• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तर्वार्ता

    नेता र कार्यकर्ता सही भएको खण्डमा राम्रो कम्युनिस्ट पार्टी बन्न सक्दछ : चित्रबहादुर आले

    4K
    SHARES



    काठमाडौँ । नेकपा (बहुमत) को ९ औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ । महाधिवेशनले वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा, स्वाधीन संयुक्त सरकारको कार्यनीतिलगायतका नयाँ नीति र नेतृत्व चयन गरेको छ । उक्त महाधिवेशनबाट ९९ सदस्यीय पार्टीको केन्द्रीय समिति, ३ सदस्यीय निर्देशक समिति, र सल्लाहकार समिति चयन पनि गरेको छ । सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेसँग गरिएको कुराकानीको सम्पादित अंश :

    तपाईंको राजनीतिक जीवनको सुरुआत कहाँबाट कसरी भएको हो बताइदिनुहोस् न ?

    म १६ वर्षको हुँदाखेरि २०२४ सालमा मैले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको हुँ । त्यति बेला पूर्वी–प्रान्तीय कमिटी भनेर चल्थ्यो, भरतमोहन, मनमोहनहरूले त्यो कमिटी चलाउनुहुन्थ्यो । त्यही प्रान्तीय कमिटीको लिडर त्यति बेला जयगोविन्द शाह हुनुहुन्थ्यो । उहाँहरूले सप्तरी, सिरहा धनुषा, महोत्तरी, सर्लाही, रौतहट जिल्लाहरू हेर्नुहुन्थ्यो । र, उहाँसँग बाक्लै भेटघाट हुन्थ्यो । त्यसअगि पनि बच्चैदेखि त्यति बेलाका पाका स्थानीय नेताहरू पण्डवराज घिमिरे, सुनमाया मगर टिकाराम नेपाली भन्नेहरू त्यो क्षेत्रको स्थानीय स्तरको नेताहरू गाउँले मामा, अङ्कल नाता लाग्ने हुनुहुन्थ्यो । १०/१२ वर्षको उमेरदेखि १७ सालपछि उहाँँहरू नारा लगाएको देखिन्थ्यो । त्यहीँबाटै कम्युनिस्ट आन्दोलनप्रति प्रभाव पर्दै गएको थियो । त्यति बेला कम्युनिस्ट आन्दोलन २ भागमा बाँडिएको थियो– एउटा रुसी कम्युनिस्ट र अर्को चिनियाँ कम्युनिस्ट ! उहाँँहरू रसियन पक्षको हुनुहुँदो रहेछ, पछि थाहा पाइयो र यो संशोधनवादी धारा ठीक छैन भन्ने सुनियो । चिनियाँ पक्षका चाहिँ क्रान्तिकारी हुन् भन्ने थाहा पाएपछि र विस्तारै उमेर पनि पुग्दै गएपछि हामी पनि चाइनिज पक्षमै लागियो ।

    त्यति बेलाको अन्तरसङ्घर्ष तल्लो तहका कार्यकर्ताहरूले थाहा पाउने तहको नहुँदो रहेछ ?

    हो, थिएन थिएन । हामीले चाहिँ २७/२८ सालसम्म एरिया र जिल्ला स्तरको जिम्मा लिएर काम गर्दै थियौँ । २९/३० तिर आएपछि चाहिँ मोहनविक्रमजी, निर्मल लामाजीहरू चौथो महाधिवेशन गर्ने तयारीतिर लाग्नुभएको रै’छ । जयगोविन्दजीहरू त्यही समूहमा आइपुग्नुभएछ । त्यही क्रममा ३१ सालमा चौथो महाधिवेशन भयो बनारसमा तर प्रतिनिधि भएर जान सकिएन । कृष्णकुमार लामा भन्ने साथीहरू जानुभयो । महाधिवेशनपछि कतिपय साथीहरू लाखापाखा लागे र मचाहिँ ३२/३३ सालपछि सर्लाहीको सेक्रेटरी भएर सक्रिय रूपमा काममा लागेँ । त्यही क्रममा ऋषिराज देवकोटा इन्चार्ज भएर आउनुभयो । उहाँँसँग नजिक भएपछि होलटाइमर हुन जानुपर्छ भन्ने दबाब दिन थाल्नुभयो । नभन्दै जिल्ला स्तरको होलटाइमर हुँदा हुँदै ३४ सालमा वर्गसङ्घर्षका कर्यक्रमहरू पनि भए । त्यस बेला ४/५ महिना ठुलो खडेरी पर्‍यो । बालीनाली सबै डढे । मान्छे खान–लाउन नपाउने अवस्था भयो । त्यति बेला सर्वोच्च अदालतको न्यायाधीश थिए, प्रकाशबहादुर सिंह भन्ने । सर्लाहीमा उनको पाँच/छ सय बिघा जग्गा थियो । त्यो जग्गाको अन्न भकारीमा छ भन्ने कुरा साथीहरूले पत्ता लगाए । म सेक्रेटरी थिएँ । निर्णय गरेर साथीहरूले कब्जा गरेर जनतालाई बाँडे । त्यो पञ्चायतभित्रको त्यति बेलाको ठुलो आन्दोलन थियो र कतिपय साथीहरू त्यस कारण गिरफ्तार पनि भए । त्यसैको वरिपरि यता जुगेडी आन्दोलन पनि भयो । त्यस कारण तिनको न्यायाधीश पद पनि गयो ।
    त्यही ३४ सालमा नै म चौथो महाधिवेशनको केन्द्रीय सदस्यमा चुनिएँ । कतिपय साथीहरू जेलमा हुनुहुन्थ्यो । उहाँँहरूकै ठाउँमा म र रामसिंह श्रीषजीसँगै वैकल्पिक केन्द्रीय सदस्य भइयो । त्यसपछि निरन्तर रूपमा केन्द्रीय सदस्य भइयो । मैले क्रियाशील राजनीति छोडेर सल्लाहकार भएको चाहिँ ८ औँ महाधिवेशनपछि हो । त्यो बेला स्वास्थ्य पनि कमजोर थियो । पारिवारिक रूपमा पनि समस्या भयो । विप्लवले त क्रियाशील राजनीतिमा सक्रिय हुनुपर्ने भनेर जोड गर्नुभएकै थियो तर मैले अब नसक्ने नै भएँ भनेर सल्लाहकारको भूमिकामा रहेर काम गरेको हो ।

    कम्युनिस्टहरूको विभाजनको सुरुआत शृङ्खलाचाहिँ तेस्रो कि चौथो महाधिवेशनपछि ?

    त्योचाहिँ तेस्रोमा पनि थियो, तुलसीलाल, पुष्पलालहरूको विभाजन त्यति बेला नै हो । मनमोहनहरूको विभाजन पनि त्यही बेला हो । मनमोहन, भरतमोहनहरू पछिल्लो कालसम्म मोहनविक्रम र निर्मल लामाहरूसँगै हुनुहुन्थ्यो । महाधिवेशन पहिले ३० सालमै हुन लागेको थियो । भरतमोहन र मोहनविक्रमहरूले एकदम निकट समयमा आएर अहिले नगरौँ भनेर ब्रेक गरिदिए । जबर्जस्ती गर्नुहुँदैन, उनीहरूले थाहा पाइसके, अब उनीहरू आउँदैनन् भन्ने कुरा भएपछि एक साल फेरि पछाडि धकेलेर ३१ सालमा भएको हो ।

    त्यसरी टुटफुट पहिले नै थियो । चौथो महाधिवेशनपछि विभाजनको शृङ्खला ह्वात्तै बढेको हो । मेरो पनि त्यही बेलादेखि नै सुधारवादीहरूसँग लडाइँ सुरु भएको हो । ४० सालमा मोहनविक्रमजीसँग अलग हुने बेलामा पनि उहाँँका कतिपय प्रवृत्ति देखियो । विचारमा पनि उहाँँको सही लाग्न छोड्यो । व्यवहारमा पनि उहाँँको जलजला काण्डदेखि पण्डितकाकण्ड सबै भोगियो । चरित्र पनि खत्तम । उहाँँले भन्ने एउटा, गर्ने अर्को । बाघेओडार कथा तपाईंहरूले सुन्नुभएको होला । लडाकु दल भन्थ्यो त्यति बेला, अहिलेको सेना भनेको जस्तै । त्यति बेला त्यो बनाउने भनेर बाघेओडारमा सैनिक तालिम लिन सर्लाही, सिराहा, महोत्तरीबाट हामी जम्मा ३ जना सहभागी भएका थियौँ । काजीलाल वाइबा, दीपबहादुर योञ्जन र म गयौँ । त्यो तालिम गरायो तर पछि व्यवहारमा लैजानेबारे कहिल्यै सोचिएन । मोहनविक्रमको त्यस्तो थियो । त्यो बेला त्यस्तो तालिममा सहभागी हुन एक/दुई महिना समय लगाएर हिंडेर पूर्वबाट पश्चिम पुग्नुपर्थ्यो । यसरी धेरै दुःख गरेर पार्टी बनाइयो ।

    मोहनविक्रमको जलजला काण्डपछि उहाँँलाई कारबाही गरेर लामा दाइ आउनुभयो । लामा आएपछि पार्टीमा झन् समस्या भयो, किनकि उनी त दीर्घकालीन जनयुद्धका विरोधी भए । त्यति बेला चिनियाँ बाटो दीर्घकालीन जनयुद्ध र रसियन बाटो सशस्त्र विद्रोह भन्ने थियो । नेतृत्वमा आएको खराबीका कारण झन् आन्दोलनले सेटब्याक खायो । एकाथरीले जनमत सङ्ग्रहको समर्थन गरे, अर्कोथरीले बहिष्कार गर्नुपर्छ भनेर भाला, खुँडा र खुकुरी बोकेर विद्रोह गरे । त्यही अन्तरसङ्घर्ष बढ्दै जाँदा पार्टी फुट्यो । निर्मल लामाहरूले चौथो महाधिवेशन बनाए । म पनि त्यसैमा थिएँ । ४१/४२ तिर त फेरि उहाँँहरू पनि फुट्नुभयो । मोहनविक्रम एकातिर र निर्मल लामा अर्कोतिर भयो । निर्मल लामा, हामीहरू अल्पमतमै थियौँ । जयगोविन्द शाह, सूर्यनाथ यादव, तोयानाथजी, म, दीर्घबहादुर श्रेष्ठ, नरबहादुर कर्माचार्य हामी थियौँ । उता मोहनविक्रम सिंह, मोहन बैद्य, प्रचण्ड, रामसिंह श्रीषलगायत हुनुहुन्थ्यो ।

    दरभङ्गा प्लेनमबारेमा केही भन्नुहुन्छ कि ?अनि  एकता केन्द्र बनाउने बेलाको इतिहासको बारेमा पनि अलिकति बताइदिनुहोस न

    त्यो प्लेनममा लामो समयसम्म छलफल गरेर लामो बैचारिक छलफलमा मोहनविक्रमसिंहले संविधानसभाको प्रस्ताव राखेको र सो प्रस्ताव पास भएको हो । प्लेनमबाट पास भए पनि पछि नेतृत्व अर्कैको हातमा परेपछि पास भए–नभएको केही मतलब नै भएन । मोहनविक्रमजीहरू त्यति बेला युवा हुनुहुन्थ्यो, बहस राम्रै चलेको थियो । उहाँँहरूलाई अगाडि बढ्ने प्रेरणा पनि मिल्यो, त्यसलाई पछि प्रचण्डहरूले अगाडि लिएर गए ।

    त्यति बेला निर्मल लामा, किरण, प्रचण्ड सबैले एकीकृत पर्टी बनाउन चाहेको देखिन्छ । मोहनविक्रम सांस्कृतिक रूपमा पनि निकै खराब थिए । उनकै कारण जलजला जस्तो त्यो बेलाको होनाहार महिला नेतृको अस्तित्व समाप्त जस्तै भयो । मोहनविक्रमचाहिँ साह्रै संकीर्ण । म त के भन्छु भने मोहनविक्रम र नारायणमान बिजुक्छे एकै हुन् । आफूले बुझेको बाहेक अरूको कुरा सुन्नै नचाहने, आफूले बाहेक अरूले बुझ्दै बुझ्दैनन्, जान्दै जान्दैनन् जस्तो गर्छन् । सयौँ किताब लेखेर के गर्ने, त्यसलाई व्यवहारमा उतार्न नसक्ने भएपछि त्यसको काम छैन । यस्तै, भनाइ र गराइबिचको तालमेल नमिलेर भनेको जस्तो एकता हुन सकेन । तर, केही पार्टीहरू मिलेर एकता भयो ।

    एकता महाधिवेशनपछि पार्टीमा दुई लाइन सङ्घर्ष कसरी सुरु भएको थियो ?

    त्यो बेलाको दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहकै लाइन थियो । त्यो बेला निर्मल लामा, श्याम श्रेष्ठ, नारायणकाजीहरूको कुरा सशस्त्र विद्रोह गर्नुपर्छ भन्ने थियो । प्रचण्डहरूको कुरा दीर्घकालीन जनयुद्धको विकल्प छैन भन्ने नै थियो । त्यसकै तयारीमा लाइनमा जानुपर्छ भन्ने पनि थियो । र, त्यो लाइन नै बहुमतले पास पनि भयो । लामो छलफल गरेर पछि भोटिङ गर्दा त्यही लाइन पास भयो । त्यो बेला रूपलाल विश्वकर्मा, साध्यबहादुर भण्डारी, धनश्याम पौडेलहरू पनि एकतामा आएका थिए । मोहनविक्रमसँग विद्रोह गरेर शीतलकुमारको नेतृत्वमा बाबुराम भट्टराईहरू पनि आएका थिए । हुन चाहिँ यो दीर्घकालीन जनयुद्धको लाइन मोहनविक्रमको पालादेखि नै हो । उनले नै दीर्घकालीन जनयुद्धको वकालत गर्थे । त्यो बेलादेखि नै यो लाइन बहुमतमा थियो । पछि त्यही कुरा नमिलेर विभाजन भयो । निर्मल लामाले एउटा झोंकमा विद्रोह गरे । तर, तिनको बहुमत केन्द्रीय सदस्यले त्यस्तो गर्नुहुँदैन, पार्टी केन्द्रीय समिति बैठक र अधिवेशनमा जानुपर्छ भनेर उनलाई बैठकमा पठाएका थिए तर पार्टीले उनलाई कारबाही गरेर बैठकमा जान नै नदिएपछि अर्को पार्टी बन्यो । त्यसपछि उनी बिरामी भएकै बेला आफैँले पार्टी एकता गर्न सुझाव दिएपछि फेरि पार्टी एकता भयो । त्यो लामो समय भने गएन ।

    जनयुद्धका बेलाका वार्ता प्रक्रिया र १२ बुँदे दिल्ली सम्झौताबारे यहाँको भनाइ के छ ?

    त्यो बेला सरकार र माओवादीबिचका वार्ताका बारेमा मलाई त्यति जानकारी छैन तर दिल्ली सम्झौताको बारेमा भने केही जानकारी छ । त्यो बेला नारायणकाजी श्रेठले मलाई भेटेरै माओवादीले आफ्नो नीति परिवर्तन गर्ने भए, उनीहरू अब युद्धतिर नजाने र शान्तिपूर्ण राजनीतिमा आउने भन्ने छ । उनीहरू अब सच्चिने भए, यो खुसीको कुरा हो, मलाई प्रचण्डले भेट्न बोलाएको छ, म जाँदै छु भनेर खुब हौसिएर सुनाए । उनी प्रचण्डलाई भेट्न गए । त्यसपछि १०/१५ दिनपछि फर्केर आए । आएपछि मलाई कमानसिंह लामाको घरमा बोलाए अनि प्रचण्डसँग भेट भयो, यस्तो भयो, उस्तो भयो भनेर धेरै कुरा सुनाए । अब दिल्लीमा ७ दल र माओवादीका बिचमा वार्ता र सम्झौता हुने भयो, त्यसमा कसरी अगाडि बढ्ने भन्ने त्यसमा तपार्ईंं र अमिक दाइ आउनुपर्‍यो भनेर मलाई भने । त्यसपछि मैले म आउँदिनँ भनेँ किनभने दिल्ली सम्झौताको पुनरावृत्ति हुनेवाला थियो । ७ सालमा यस्तै भा’थ्यो रे । राजा, कांग्रेस र भारतबिच भएको दिल्ली सम्झौताले अहिलेसम्म पिरोलिराख्या’छ । अब यो सम्झौताले कति पुस्तालाई पिरोल्ने हो, म यस्तो सम्झौता गर्ने वार्तामा जान्नँ भनेँ । अलि आशा गरेको शक्ति माओवादी थियो । त्यसलाई पनि सिध्याउने खालको सम्झौतामा म ल्याप्चे लाउन आउँदिनँ । यसले तपार्ईंंहरूलाई सरकारमा लैजाने हो, म अहिले सरकारमा जाने मनस्थितिमा छैन भनेँ । म सडकमा रहन्छु । जति सक्छु, त्यति गर्छु, सडकमै रहन्छु भनेँ तर उनले तपार्ईंं आउनुपर्छ दाइ भने । म आउँदिनँ भनेँ अनि हामी उठ्यौँ । पछि फेरि अमिकजीले फोन गर्नुभयो । तपार्ईंंलाई नारायणकाजीले केही भनेका छन् कि छैन भने । भन्या’छन् तर मैले पनि उनलाई भन्या’छु भनेँ अनि अमिकले के–के भयो त कुरा भने । मैले नारायणकाजीले दिल्ली आउनू अमिक दाइसँग भने । मैले म आउँदिन भन्या’छु । म जान्नँ भनेँ अनि अमिकले म के गरूँ त भन्नुभयो । त्यो तपाईंको खुसीको कुरा । तपाईंले जे बुझ्नुभयो, त्यो गर्नू । मैले जे बुझ्या’छु म त्यो गर्छु भनेँ । उहाँँले हैन जाऊँ भन्नुभयो । मैले म जान्नँ भनेँ ।
    युवाहरूले चितवनमा धान काट्ने कार्यक्रम बनाएका थिए । त्यसको उद्घाटन गर्न अमिकजी नै जाने कार्यक्रम रहेछ । पछि उहाँँले जाने बेलामा यस्तो छ जाऊँ भन्नुभयो । मैले हैन जोड नगर्नुहोस्, म जान्नँ भनेँ । उहाँँ गएर त्यो कार्यक्रम उद्घाटन गरेर त्यतैबाट दिल्ली जानुभयो । दिल्लीबाट पनि फोन गर्नुभयो दुवै जनाले । नारायणकाजीले पनि अमिकले पनि पटक–पटक नै गरे आउनुपर्‍यो भने तर मैले म आउँदिनँ, कर नगर्नुहोला भनेँ । यता हामी नवराज, रामसिंह श्रीष, परी थापा बसेर छलफल गरेर अब मोहनविक्रम सिंहसँग पनि हैन, यिनीहरूसँग पनि हैन, नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भनेर तयारी गरिसक्या’थियौँ । नारायणकाजीहरू दिल्लीमा वार्ता गरेर १२ बुँदे बनाएर आए । त्यो १२ बुँदेको विरुद्धमा हामीले यता पर्चा वितरण गर्‍या’थियौँ । यो–यो कारणले यो १२ बुँदे नेपाली कम्युनिस्ट आन्दोलनको विरुद्धमा छ भनेर, त्यो पर्चामा लेख्या’थियौँ । १२ बुँदे सम्झौता आत्मसमर्पण हो भन्ने कुरा त अहिले पुष्टि भइसक्यो नि । त्यही सम्झौता नेपालमा बसेरै गरेको भए पनि त्यसको महŒव भिन्नै हुन्थ्यो होला । भन्नेहरूले त अहिले पनि जनयुद्ध भारतकै इशारामा भएको थियो भनेका छन् । त्यो भनाइलाई १२ बुँदे सम्झौताले शङ्काको ठाउँ दिएको छ ।

    के १२ सम्झौताले नेपाली कम्युनिस्ट आन्दोलनलाई पछाडि धकेलेको हो ?

    हो नि, १२ बुँदे सम्झौताले नेपालको कम्युनिस्ट आन्दोलनलाई पछाडि मात्र हैन, ५० औँ वर्ष पछाडि धकेलिदियो । १२ बुँदे सम्झौता गर्ने ७ दलले माओवादीको समेत सम्झौता छ भनेर राजा फाल्ने हतियार बनाए । जनआन्दोलनमा माओवादी पनि छ भन्ने मनोज्ञानिक असर पर्‍यो र राजतन्त्र ढाल्न सजिलो भयो तर सत्य त्यति मात्र हैन, राजतन्त्र कमजोर भइसकेको थियो । आन्दोलन अलि चर्किरहेको बेला ढल्ने नै वाला थियो । माओवादी जनयुद्धको उद्देश्य राजतन्त्र ढल्ने मात्र हैन नि त, जनयुद्धको उद्देश्य त नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने भन्ने थियो, त्यो भयो त भएन नि ! गणतन्त्र त आयो तर बुर्जुवा गणतन्त्र भयो । नेपालको गणतन्त्र र भारतको गणतन्त्रमा केही फरक भयो त, भएन नि ! त्यसैले १२ बुँदेमार्फत जनयुद्धलाई शान्ति प्रक्रियामा ढाल्ने क्रममा नेतृत्वले फेरि पनि धोका दियो ।

    नेपालका हरेक आन्दोलन मूल नेतृत्वको धोकाधडीका कारण नै सेटब्याक खाएका छन् । अहिलेसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलन प्रभावहीन भएर कम्युनिस्टलाई मान्छेले हेर्ने दृष्टिकोण अति तुच्छ प्रकारको बनेको छ । मान्छेले त्यसरी हेर्ने कुरो सबै बेठीक नै छन् नि ! मान्छेले देखेको–भोगेको कुरा बोल्ने हो नि ! कम्युनिस्ट आन्दोलनलाई नेतृत्व–पंक्तिले छियाछिया पारिदियो । अब यसलाई समेट्न जो सच्चा कम्युनिस्ट हो, उसलाई पनि धेरै गाह्रो छ तर असम्भव छैन । अब यो छरपस्ट कम्युनिस्टहरूको गैरकम्युनिस्ट प्रकारको व्यवहार देख्दा देख्दै पनि अहिले नेकपा (बहुमत) ले जुन कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने बिडो उठाउने काम गर्‍यो, त्यो गाह्रो हुँदा हुँदै पनि कोसिस गर्न खोज्या’छ, त्यसलाई स्याबासी दिनुपर्छ । यो आँट भन्ने कुरा त्यति सजिलै आउने कुरा हैन । आँट गर्ने भन्या त बलिदान दिन तयार हुने भन्या हो नि ! दुःखकष्ट बेहोर्ने, आइपरे बलिदानी दिने भनेर जुन आँट अहिलेको नेतृत्वले गर्‍यो, त्यो सराहनीय कार्य हो । नेपालमा सबै नेता कार्यकर्ता बलिदान दिन तयार हुने तर नेतृत्वपंक्ति तयार नहुने भएकाले नै अहिलेसम्म कम्युनिस्ट आन्दोलन असफल भएको हो । अब यो विकृति र विसङ्गतिको ढोकालाई बहुमतको नेतृत्वले बन्द गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न पनि खडा भएको छ । सक्यो अगाडि बढ्छ, सकेन भने फेरि पनि इतिहास दोहोरिन्छ । घुमिफिरी फेरि त्यहीँ पुग्छ । हेर्नुहोस्, १० वर्षको जनयुद्धले प्रचण्डलाई कहाँ पुर्‍याएको थियो, अहिले हेर्नुहोस् त, प्रचण्डको हालत के छ !

    अहिले प्रचण्ड फेरि जनतामा जाने भनेर गाउँघर पुगेका छन् नि त ?

    त्यो उहाँँको जनता झुक्याउने बाटो मात्र हो । त्यसले केही हुँदैन । त्यो उहाँँको सत्ता र शक्तिमा रहिरहन नसकेको रोदन मात्र हो । जनता नै इतिहासका निर्माता हो भन्ने कुरा उहाँँले बुझेको र धेरै पटक बोलेको प्रशिक्षण गर्दै हिंडेको कुरा हो । व्यवहार त त्यो सत्य कुरा पनि हो । त्यसैले सरकार छुट्नेबित्तिकै जनतामा गएर नाटक गरेको मात्र हो । कांग्रेस पनि प्रचण्डका लागि काम नलाग्ने र एमाले पनि काम नलाग्ने भएपछि अब अर्को विकल्प छैन; फेरि जनतामा जान्छु भनेको हो तर त्यो उहाँँले इमानदारिता देखाउन गएको हैन, झुक्याउन नै हो ।

    यदि उहाँँ इमानदारिता देखाउन हो र म अब वर्गतिर फर्कें भनेर भन्ने हो भने संसदीय व्यवस्थाको चुनावका लागि भोट माग्ने र पार्टी ठुलो बनाउने फेरि पनि यही व्यवस्थाको चुनावमा जाने खेल छोडेर बाहिर निस्किन सक्नुपर्‍यो नि ! वर्गमा फर्किने हो भने त उहाँँले संसदीय व्यवस्था बेठीक रहेछ भन्नुपर्‍यो नि ! त्यो भन्ने आँट उहाँँसँग छ ? छैन । त्यो भन्ने आँट भएको भए उहाँँले दिल्ली सम्झौता गर्नुहुन्थेन । त्यो बेला उहाँँलाई गाह्रो नै थियो भने पनि न सत्ताले हामीलाई जित्न सक्या’छ, न हामीले सत्तालाई जित्न सक्या’छौँ । यो अवस्थामा के गरौँ भनेर नेपाली जनतालाई सोधेको भए एउटा निकास दिन्थ्यो नि त ! नसक्दादेखि त जो कोहीले भारी बिसाउन पाउँछ नि । कुनै जबर्जस्ती त उहाँलाई थिएन । उहाँँले दिल्लीमा सम्झौता गर्ने गलत बाटो लिनुभएको थियो । उहाँले अहिले त्यसैको परिणाम भोग्दै हुनुहुन्छ । अहिले सहिदको घर घरमा भात खान गइरहेका छन् । यिनलाई लाजश्रम पनि लागेको छैन । नेता अनैतिक भएपछि लाजश्रम पनि पचाउने रै’छ !

    सुनिन्छ, नेपालमा कम्युनिस्ट आन्दोलन रक्षात्मक छ, के यो कुरा साँचो हो ?

    हैन, त्यो एक पाटो मात्र हैन । रक्षात्मक मात्र हैन, आक्रामक पनि त छ नि ! पूर्णतया सफल हुन सक्या’छैन । त्यसैले रक्षात्मक भनिएको होला तर आन्दोलनले अस्तव्यस्तता भोग्न पर्‍या’छ । तर, तपार्ईंंले यही नजिक भारतलाई हेर्नुहोस् न, हजारौँ सहिद भइसक्या’छन् तर नक्सालबाडीहरूले आन्दोलन रोकेका छैनन् । त्यत्रो ठुलो देश, त्यत्रो जनसङ्ख्या, त्यत्रो मजबुत राज्यसत्ता हुँदाखेरि पनि लड्दै छन् । यहीँबाट पनि पाठ सिक्नुपर्‍यो नि त !

    प्रचण्ड र केपी ओलीलाई चीनले हेर्ने दृष्टिकोण के होला, हामीले चीनलाई कसरी हेर्नुपर्ला ?

    केपी ओली चीन जाँदा ओलीले चिनियाँ कार्ड खेल्यो भन्ने चर्चा हुन्छ । ओलीभन्दा प्रचण्ड नै चीनको नजिक हुनुपर्ने हो नि त । यद्यपि चीन समाजवादी कम्युनिस्ट राज्य रहेन । ऊ अब पुँजीवादी, सामाजिक साम्राज्यवाद भइसक्यो, तर अमेरिकाको तुलनामा चीन ठीक हो नि, किनकि अमेरिकी साम्राज्यवादका विरुद्ध त उसले पनि जेहाद छेडिरहेको छ नि त । यो कुटनीतिक खेलमा पनि प्रचण्ड असफल देखिन्छन् । नेताहरूमा मबाहेक अरू केही हैन भन्ने घमण्डले उनीहरूलाई असफल बनाइरहेका छन् । यिनीहरूलाई आफूलाई स्वार्थ पर्ने बेलामा जनतामा जाने सबै ठीक भन्ने अनि आफ्नो स्वार्थ पूरा हुनेबितिकै भुइँ छोडेर आकासमै उड्ने प्रवृत्ति छ । मैले मेरो लामो राजनीतिक जीवनमा मोहनविक्रमदेखि लिएर प्रचण्ड, किरण, नारायणकाजी पछिल्लो चरणमा ९ वर्ष विप्लव; यी सबैसँग खेल्दै आइयो । सबैसँगको मेरो भोगाइ त्यही हो ।

    तपार्ईंंले विप्लवलाई कसरी हेर्नु–बुझ्नुहुन्छ ?

    उनी पनि एकै ड्याङका मुला भन्या जस्तै भए । ८/९ वर्ष वर्गसङ्घर्षलाई उठाउँछु भनेर नाटक गरे । अन्ततः उही संसदीय राजनीतिमै जाने कुरा गरेर पार्टी विभाजन गरे । मलाई प्रधानमन्त्री चाहियो, हामी गरेर देखाउँछौँ भन्दै रुन थालिसके । संसदीय व्यवथामा उनले के देखाई दिन्छन् ? प्रचण्ड र केपी ओलीले देखाउँदा देखाउँदै जनताको र देशको यो हविगत छ, अब यिनले चाहिँ के देखाउँछन् ? यिनी त झन् यति क्रूर मान्छे हो कि देखियो र भोगियो । तपार्ईंंहरूलाई अहिले यसबारे धेरै के भनौँ र ? प्रचण्डका विरुद्ध महापतन लेख्ने अनि महासचिव दिन्छु भनेपछि उसैसँग पार्टी एकता गर्न खुट्टा उचाल्ने ! यिनको महापतन झुट, फरेब र दलाली रै’छ भन्ने त्यसै पनि देखियो नि त । कति व्यक्तिवादी रै’छन् विप्लव ! आफूले भनेको जस्तो शक्ति र सत्ता नपाउँदा प्रचण्डमाथि त्यत्रो आरोप–प्रत्यारोप लगाएको रै’छ भन्ने देखियो नि त ! अब विप्लवले प्रचण्डलाई नेता मानेर जाने हो भने मैले महापतन लेखेर अपराध गरेँ, भूल गरेँ, क्षमा पाऊँ, मैले त्यो लेखेको गलत हो, सार्वजनिक रूपमा मेरो किताबमा आगो लगाइदेऊ भनेर सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्छ । अनि पो त्यहाँ जान नैतिकता हुन्छ । अस्ति बैठक गरेर हाम्रो कारण हैन, प्रचण्डकै कारण एकता भएन भनेर रुँदै थिए । यस्ता अनैतिक नेताहरू हामीले बेला–बेलामा बोक्दै र भोग्दै आइरहेका छौँ ।

    उनको मुख्य योजना त अलि ठुल्ठूला उग्रवादी काम गराएर, व्यापारीहरूलाई तर्साउने र पैसा असुल्ने थियो । पैसा चाहिन्छ तर त्यो तरिका ठीक हुँदैन । उनको सारा आन्दोलनको नाटक पैसाका निम्ति भन्ने त अहिले आएर व्यवहारतः पुष्टि भइसकेको छ । जनताले हेर्ने त्यही व्यवहार हो । उनले त्यति बेला आन्तरिक सङ्गठन र बाहिर व्यापारीसँग जम्मा गरेको पैसाले आफ्नै छोराछोरी पढाउने, आफ्नै छोरी–ज्वाइँलाई व्यवसायी बनाउने र काठमाडौँमा व्यापारिक मार्ट खोल्ने काममा खर्च गरे नि त ! यी सबै मार्ट–सार्ट, व्यापार–स्यापार सब उनको निजी हुन्छ, हेर्दै जानुहोला । पार्टीको पैसा लगानी गरेर, कार्यकर्तालाई पैसा जम्मा गर्न लगाएर उनले काठमाडौँमा खोलेको सहकारी कता गयो ? सब त्यस्तै हुने हुन् । अझ यिनले अरू कसैसँग पार्टी एकता गरे भने त्यो सब छ महिनामा लाखा–पाखा लाग्छ । जे जति छ, तिनको आफ्नो र आफ्नाहरूको निजी सम्पत्ति बन्छ । अहिले उत्पादन भन्ने पनि सबै नाटक मात्र हो । सबैभन्दा झुट, सबैभन्दा छलकपट र ढाँट त विप्लव देखिए । मलाई त विप्लवले केही गर्छन् कि भन्ने लाग्या’ थियो तर १२ औँ केन्द्रीय समितिको बैठकमा जुन प्रस्ताव ल्याए, म त छाँगाबाट खसेको जस्तो भएँ । यिनी त निकै कपटी र बेइमान रै’छन् । मैले अहिले कञ्चनलाई पनि भनेको छु– यदि त्यस्तै गर्नु छ भने नेता–कार्यकर्ता, जनता र आफू स्वयम्‌लाई पनि नढाँट्नू, सिधासिधा म सक्दिनँ भनेर अर्कोलाई नेतृत्व हस्तान्तरण गरे हुन्छ । यदि कसैले सक्दैन भने अर्को कसैले नेतृत्व गर्छ नि त ! नेता स्वयम्‌ले त्याग र बलिदान नगरेकाले नै नेपालको कम्युनिस्ट आन्दोलनले धोका खाँदै आइरहेको छ । बहुमतले त्यो कार्य गर्न सक्नेबित्तिकै परिस्थिति अर्कै ठाउँमा पुगिहाल्छ ।

    सङ्गठन र कम्युनिस्ट स्कुलिङबारेमा केही भनिदिनुहुन्छ कि ?

    अहिले मान्छेहरूको पढ्ने बानी नै हराई सकेको छ । त्यसो गर्नुहुँदैन । कम्युनिस्ट सिद्धान्त, सङ्गठन, सङ्घर्ष, आर्थिक नीति, सर्वहारा अनुशासन र कम्युनिस्ट संस्कृतिका बारेमा पढ्नुपर्छ, पढाउनुपर्छ । नपढेपछि ज्ञान आउँदै आउँदैन । मार्क्सवादी शिक्षातिर पनि एकदमै जोड गर्नुपर्छ । सर्वहारावादी फलामे अनुशासनलाई पनि जोड गर्ने हुनुपर्दछ । अहिले १७ वटा पार्टी चाहारेर हिंड्नेलाई खोज्नुभन्दा सोझो र इमानदार युवालाई शिक्षित गरेर हिंड्दा पार्टी सङ्गठन बलियो हुन्छ । १७ वटा पार्टी चाहारेर हिंड्ने सबै बदनाम हुन्छन् । आर्थिक अपचलन, सांस्कृतिक समस्या जस्ता अनेक कार्य उनीहरूले गर्दै आइरहेका हुन्छन् । जनताले त्यही देखेको–भोगेको हुन्छ । त्यसैले त्यस्ता मान्छे भएको पार्टीप्रति जनसमर्थन र आकर्षण बढ्दैन । त्योभन्दा एउटा कार्यकर्ता फालामे अनुशासन भएको मार्क्सवादलाई गहिरोसँग बुझ्ने भयो भने त्यसले हजारौँलाई सङ्गठित गर्न सक्दछ । अहिलेको संसदीय व्यवस्थाले कुनै पनि पार्टी भनेपछि जनताले घृणा गर्ने अवस्था बनेको छ । जनताको जनताले जुनसुकै पार्टी भए पनि सबैलाई एउटै डालोमा हालेको छ । पार्टीहरू फरक त छन् तर त्यसलाई व्यक्त गर्ने व्यवहार चाहियो नि ! त्यो नभएर जनतालाई बुझाउन सकिएको छैन । समय लाग्न सक्छ तर सही नेता र कार्यकर्ता भए भने राम्रो कम्युनिस्ट पार्टी बन्न सक्दछ । आन्दोलन उठ्न सक्छ ।

    नेकपा बहुमत र कञ्चनलाई कसरी हेर्नुहुन्छ ?

    अहिले ९ औँ महाधिवेशन गरेर नेकपा (बहुमत) ले जुन तहको सङ्गठन र नेतृत्व निर्माण गरेको छ, त्यसले मलाई धेरै उत्साहित बनाएको छ । यसमा म आफूलाई गौरवान्वित भएको ठान्छु । यति ठूलो सङ्घर्ष र आन्दोलनबाट आउँदा पनि पार्टीलाई पुनः संसदीय भासमा नै लैजाने प्रचण्ड–विप्लवहरूको विचलनका बाबजुत पनि अहिलेको नेतृत्व टिमले पार्टीलाई पुनर्गठित र सङ्गठित गर्दै महाधिवेशन शानदार रूपमा सफल पारेर अगाडि बढ्ने बाटो तय गरेको छ; यो धेरै ठूलो महŒवको विषय हो । कम्युनिस्ट पार्टीको झन्डालाई फेरि उचाइमा पुर्‍याउने जुन उत्साह र उमङ्ग देखियो, त्यो धेरै राम्रो विषय हो । कञ्चनमा इमानदारिता छ । अरू सबै उहाँँको जान्ने–बुझ्ने कुरा भएन । त्यो धेरै व्यक्तिगत विषय हामीलाई मतलब पनि भएन, तर इमानदारिता भयो भने ज्ञान भन्ने कुरो मिहिनेत गरेपछि प्राप्त हुने कुरा हो । बेइमान भयो भने जतिसुकै ज्ञान भए पनि त्यो काम लाग्दैन । अहिलेसम्मको इतिहासमा नेतृत्व बेइमान छ । नेतृत्व इमानदार भएन । उहाँँको इतिहास हेर्दा पनि विगतले पनि उहाँँ इमानदार र मिहिनेती मान्छे हो भन्ने देखिन्छ । उहाँँ चिन्तन पनि गर्नुहुन्छ, नयाँ खोज र नयाँ–नयाँ अनुसन्धान पनि गर्ने गर्नुहुन्छ । त्यसो भएको हुनाले उहाँँले राम्रो गर्नुहोला भन्ने विश्वास छ । किन असफल हुन्छन् क्रान्ति, वर्गसङ्घर्ष के हो ? कहाँ यसको खोट छ भन्ने खोज–अनुसन्धान गर्ने उहाँँको राम्रो बानी छ ।

    बहुमतले स्वाधीन संयुक्त सरकारको कार्यनीति अगाडि सारेको छ, त्यो भनेको के हो, यसले पार्टीलाई कता लैजान्छ ?
    स्वाधीन संयुक्त सरकारको कार्यनीतिका बारेमा म के भन्छु भने कञ्चनले यही संसदीय व्यवस्थामा नै यो सरकारको कार्यनीति लागू हुन्छ भन्नुभएको भए यो सिधै दक्षिणपन्थी बाटोमा जान्थ्यो, तर यो स्वाधीन संयुक्त सरकारचाहिँ संसदीय व्यवस्थाको अन्त्यपछि बन्ने सरकार भएको हुनाले यो ट्याक्टिकल कुरा हो । त्यसैले यसले आन्दोलनलाई उठाउँछ । अहिलेको संसदीय व्यवस्थाको अन्त्य गर्न यसले मद्दत गर्छ । यो व्यवस्थाको अन्त्य चुनावबाट वा सम्झौताबाट नभई सङ्घर्षबाट मात्र हुने भएकाले भोलि बन्ने सरकारमा यो आन्दोलनमा सहभागी सबै पक्षको सहभागितामा रहने हुँदा यो सरकारको कार्यनीतिमा आन्दोलन जोडिएको छ ।

    बैद्य नेतृत्वको पार्टीसँग बहुमतले एकता गर्नु ठीक थियो कि बेठीक, तपार्ईंंलाई के लाग्छ ?

    बैद्यजीको पार्टीसँग एकता भयो, एकतापछि म पनि सल्लाहकार नै थिएँ । हामी एकताका विरोधी हैनौँ । एकता हुनुपर्छ तर बैद्य मोहनविक्रमभन्दा केही फरक छैनन् भन्ने कुरा मेरो थियो, किनभने मैले बैद्यजीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छु । म त भोगेर आएको भएँ । बैद्यको नेतृत्वमा नेपालमा केही पनि हुन्न भन्ने कुरामा म विश्वस्त थिएँ । त्यो एकता धेरै लामो समय जान्न भन्ने मेरो तर्क थियो । अहिलेको वर्गसङ्घर्षलाई बुझ्ने कुरामा बैद्यहरूका अधिकांश नेताहरूको बुझाइ नै गलत छ । अहिले एकता हुँदैन कि भन्ने मेरो तर यता बहुमतका सुदर्शनलगायतका केही साथीहरू हतास थिए । एक्लै सकिँदैन, यता हामी पनि केही गर्न सक्दैनौँ भन्ने कुरा गरेर कञ्चनलाई घेराबन्दीमा राखेका थिए । कञ्चनको कुराचाहिँ एकता गर्नुपर्छ, एकता गरेर बैद्यलाई पनि क्रान्तिकारी आन्दोलनमा जान बाध्य पार्नुपर्छ, भए ठीकै छ, भएन भने हामी फर्किनुपर्छ भन्ने नै थियो । त्यस हिसाबले एकता त भयो तर टिक्न सकेन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ