• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    वाम आन्दोलनको पुरानै रोग, सानै पार्टीभित्र यति ठुलो लफडा

    294
    SHARES



    काठमाडौं । नेपालका वामपन्थी दलहरूमा बारम्बार देखिने आन्तरिक संघर्ष र विभाजनको रोग अहिले समाजवादी कम्युनिष्ट पार्टीभित्र पनि तीव्र रूपमा विस्फोट भएको छ। पूर्णबहादुर सिंह ‘समरजङ्ग’ नेतृत्वको पार्टीमा चर्किएको विवाद अब आरोप–प्रत्यारोप, गालीगलौज र पारस्परिक कारबाहीको चरणमा पुगेको हो।

    पार्टीभित्रको विवाद हिजो स्थायी समिति सदस्य अशोक सुवेदीलाई संस्थापन पक्षले ‘भँडुवा प्रवृत्ति’को आरोप लगाउँदै पदमुक्त गरेपछि उत्कर्षमा पुगेको थियो। त्यसलगत्तै सुरु भएको आन्तरिक टकरावले उग्र रूप लिँदै आज सुवेदी पक्षले केन्द्रीय समितिको बैठक बोलाएर महासचिव समरजङ्गलाई नै पदमुक्त गरेको घोषणा गरेको छ।

    सुवेदी पक्षले २८ सदस्यीय केन्द्रीय समितिमध्ये १६ जनाको हस्ताक्षरसहित बहुमत सदस्य उपस्थित रहेको दाबी गर्दै आफूहरू नै पार्टीको आधिकारिक पक्ष भएको जनाएको छ। उक्त समूहद्वारा जारी विज्ञप्तिमा महासचिव समरजङ्गमाथि वैचारिक विचलनदेखि संगठनात्मक अराजकतासम्मका गम्भीर आरोप लगाइएको छ।

    विज्ञप्तिमा समरजङ्गले “सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरेको, वैज्ञानिक समाजवादलाई त्यागेको, बल प्रयोगको सिद्धान्त समाप्त पारेको तथा सर्वहारा सांस्कृतिक क्रान्तिको उपहास गर्दै असांस्कृतिक गतिविधिमा संलग्न भएको” आरोप लगाइएको छ।

    यस्तै, भारतीय साम्राज्यवादप्रति नरम नीति अपनाएको, पार्टीभित्र छलफल नै नगरी जनवर्गीय संगठनहरूको नाम र नेतृत्व परिवर्तन गरेको, परिवारवाद र क्षेत्रीयतावादलाई प्रश्रय दिएको तथा नेतृत्व पंक्तिलाई निष्क्रिय बनाएको आरोप पनि सुवेदी पक्षले लगाएको छ।

    सुवेदी समूहले समरजङ्गमाथि पार्टीलाई “निजी क्लब” बनाएको, मदिरा संस्कृतिमा रमाएको तथा पार्टीभित्र चुनाव गराउने प्रस्तावमार्फत संसदीय दलहरूतर्फ उन्मुख गराउन खोजेको आरोपसमेत लगाएको छ।

    “गम्भीर वैचारिक तथा संगठनात्मक विचलनका कारण महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’लाई आजकै मितिबाट पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

    त्यससँगै विधानअनुसार पार्टीको कार्यवाहक महासचिवको जिम्मेवारी स्थायी समिति सदस्य तथा ज्येष्ठ नेता अशोक सुवेदीलाई प्रदान गरिएको सुवेदी पक्षले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ