• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ब्राजिलका पूर्वराष्ट्रपतिको शरीरमा निगरानी उपकरण जडान गर्न अदालतको आदेश

    230
    SHARES



    काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ ।

    इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ, कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा मारेपछि आएको हो ।

    यो कारबाही सर्वोच्च अदालतको निर्देशनमा गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, सामाजिक सञ्जाल प्रयोग गर्न र अनुसन्धानको दायरामा रहेका केही अन्य व्यक्तिहरूसँग सम्पर्क गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

    यी व्यक्तिहरूमा उनको छोरा एडुआर्डो बोल्सोनारो पनि समावेश छन् । एडुआर्डो हाल अमेरिकामा बसिरहेका छन् र उनको ट्रम्पसँगनजिकको सम्बन्ध रहेको समाचार संस्था एपीले जनाएको छ । प्रहरीको विज्ञप्तिमा ब्रासिलियामा दुई ठाउँमा खानतलासी गरिएको र केही सामानहरू जफत गरिएको जानकारी दिएको उल्लेख छ ।

    प्रहरीले गिरफ्तारीबाहेक अन्य धेरै कदमहरू चाले पनि विज्ञप्तिमा कसैको नाम उल्लेख गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले ब्रासिलियामा बोल्सोनारोको निवासबाहिर प्रहरीका सवारीसाधनहरू देखाइएको छ ।

    बोल्सोनारोमाथि सन् २०२२ को निर्वाचनको नतिजा उल्टाउने (सरकार ढाल्ने) षड्यन्त्र रचेको आरोप छ । यस विषयमा अहिले उनीमाथि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । सन् २०२२ को निर्वाचनमा बोल्सोनारो हारेका थिए । उनको ठाउँमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएर राष्ट्रपति बनेका थिए । बोल्सोनारोमाथि निर्वाचन हारेपछि प्रजातन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोप छ ।

    तल्लो सदनमा बोल्सोनारोको पार्टीका नेता सोस्तेनेस सिल्भा काभाल्कान्तेले एपीलाई प्रहरीले पार्टी मुख्यालयमा पनि छापा मारेको बताएका छन् । उनले यो कार्य बोल्सोनारोको विरुद्धमा मात्र नभएर समग्र दक्षिणपन्थी नेताहरूको विपक्षमा भएको टिप्पणी गरेका छन् । उनले यसलाई राष्ट्रवादी र दक्षिणपन्थीहरूलाई दबाउने नयाँ षड्यन्त्रको रूप भएको टिप्पणी गरेका छन् ।

    ब्राजिलका मुख्य सरकारी वकिल पाउलो गोनेतले सर्वोच्च अदालतलाई राष्ट्रपति हुँदा बोल्सोनारोले निर्वाचन हारेपछि पनि जानाजानी देशको प्रजातन्त्रलाई कमजोर बनाउने र विद्रोह भड्काउने प्रयास गरेको स्पष्ट प्रमाणहरू रहेको बताएका छन् । बोल्सोनारोले भने यो मुद्दालाई झूठो आरोप भएको बताएका छन् ।

    गत हप्ता ट्रम्पले बोल्सोनारोको मुद्दासँग जोडेर ब्राजिलमाथि ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ