काठमाडौँ । गएरातिदेखि देशका विभिन्न भागमा भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार रुपन्देहीको कोइली नदी र काठमाडौँको बागमतीले नदी किनार नाघ्ने गरी बाढी बढेको छ ।
विभागले यी दुई नदीले खतराको तहभन्दा पनि बढी तह पार गरेको जनाएको छ । कोइली नदीमा बाढीले ५ दशमलव ६५ मिटर पार गरेको छ भने बागमतीले ४ मिटर तह पार गरेको छ । यी नदी आसपासका बस्ती, सडक तथा खेतबारीमा सतर्कता अपनाउन विभागले भनेको छ ।
विभागका हाइड्रो इन्जिनियर सुमित अधिकारीले काठमाडौँ उपत्यकामा रहेका बल्खु, धोवीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते खोलामा बाढीको जल सतह खतराको तहमा रहेको जानकारी दिएका छन् ।
यस्तै गण्डकी प्रदेशको लमजुङ लगायतका जिल्लाहरूमा साना तथा सहायक खोलाहरूमा बाढीको मात्रा बढिरहेको, लुम्बिनी प्रदेशका जिल्लाहरूमा पनि भारी वर्षा भएकोले ठुला तथा साना नदीहरूमा बाढी बढिरहेकोले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
भोलीसम्म वर्षा जारी रहने सम्भावना रहेकोले यी क्षेत्रहरूमा सतर्कता अपनाउन अधिकारीले आग्रह गरे । यस्तै नारायणी नदी, मेलम्ची नदीमा पनि बाढीको अवस्था खतराको तहमा पुगेको छ ।
प्रतिक्रिया