पोखरा । पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी र कर्मचारीमाथि हातपात गरेपछि महानगर क्षेत्रमा तनाव चुलिएको छ। घटनापछि पीडित पक्ष र कर्मचारी संगठनहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
मंगलवार वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका लेखनाथ सुवेदीमाथि हातपात गरेको भन्दै उजुरी दर्ता भएको छ। सुवेदी हालसम्म सम्पर्कविहीन छन्। उनीमाथि फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्ष आक्रोशित भएका थिए।
व्यवसायीले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको राजीनामा माग गरेका छन्। उता, महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि समेत हातपात भएको आरोप महानगरपालिकाले पुष्टि गरेको छ।
एक कर्मचारीका अनुसार, पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पोखरेलको कठालो समातेर कुटपिट गरेका थिए। घटनापछि कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दोषीलाई २४ घण्टाभित्र कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
स्थानीय तह कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन लगायतका संस्थाहरूले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्रमा भनिएको छ, “घटनामा संलग्न उपर २४ घण्टाभित्र कानुनी कारबाही नगरे वैशाख २४ देखि सम्पूर्ण कामकाज ठप्प पारिनेछ।”
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया