काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमार्फत लोडसेडिङको समयमा विद्युत् प्रयोग गरी प्रिमियम महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले पुनः ६ ठूला उद्योगहरूको लाइन काटेको छ। प्राधिकरणले मंगलबार बिहानदेखि जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत आपूर्ति बन्द गरेको जनाएको छ।
प्राधिकरणका अनुसार यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा विशेष लाइनमार्फत विद्युत् उपभोग गरे पनि तोकिएको प्रिमियम शुल्क नतिरेका हुन्।
प्राधिकरणको हिसाबअनुसार- जगदम्बा स्टीलले १ अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ, र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ बक्यौता बाँकी राखेका छन्।
उद्योगीहरूले भने प्राधिकरणको कदम एकपक्षीय रहेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले उद्योग र प्राधिकरणबीच भएको सम्झौताअनुसार विद्युत् प्रयोगको प्रमाण र हिसाब मिलाउन माग गर्दै आएका छन्।
यसअघि पनि प्राधिकरणले प्रिमियम महसुल नतिरेका केही ठूला उद्योगको लाइन काटेको थियो। तर उद्योगीहरूको दबाबपछि पुनः जडान गरिएको थियो। यसपटक प्राधिकरणले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ, “बक्यौता नतिरेसम्म विद्युत् आपूर्ति पुनः सुरु गरिँदैन।”
प्रतिक्रिया