काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएपछि लामिछानेसँग कास्की प्रहरीले काठमाडौँमा बयान लिएको थियो ।
‘उक्त रकम त्यहाँ गएकोबारे थाहा नभएको र राजीनामा नै दिइसकेको हुनाले त्यसको जिम्मेवारी आफूसँग नरहेको उहाँले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँले कम्पनीको कुनै पनि आर्थिक कारोबारमा आफू संलग्न नभएको जिकिर गरिरहनुभएको छ । तर कम्पनीको सञ्चालक र प्रवन्ध निर्देशक भएको कुराचाहिँ अस्वीकार गर्नुभएको छैन ।’
अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीको टोलीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । भदौ १० गते उनीसँग बयान लिइएको कास्की प्रहरीले जनाएको छ । ‘कम्पनीमा छापा हान्न जाँदा प्रारम्भिक के रहेछ भनेर बुझ्नका लागि बयान लिइएको हो,’ प्रहरी स्रोत भन्छ, ‘बयानका क्रममा संसदीय समितिमा जे भन्नुभएको थियो, त्यही दोहोरिएको छ ।’
अनुसन्धानका लागि कास्कीबाट डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा टोली काठमाडौँ गएको थियो । लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश र पूर्व डीआइजी छविलाल जोशीसँग ठाडो बयान लिइएको हो ।
प्रतिक्रिया