• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस विशेष महाधिवेशनमा नामावली दर्ता प्रक्रिया सुरु

    487
    SHARES



    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट नजिकै राखिएका स्टलमार्फत नामावली दर्ता भइरहेको जिल्ला–क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए।

    विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने तय भएको छ। महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी आयोजकले गरेका छन्।

    उद्घाटनपूर्व बिहान ११ बजे काठमाडौँका सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत विभिन्न स्थानबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरू भेला भई र्‍यालीसहित भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले बताए।

    उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अट्ने मञ्च निर्माण गरिएको छ। साथै मञ्चअगाडि छ हजारभन्दा बढी सहभागी अटाउने गरी कुर्सीहरूको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्री राखेर कार्यक्रमस्थल सजाइएको छ।

    विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। यस विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण नगरिएको आयोजक समितिले जनाएको छ। देशभरबाट महाधिवेशनमा सहभागी हुन आउने अधिकांश प्रतिनिधि काठमाडौँ आइपुगेको पनि समितिले जानकारी दिएको छ।

    महाधिवेशन प्रतिनिधिहरूका लागि कार्यक्रमस्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको प्रबन्ध गरिएको छ। आवश्यक परे थप दुई–दुई सय प्रतिनिधिलाई तत्काल व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।

    विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुनेछ। बन्दसत्रमा प्रस्तुत गरिने नीतिगत दस्तावेजबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ