको प्रादुर्भाव हो,’ उनले भने ।
तराइकै क्रान्तिको बलमा नेपालमा प्रजातन्त्रको उदय भएको र जनताले ‘रैती’ बाट ‘नागरिक’ को पहिचान पाएको उनको भनाइ छ ।
‘तत्कालीन नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग नै आज हाम्रो प्रेरणाको स्रोत हो । संविधान संशोधन हुनसक्छ तर यसको समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाइनुपर्छ,’ सिटौलाले भने ।
प्रतिक्रिया