• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्ड राजनीतिको ब्रान्ड हो, सबै उहाँको टाउकोमा खन्याएर हामी उम्किन मिल्दैन : वर्षमान पुन

    1.7K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् ।

    पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको पुनको भनाइ थियो ।

    ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्रान्ड हो, हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौँ । उहाँको ब्रान्ड भ्यालु राम्रो छ ।’

    यद्यपि अध्यक्ष प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए । पुनले पटक पटक मन्त्री, सांसद भएका र दशक अघिदेखि पार्टीको महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उम्किन नपाउने स्पष्ट गरे ।

    ‘कमरेड प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न गर्नुपर्छ । उहाँले त्यो गर्नै पर्छ । साथै हामी दोस्रो तेस्रो तहका नेताहरू छौँ । अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौँ’, पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जा मन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौँ । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौँ । पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ । हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा गर्‍यौँ ? गर्न हुने र नहुने गर्‍यौँ ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौँ ।’ कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रूपमा नेपालका अन्य दलको तुलनामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरू अरूभन्दा असल र मुलुकको हितप्रति इमानदार रहेको दाबी गरे ।

    दोस्रो तहका नेताहरूले पहिलो र पछिल्लो पुस्ताबिच समन्वय र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने उनले बताए । ‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेस्रो पुस्तालाई मिलाउँदा पार्टी सङ्गठन गतिशील हुन्छ । हामी दोस्रो पुस्ताका नेताहरूले अहिले त्यही भूमिका खेल्नुपर्छ । एकाङ्की रूपमा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन । नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन । सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन ।’

    फरक प्रसङ्गमा पुनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको निरङ्कुश, स्वेच्छाचारी र भ्रष्ट प्रवृत्तिले जनताको बलमा सत्ता च्युत भएका प्रतिगामी शक्तिले टाउको उठाउने जमर्को गरेको आरोप लगाए । उनले ओलीले अहिलेको प्रणालीमाथि विगतदेखि नै आक्रमण गर्दै आएको भन्दै फेरि संसद् विघटन गर्न सक्ने दाबी गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ