काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् ।
आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे ।
‘म राजनीतिक चेत बोकेको एक सफल व्यवसायी हुँ । देशको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न शान्ति र अमनचयनको अनुभूति मैले गर्न सकिन । मेरा लागि म र परिवार भन्दा पनि नेपाल र नेपाली प्राथमिकताका विषय बन्न पुगेका छन् । तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ’, उनले भने ।
प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको आरोप लगाएका छन् । राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत उनले जिकिर गरे ।
‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो । चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो । म तयारीसाथ गएको थिएँ । तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो । मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो । अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो । राज्यसत्ता हामीसँग डरायो । जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ’, उनले भने, ‘धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।
प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए । यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन । राजा वीरेन्द्रलाई मारेर हिन्दूराष्ट्र अस्तित्व जाने थिएन । यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ ।’
प्रतिक्रिया