काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिनुपर्ने बताएका छन् । संसद्लाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको उनले बताए ।
महामन्त्री थापाले प्रतिनिधि सभाबैठकको विशेष समयमा बोल्दै संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा गएको रकम सम्बन्धमा सहकारी र मिडियाको फाइल पल्टाउने बताए ।
‘सूर्य दर्शनलगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ । त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो । त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ,’ थापाले भन्नुभयो, ‘गोरखा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोरखा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस्, उसलाई पनि बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ । सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ-कानून बमोजिम कारबाहीको सिफारिस गर्छ ।’
गृहमन्त्री लामिछाने समेत संलग्न रहेको भनिएको सहकारी ठगीबारे छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भइसकेको छ । समितिले सदनलाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको थापाले बताए ।
प्रतिक्रिया