काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।
प्रचार विभागका पूर्वसदस्य धनराज वास्तविकले बिहीबारको बैठकमा सामान्य छलफल मात्र भएको बताए । उनले निरन्तर बैठक बस्ने गरी नेताहरू उठेको जानकारी दिए ।
बिहीबारको बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको समीक्षा र पार्टीभित्रका कमीकमजोरीका बारेमा छलफल गर्नुपर्ने भन्दै लिखित प्रस्ताव राखेको एक नेताले जानकारी दिए ।
अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन् ।
असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुखका साथै जनसङ्गठन इन्चार्ज तोक्नुपर्ने भए पनि सहमति नजुट्दा ढिलाइ भएको छ ।
प्रतिक्रिया