• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    जफत गरेको रूसी सम्पत्तिबाट अमेरिकाले युक्रेनलाई २० अर्ब डलर ऋण दिने

    23
    SHARES



    काठमाडौँ । जफत गरेको रूसको सम्पत्तिबाट युक्रेनलाई दिने भनेको ५० अर्ब डलरमध्ये २० अर्ब डलर ऋण अमेरिकाले टुंगो लगाएको छ।त्यसबाट युक्रेनलाई सन् २०२४ अन्त्यसम्ममा सैन्य र आर्थिक सहायता उपलब्ध गराउने घोषणा अमेरिकाले गरेको हो।

    रोयटर्सका अनुसार अमेरिकी अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) जेनेट यलेन र युक्रेनी अर्थमन्त्री सर्है मार्चेन्कोले २० अर्ब डलरको अमेरिकी ऋण प्रतिबद्धतामा बुधबार हस्ताक्षर गरेका छन्।

    रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपियन युनियनका राष्ट्रहरूले रूसको केन्द्रीय बैंकले पश्चिमा देशहरूमा राखेको करिब ३२५ अर्ब डलर सम्पत्ति रोकेर राखेका छन्। पश्चिमा राष्ट्रहरूको समूह जी७ को गत जुनमा इटालीमा भएको शिखर सम्मेलनमा रूसको त्यही पैसा प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिने सहमति भएको थियो। त्यसमध्ये अमेरिकाले २० अर्ब डलरको ऋण दिने प्रतिबद्धता व्यक्त गरेको हो।

    त्यस्तै युरोपियन युनियनले २० अर्ब डलरको ऋण दिने छ। जी७ समूहका सदस्य राष्ट्र बेलायत, जापान र क्यानडाले पनि मिलेर १० अर्ब डलरको ऋण दिनेछन्।

    कतिपय राष्ट्रले त रोकिएको सबै रूसी सम्पत्ति तुरून्तै युक्रेनलाई हस्तान्तरण गर्नुपर्ने भनेका थिए। तर अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपेली केन्द्रीय बैंकले यस्तो गर्दा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमाथि संसारको विश्वास गुम्न सक्ने भन्दै सहायता मात्र दिन सहमति भएको थियो।

    युक्रेन युद्धमा दिइएको आर्थिक सहायता घट्दै गएका बेला, गत वर्ष अन्त्यतिर अमेरिकाले आफ्ना गठबन्धन राष्ट्रहरूसँग रूसको सम्पत्ति जफत गर्नेबारे छलफल सुरू गरेको थियो।

    राष्ट्रपति जो बाइडेन २० अर्ब डलर ऋणमध्ये १० अर्ब डलर सैन्य सहायताका लागि दिन चाहन्छन्। तर सैन्य सहायता दिन अमेरिकी संसदको अनुमति चाहिन्छ। गैरसैन्य ऋण भने वर्ल्ड बैंक ट्रस्ट फन्ड मार्फत दिइनेछ। यो ऋण रोकिएर राखिएको रूसी सम्पत्तिबाट हुने आम्दानीबाटै तिरिने छ। युक्रेनले तिर्नपर्दैन।

    युक्रेनले अहिलेसम्म ३०० सय अर्ब डलरभन्दा बढी सैन्य र आर्थिक सहायता पाइसकेको छ। अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशले आर्थिक सहायता गरेका छन्। तर युक्रेनलाई युद्ध लड्न र युद्धपश्चात पुनर्निर्माणका लागि धेरै रकम चाहिन्छ। त्यसैले रूसलाई सजाय पनि हुने, युक्रेनलाई मद्दत पनि हुने भएकाले यो ऋण दिन लागिएको हो।

    रूसले भने आफ्नो सम्पत्तिबाट भएको आम्दानी खोस्ने पश्चिमा राष्ट्रको निर्णयलाई आपराधिक भनेर भर्त्सना गरेको थियो।

    यसरी सम्पत्ति जफत गर्नु अमेरिकी र अन्तर्राष्ट्रिय कानुन प्रतिकूल हुने र यसले अन्य देशले पनि अमेरिकामा सम्पत्ति नराख्ने खतरा बढ्ने त्यहाँका अधिकारीहरूले पनि बताउँदै आएका थिए। अमेरिकाले कुनै पनि बेला सम्पत्ति जफत गर्न सक्छ भन्ने भयले अन्य देशका नागरिकले अमेरिकामा सम्पत्ति नै नराख्ने सम्भावना भएकाले पनि यस्तो गर्न नहुने सुझाव उनीहरूले दिएका थिए।

    गर्नै परे, अमेरिकी संसद वा कुनै अन्तर्राष्ट्रिय संस्थामार्फत कानुन बनाएर मात्र गर्नुपर्ने उनीहरूको जिकिर थियो। पश्चिमा देशमा राखिएको रूसी सम्पत्तिमध्ये लगभग ५ अर्ब डलर मात्रै अमेरिकी संस्थाहरूको हातमा छ। तर अमेरिका र युरोपमा राखिएको रूसी सम्पत्तिको ठूलो हिस्सा अमेरिकी डलरमै छ। अमेरिकाले आफ्नो मुद्रामा लेनदेन गरिने सम्पत्तिको निगरानी र रोक्का गर्न सक्छ।

    रूसमा रहेका अमेरिका लगायतका पश्चिमा कम्पनीको सम्पत्ति कौडीको भाउमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन निकटका व्यक्तिले जबर्जस्ती किनेको वा जफत गरेका थिए। यस कारण पनि पश्चिमा देशहरूले रूसको सम्पत्ति प्रयोग गरी युक्रेनलाई सहयोग गर्ने कदम चालेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया