• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संसदमा प्रचण्डले ओली, देउवा, पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकबारे के भने ?

    333
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा बिहीबार लामो सम्बोधन गरे । त्यसक्रममा उनले सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे ।

    ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । सामान्यतया विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने सरकारी निवास बालुवाटारमै रहेको उच्च स्रोतले बतायो ।

    सम्बोधनका क्रममा प्रचण्डले मुख्यगरी तीन वटा सन्देश प्रवाह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनले आक्रामक रवैयालाई कायम राखेका छन् । यद्यपि सत्ता साझेदार नेपाली कांग्रेसप्रति उनले सद्भाव नै प्रकट गरे भने प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतबाट उनले संसदमा रहेका साना दललाई भने सान्त्वना दिए ।

    प्रचण्डले बैठकमा सामाजिक अभियन्ता भनिएकी आशिका तामाङलाई हतकडी लगाएर काठमाडौं र भक्तपुर घुमाइएको प्रसंग पनि निकालेका छन् । त्यसैगरी पाथीभरामा केबलकार निर्माणका लागि गोली हानेर स्थानीयलाई दमन गरिएको पनि उनले आरोप लगाएका छन् ।

    ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ?’, उनले भने, ‘आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ ।’

    उनले यो सरकारले अभिव्यक्ति स्वतन्त्र खोस्न खोजेको पनि बताए । ‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ’, उनले आशिका प्रकरणमा भने भने, ‘कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

    पाथीभरा केबलकारको विवादमा जनतालाई गोली हानिएकोमा पनि उनले आपत्ति जनाए । पाथीभरा र मुक्कुम्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको भनेर प्रश्न गरे ।

    टिसर्टमा कसैको फोटो देखिँदा नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई थुनेर मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोँच भएको उनले बताए ।

    ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ? संविधानभन्दा माथि हो ? तपाईंहरू मालिक र नागरिक दास हो ?’, उनले भने ।

    प्रचण्डले संसद चार महिनासम्म थुनेर अध्यादेशहरु ल्याइएको भन्दै तिनको औचित्यमाथि प्रश्न उठाए । संविधानतः ६ महिनासम्म संसदको अधिवेशन नबोलाइन सक्छ । अनि अध्यादेशहरु ल्याउन पाउने संवैधानिक अभ्यास छँदै छ ।

    तर प्रचण्डले चोरबाटोबाट अध्यादेश आएको दाबी गर्दै यसमा सरकारको नियत सही नभएको आरोप लगाए । उनले यसमा कांग्रेसको अडानसमेत जान्न चाहे ।

    ‘अरु बेला संसदमा दुई तिहाइको घमण्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो,’ उनले भने, ‘यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।

    ‘अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिं अध्यादेशहरुबाट चलाउने ?’

    प्रचण्डले संसदमा बोल्ने क्रममा सामाजिक सन्जाल नियमन सम्बन्धी विधेयकलाई प्रधानमन्त्री ओलीको पहिलेदेखिकै नियत भनी आरोप लगाए, बरु प्रश्न कांग्रेसतर्फ मोडे ।

    ‘ओलीको नियत त मलाई थाहा छ, तर तपाईंहरुले कसरी समर्थन गर्नुभयो ?’ प्रचण्डले संसदको रोष्ट्रमबाट देउवालाई हेर्दै सोधे, ‘हिजो त तपाईंहरु विपक्षमा उभिनुभएको थियो, आज कता उभिनुभएको हो ?’

    उनले कांग्रेसलाई पनि प्रधानमन्त्रीको जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो भनी प्रश्न उठाए । यद्यपि आफू प्रधानमन्त्री छँदा नै उक्त विधेयकको तयारी भएको तथ्य भने उनले लुकाएनन् । अनि टिकटकमाथि प्रचण्ड प्रधानमन्त्री छँदा नै लागेको प्रतिबन्ध लगायतका विषयतर्फ नजर लगाएनन् ।

    विदितै कुरा हो, तीनपल्ट प्रधानमन्त्री बनेका प्रचण्डले आफ्ना पछिल्ला दुई प्रधानमन्त्रीकाल कांग्रेसको समर्थनमा चलाएका थिए । उनको त्यस सत्ता–रणनीतिमा एमाले पनि उपयोग हुन पुगेको थियो । संयोगवश २०७९ को चुनावपूर्व प्रचण्ड र देउवाले पालैपालो आपसी गठबन्धन सरकार चलाएका थिए । त्यसै अभ्याससँग कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्यत्र भोट हाल्न नसक्ने भन्दै गरेको टिप्पणीमा देउवा इतरका नेताहरुले समर्थन जनाउने गरेका थिए ।

    अहिले प्रचण्डले त्यसलाई विगतमा माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरुको ‘गठबन्धनविरोधी गनगन’ कहाँ गयो भनी खोजी गरेका छन् । उनले स्थानीय उपचुनावमा समेत सत्तागठबन्धनले चुनावी गठबन्धन गरेको भन्दै कांग्रेसको पुरानो अडान निरर्थक रहेको तर्क गरेका छन् ।

    प्रचण्डले ऊर्जामन्त्री दीपक खड्कालाई जोडेर केही जलविद्युत परियोजनामा गडबडी भइरहेको औंल्याए । कांग्रेसका तर्फबाट ऊर्जामन्त्री बने पनि खड्काले गरेका कार्यसम्पादनमा उनलाई जोडेनन्, बरु ‘मुहान’ अर्थात् प्रधानमन्त्री ओलीमै समस्या रहेको दाबी गरे ।

    उनले विद्युत् प्राधिकरणमा उर्जामन्त्रीले अफिस खडा गरेको, विद्युत नियमन आयोगको दुरुपयोग गरिएको आरोप लगाए । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुर्व्यवहार गरिएको दाबी समेत गरे । पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न बनाइएको सरकारी समितिलाई ‘अवैध’ भएको तर्क गरे । ‘तर यी सबैमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरु, मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ?,’ उनले उत्तर मिसिएको प्रश्न गरे ।

    प्रचण्डले आफ्नो सरकार ढालेर गत असारमा दुई ठूला दल मिलेको प्रसंगतर्फ चिहाए । त्यसबेला संविधान संशोधन गर्ने भनिए पनि यसबीचमा त्यो ०८७ सालमा हुने प्रधानमन्त्रीबाट वक्तव्य आउँदा सत्ता साझेदार कांग्रेसको धारणा जान्न चाहे ।

    ‘कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हुन त तपाईंहरुले आफ्नो भनाइ प्रष्ट नपार्ने हो भने मैले बोल्नुको अर्थ हुँदैन’ प्रचण्डले कांग्रेसलाई सोधे, ‘हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्ट्रमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ