• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित, नयाँ नेतृत्व चयन गर्ने बाटो खुल्यो

    1.1K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो ।

    भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित उक्त कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न चौधौं महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ । कार्यविधिमा १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि पार्टी सञ्चालन गर्न नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

    कार्यविधिले विशेष महाधिवेशनमा पेस हुने प्रस्तावहरूको समेत टुंगो लगाएको छ । जसअनुसार समसामयिक राजनीतिक समीक्षा, पार्टीको नीति, विधान संशोधन तथा परिमार्जन, र पार्टीको संरचनागत सुधारका विषयहरूमा छलफल हुनेछ । यसैगरी, चौधौं महाधिवेशन पश्चात् विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समितिलाई पनि यसै महाधिवेशनमार्फत विघटन गरिने भएको छ ।

    नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन कार्यविधिले विधानको धारा ३५ बमोजिम एक जना संयोजक सहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने व्यवस्था गरेको छ । यो समितिले विधानको धारा २१ बमोजिमको केन्द्रीय कार्यसमितिको निर्वाचन गराउनेछ र आफ्ना लागि आवश्यक कार्यविधि तथा निर्देशिका आफैं तय गर्ने अधिकार पाउनेछ । साथै, महाधिवेशनका निर्णयहरू प्रमाणित गर्न संयोजक सहित ५ सदस्यीय ‘निर्णय प्रमाणीकरण समिति’ पनि गठन गरिनेछ ।

    महाधिवेशन सञ्चालन प्रक्रियालाई पनि कार्यविधिले प्रष्ट पारेको छ । विशेष महाधिवेशनको अध्यक्षता पार्टी सभापतिले गर्नेछन् भने उनी अनुपस्थित भएमा उपस्थित ज्येष्ठ सदस्यले अध्यक्षता ग्रहण गर्नेछन् । बन्द सत्रलाई व्यवस्थित बनाउन महाधिवेशन प्रतिनिधिहरू मध्येबाट ५ सदस्यीय अध्यक्षता मण्डल गठन गरिने र आलोपालोमा सत्र सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    यस महाधिवेशनमा पेस हुने प्रस्ताव तथा प्रतिवेदनहरूमाथि सामूहिक वा संयुक्त रूपमा दफावार छलफल हुने र अन्त्यमा बहुमत प्रतिनिधिहरूको ‘ध्वनी मत’ का आधारमा प्रस्तावहरू पारित मानिने व्यवस्था कार्यविधिमा छ । गणपूरक संख्याका लागि भने विधानको धारा ४६ बमोजिम ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।

    त्यस्तै, कार्यविधिमा केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले विगतमा गरेका निर्णयहरूको पुनरावलोकन गर्ने अधिकार पनि विशेष महाधिवेशनलाई दिइएको छ । आवश्यकता देखिएमा उक्त समितिका निर्णयहरू निष्क्रिय वा खारेज गर्न सकिने प्रावधान राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ