काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् ।
काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो अभिव्यक्ति यसकारण अर्थपूर्ण छ– कि केन्द्रीय समितिको बैठकमा सानै स्वरमा भएपनि प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज उठेको थियो ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्ष छाड्न र आफूलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव नै राखेका थिए । तर, केन्द्रीय समिति प्रचण्डको प्रस्तावअनुसार भंग भएर महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुँदा अध्यक्ष भन्ने पद नै रहेन । आयोजक समितिको संयोजकमा भने प्रचण्ड नै छन् ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार आगामी मांसिरको अन्तिम सातासम्म विशेष महाधिवेशन गरिसक्ने निर्णय भएको छ । विशेष महाधिवेशन अगाडि समेत छरिएर रहेका र बिचार मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकताको पहल गर्ने निर्णय भएको छ ।
यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन हुनेछ । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ । अन्य पार्टीहरूसँग एकताको पहल गर्ने जिम्मेवारी समेत प्रचण्डले नै पाएका छन् ।
प्रतिक्रिया